केशु विरही

स्थानीय तह लामो समयदेखि कर्मचारीको हातबाट संचालन  भएपनि कर्मचारीको हातबाट चलेका स्थानीय तहको अपेक्षाकृत विकास हुन सकेनन्  । एक कर्मचारी, त्यसमा पनि अर्कै ठाउँसँग भावनात्मक सम्बन्धले अनुबन्धित भएको व्यक्तिले स्थानीय स्तरका आवश्यकताको पूर्ण रुपमा निक्र्योल गर्न सक्दैनन् । जति स्थानीय जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन्छन् , त्यति कर्मचारी हुन सक्दैनन् भन्ने विश्वव्यापी मान्यता नै छ ।

नेपालको कर्मचारीतन्त्र स्वार्थमा लिप्त छ । यो विगत लामो समयदेखि भ्रष्टाचारको जालोले निस्कनै नसक्नेगरी जकडिएको छ । त्यसैले तिनले अधिकांश समय आफ्नै स्वार्थमा प्रयोग गर्ने गरेका छन् । कर्मचारीहरु आफ्ना नातागोतालाई कसरी राम्रो ठाउँमा पुर्याउने, सुविधा दिने भन्ने जस्ता ध्याउन्नमै व्यस्त हुन्छन्  । सरुवा र बढुवामै अधिकांश समय खर्चने, दशदेखि चार बजेसम्मको समयलाई पनि जनताको काममा राम्रोसँग प्रयोग गर्न नसक्ने र अधिकांश समय माथिल्लो तहका हाकिमकै चाकरी र चाप्लुसीमै व्यतित गर्ने कर्मचारीतन्त्रले जनचाहना अनुसार काम गर्न नसक्नु अस्वभाविक पनि होइन । त्यसैले कर्मचारीतन्त्रमा आमूल परिवर्तन गर्नुपर्ने  खाँचो छ

राज्यका सबै कर्मचारीहरू भ्रष्ट मानिसकताका मात्र छन् भन्ने होइन । यहाँ राम्रा तथा इमान्दार पनि छन् । तर त्यस्ता कर्मचारीहरूको संख्या न्यून छ । इमान्दारलाई इमान्दार भएर काम गर्ने वातावरण नै छैन । अर्थात उनीहरूलाई त्यस्तो अवसर नै प्रदान गरिदैन भन्दा पनि हुन्छ  । त्यस्ता ईमानदार कर्मचारीहरू कि त आफ्नै सहयोगीको निसानामा हुन्छन् कि त स्थानीय राजनैतिक पार्टी र तिनका कार्यकर्ताको ।

कर्मचारीतन्रमा सुधार गर्ने चुनौति अव वन्ने सरकार र स्थानीय जनप्रतिनिधिको काँधमा  छ ।  तर स्थानीय निर्वाचन सम्पन्न भएको यति लामो समय भैसक्दा पनि अधिकांश स्थानीय तहको ध्यान राज्यका नयाँ संरचनाको नामाकरण र प्रदेश केन्द्र कहाँ राख्ने भन्नेमै केन्द्रित  छ । र यो विवाद कहिलेसम्म रहिरहने हो ठेेेेगान छैन  । हरेक चिजलाई राजनैतिक आँखाले हेर्ने वानी परेका हाम्रा नेताहरूले आफ्नो वानीलाई सुधार्न सकेका छैनन् । उनीहरुले राजनैतिक मुद्धा सकियो अवको मुद्घा विकास र समृद्घिको हुनुपर्छ भन्दै ठूल्ठूला नारा घन्काइरहे पनि बिकास र समृद्धिका मुद्धालाई आत्मसात गर्न सकिरहेका छैनन् । नेताहरूले कुनै  मुद्धा सल्टियो भने अर्को चुनावमा जनतासामु के कुरा लिएर जानु , कमाईखाने भाँडो नै समाप्त हुने हो कि भने झैं गरी  काम गर्ने गरेका छन् ।

