केशु विरही /  राजनीतिलाई फोहोरी खेलका रूपमा लिने थुप्रै छन् । यही कारणले गर्दा युवा पुस्तामा राजनीतिप्रतिको आकर्षण घट्दै पनि गएको छ । राजनीतिलाई कमाइखाने खाने भाँडोको रूपमा बुझ्ने गरिएकोले राजनीति मार्फत जनताको सेवा गर्ने र राम्रो काम गर्नेहरु पनि उपहासको पात्र बन्ने गरेका छन् ।

तर एक अपबाद हुन् बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुली ‘तारा’  । नगरपालिकाको उपमेयर पदमा निर्वाचित भएपछि अहिले ताराको दिनचर्या नै बदलिएको छ । उनी बिहानै उठ्छिन्, घरायसी काममा जुट्छिन् । घरको काम निप्ट्याएर उनी नगरपालिका पुग्छिन् । दिनभरि जनताका काम गरेर घर फर्किन्छिन् ।

प्रायः जनताका काममै व्यस्त रहन्छिन् उनी । जनताको कामबाट केही समय निकालेर करेसाबारीमा निस्किन्छिन्  र, केहीबेर करेसाबरीमा रमाउँछिन् । जहाँ उनले कार्यालय र जनताको कामबाट केही समय उभारेर अर्गानिक च्याउखेती गरेकी छन् ।

उपमेयर भएको केही समयपछि ताराले नजिकैको उर्लाबारी बजारबाट च्याउका बीउ ल्याइन् । र, च्याउखेती सुरु गरिन् । नभन्दै उनले रोपेको च्याउको बीउबाट राम्रो उत्पादन भयो । ५ किलो बराबरको बीउबाट झन्डै ५० किलोभन्दा वढी च्याउ उत्पादन भयो । उनले गरेको च्याउ खेतीले व्यवसायिकता नलिए पनि मेहनत गर्दा असम्भव कुरा केही पनि रहेनछ भन्ने कुराको उनले उदाहरण पेश गरेकी छन् ।

त्यसो त उनले आफूले मात्र यो खेती गरिनन्, आफ्ना छिमेकीलाई पनि च्याउखेती गर्न सिकाइन् र अहिले पनि सिकाइरहेकी छन् ।

उनी भन्छिन्, ‘जनप्रतिनिधि भएपछि अधिकांश समय जनताकै काममा बित्ने गर्छ । यसो समय निकालेर च्याउखेती गरेकी हुँ । अर्गानिक सब्जी आफूलाई खान पनि हुने र आम्दानी पनि राम्रै हुँदोरहेछ ।’

नेपाल कृषिप्रधान देश भएकाले पनि आफूले कृषिजन्य उत्पादनका कामलाई प्राथमिकता दिएको र भविष्यमा पनि प्राथमिकता दिने तारा बताउँछिन् । उनी व्यक्तिगत रूपमा मात्र नभएर नगरपालिकाबाट पनि त्यस्ता कार्यक्रमलाई प्राथमिकता दिने सुरमा छिन् ।

स्थानीय निकायमा थपिएको उपमेयरको जिम्मेवारी, पार्टी तथा परिवारको जिम्मेवारी यी सबै कुरालाई संयोजन गर्दै आएकी उनी एक कुशल शिक्षिका पनि हुन् ।

स्नाताकोत्तरसम्मको शिक्षा हासिल गरेकी ताराले लामो समयसम्म शिक्षण गरेकी छन् । उपमेयरमा निर्वाचित हुँदाको समयसम्म पनि उनी शिक्षण पेसामै थिइन् । उपमेयरमा निर्वाचित भएपछि भने उनले शिक्षण पेसा छाडिन् ।

भोजपुरमा जन्म भई हाल बेलबारी नगरपालिका–११, मोरङमा स्थायी बसोबास भएकी ताराको साहित्यमा उत्तिकै रुचि रहेको छ । कथा, कविता तथा गीतमा बढी रुचि राख्ने उनका ‘आफ्नै रङमा दङ’ नामक बाल चित्रकथा संग्रह प्रकाशित छ भने उनका थुप्रै फुटकर रचना पनि प्रकाशित छन् ।

1,312 total views, 2 views today

तपाईको प्रतिक्रिया