काठमाडौँ ।  प्रा.डा. गोविन्द केसीले  प्रधानन्यायाशीध गोपाल पराजुलीमाथि गम्भीर आरोप लगाउँदै पाँच बुँदे माग अघि सारेका छन् ।

‘गोपाल पराजुली राजीनामा दे’ लेखिएको प्ले कार्डसहित केसीले पत्रकार सम्मेलनमार्फत आफ्ना माग अघि सारेका हुन् ।

केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि प्रमाणपत्रमाथि  छानबिनको पुनः माग गरेका छन् । नागरिकताको प्रतिलिपि लिने क्रममा जन्ममिति समेत थपेर प्रचलित कानुनको उल्लंघन गरेको भन्दै उनले  पराजुलीले राजीनामा दिनुपर्ने बताएका छन्  ।

उनले आफ्ना मागहरु सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन्। पत्रकार सम्मेलनमा केसीले भने, ‘मैले गलत बोलेको भए कारबाही भोग्न मात्र होइन,  सधैंभरी जेल हाले पनि बस्न तयार छु ।’

केसीका मागहरु 

१. विचाराधीन मुद्दामा प्रभाव पार्ने गरी अनुचित चलखेल गरिरहेको र अहिले पनि विवादास्पद कार्यहरू गरिरहेको हुनाले प्रधानन्यायाधीश गोपाल पराजुलीले तत्काल राजीनामा दिनुपर्छ ।

 २. प्रधानन्यायाधीश गोपाल पराजुलीले दुषित रुपमा प्राप्त गरेका नागरिकताका प्रतिलिपिहरू, शैक्षिक प्रमाणपत्रहरू तथा तिनका आधारमा भएका नियुक्ति बदर गरी उहाँलाई कानुनी कारवाही गरियोस ।

 ३.  उहाँलाई विपक्षी बनाइ ल्याइएको अदालतको अवहेलना मुद्दा तत्काल दर्ता गरी कारवाही अघि बढाइयोस ।

 ४. उहाँले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयको उजुरीका सम्बन्धमा कल डिटेल तथा भ्वाइस रेकर्ड झिकाउने लगायतका कार्य गरी गम्भीरतापूर्वक अनुसन्धान गरियोस ।

 ५. उहाँका विवादस्पद नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्बन्धि अभिलेखहरूको सूचना तत्काल उपलब्ध गराइयोस ।

3,392 total views, 2 views today

तपाईको प्रतिक्रिया