मोरङ । बाबु आमाले आफ्ना  सन्तानलाइ  जन्माउन र हुर्काउन कति सास्ती बेहोर्नुपर्छ भन्ने कुरा  व्यक्त गर्न पनि मुस्किल पर्छ  । तर दुःख गरेर हुर्काएका सन्तानले नै बुढेसकालमा हेरेनन् भने झन् के हालत होला  ?

त्यस्तै हालतका कारण उदयपुरको एक दम्पत्ति डांडापारीको  जंगलमा  बास बस्न बाध्य भएका छन् । उदयपुरको गाईघाटका ६५ बर्षीया भक्तमाया  पोख्रेल र चेत बहादुर पोख्रेल आफनै सन्तानहरु पराई भएपछि मोरङमा आएर जंगलको बास बस्न बाध्य भएका छन्   । उनीहरु मोरङको बेलबारी १० र ११ नम्बर वडाको बिचमा रहेको भाउन्ने खोलाको बगरमा रहेको झाडीमा  बिगत केही महिनादेखि बस्दै आइरहेका छन् ।
बुढाबुढी नै जंगलमा बस्दै आएकोमा आफ्ना श्रीमान चेतबहादुर केही सातादेखि कता बेपत्ता भए भन्ने कुरा भक्तमायालाइ अत्तोपत्तो छैन । त्यसैले उनी अचेल झन् विरक्तिएकी छिन्  । श्रीमान्न बेखबर भएकै बेला छोराछोरीहरुको बारे सोध्दा  भक्तमाया झन् भक्कानिएर सुक्सुकाउन थालिन्  । अनि भनिन् ‘ भो सन्तानको कुरा नगरौं, छन त ९ सन्तान हुन् तर  सबैले आफनै दुनो सोझयाउन थालेपछि बिरत्तिएर हामीले घर छोड्न बाध्य भयौँ । ” तर सन्तानप्रति सहानुभूति देखाउदै उनले भनिन् ‘सन्तानप्रति कुनै गुनासो छैन,  नियति नै खराब रहेछ ।’

शुरुमा बेलबारी ११ मा रहेको बुढाथोकी बन्धुको मन्दिरमा केही समय आश्रय लिएका उनीहरुलाई उदयपुर घर भई हाल मोरङको राधानगर घर भएका एक आफन्तले उनीहरुलाई बोलाएका थिए तर  चोरी गरेको र फोहरी भएको आरोप लगाउँदै मन्दिरबाट निकालेपछि खोलाको बगरमा रहेको  झाडीमा बस्न थालेको भक्तामायाले बताइन्  ।  भक्तमायाले आफ्ना  सन्तानले नहेरेपनि आफुलाई  बाँचुञ्जेल टाउको लुकाउने ओत पाउने अपेक्षा गरेकी छिन्   ।  

यसैबीच बेलबारी वडा नम्बर ११ को पहलमा उनीहरूलाई बाहुनीस्थित उनीहरूको जग्गामै बस्ने वातावरण मिलाइदिएको छ ।

4,537 total views, 0 views today

तपाईको प्रतिक्रिया