बि. सं. २०४६ सालपछि देशमा प्रजातन्त्र आएको भनिए पनि पटक पटक सरकार बनाउने र भत्काउने काम हुँदै आएका छन्  । सदनको अधिकांश समय सरकार बनाउने र भत्काउने काममै बित्ने गरेको छ ।  संसद सरकार बनाउने र मन्त्रीहरुलाई जागिर खुवाउने एक निकायको रुपमा परिणत हुदै आएको छ  । समयमा बजेट आउन नसक्ने र आएका बजेट पनि कार्यान्नयन नहुने अबस्था छ  । बन्दै भत्किने सरकारका कारणले गर्दा दुरगामी महत्व राख्ने योजनाहरु आउनै सकेका छैनन् । आएका केही योजना पनि राजनैतिक भागबण्डाका कारणले अगाडि बढ्नै सकेका छैनन्  । जसले गर्दा विकास र समृद्घिका हिसावले देश थला परेको छ ।

सरकार बनाउने र भत्काउने खेलबाट जनता आजित भएका छन् । जनता स्थाई सरकार चाहन्छन् , विकास र समृद्घि चाहन्छन् भन्ने कुरा यसपटकको निर्वाचनले प्रष्टै देखाइदिएको छ । समृद्घिको नाराले गर्दा नै बाम गठबन्धनले संघीय संसदमा मात्र नभएर प्रदेशमा समेत स्पष्ट बहूमत ल्याउन सफल भएको छ । जनताले  बामगठवन्धनलाई स्थाई सरकार बनाउन मत दिएका छन् । उनीहरू मिलेर स्थाई सरकार चलाउन् भन्ने चाहेका छन् न कि फुटेर ।

अव बन्ने सरकारबाट जनताले धेरै कुरा चाहेका छैनन् । उनीहरूले आफ्नो घरअघिको बाटो–घाटो बनेको हेर्न चाहेका छन् । खानेपानीको धाराबाट सधैँ पानी आओस् भन्ने चाहेका छन् । गाउँलाई अन्धकारमुक्त भएको हेर्न चाहेका छन् । उनीहरुले सुरक्षित रुपमा हिँडडुल गर्न पाउने आशा राखेका छन् ।  उनीहरूले बिहान पढ्ने गएका आफ्ना नानीहरू बेलुका सकुसल घर फर्कने वातावरण बनोस् भन्ने चाहेका छन् । आफ्नो पेसालाई स्वतन्त्र तथा सम्मानित रुपमा संचालन गर्न पाइयोस् भन्ने चाहेका छन् ।

जनताका चाहना  ठूला छैनन्  र पुरा गर्न नसक्ने खालका पनि छैनन् । तर यही मौजुदा कर्मचारीतन्त्रकै शैलि र भरमा जनताले आसा गरेका कुरा पुरा हुन सक्ने अबस्था छैन  ।

सरकार निर्माण हुन नपाउँदै गठबन्धन तोड्ने र फेरि जनताको स्थाई सरकार र त्यसमार्फत हुने विकास र समृद्धिको चाहनामा कुठाराघात पार्ने प्रयास भैरहेका छन् । केही शक्तिहरु अदृश्य रुपमा मात्र नभएर घोषित रुपमै यो गठबन्धनलाई तोड्नेमा लागेका छन् । जनताले बाम गठवन्धनलाई स्थाई सरकारका लागि मात्र मत दिएका हुन् न कि फेरि टुटफुटका लागि । देशलाई पुनः अस्थिरतातर्फ लैजानका लागि जनताले मत दिएका होइनन् । त्यसैले  उनीहरुले त्यस्तो भूल कदापि गर्नु हुँदैन । यो गठवन्धनले जनभावना अनुसार काम गर्न सकेन भने जनताले उनीहरूलाई त्यसै छाड्ने छैनन् । उनीहरुले जनताले दिने सजायको भागिदार हुनुपर्छ । लोकतन्त्रमा आस्था राख्ने राजनैतिक पार्टीका लागि जनता र उनीहरुको आदेशभन्दा ठूलो कुरा अरु केही हुन सक्दैन । तसर्थ यो गटबन्धनले जनताको विकास र समृद्घिको चाहनालाई कुठाराघात हुन दिनु हुदैन ।   यसकालागि राजनैतिक पाटी र तिनका नेताहरुलाई खबरदार गर्नुपर्छ । भन्न डराउनु हुन्न ‘खबरदार नेताहरु जनताको विकास र समृद्घिको चाहनालाई कुठाराघात गरौला ।’ ([email protected])

1,846 total views, 2 views today

तपाईको प्रतिक्रिया