सल्यानको एक विद्यालय एकजना शिक्षिकाको भरमा सञ्चालन भइरहेको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर १० मधानामा रहेको कालिका आधारभूत विद्यालय अहिले एक जना सहयोगी कार्यकर्ता (शिक्षिका) को भरमा सञ्चालन हुँदै आएको हो ।

कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा अहिले एक जना मात्रै शिक्षिका हुनुहुन्छ । ‘पहिले अरु पनि हुनुहुन्थ्यो, तर लामो समय भइसक्यो यहाँ कोही आउनु भएको छैन्, अहिले एक्लै विद्यालयका सबै विद्याथीलाई पढाउनु पर्ने बाध्यता भएको छ’ –शिक्षिका बिमला बस्नेत थापाले भन्नुभयो ।

सबै विद्याथीलाई एकै ठाउँमा राखेर पढाउँदा केही बुझ्दैनन्

उहाँले अहिले बालविकास, कक्षा १, २ र ३ का सबै विद्याथीहरुलाई एकै ठाउँमा राखेर पढाउने गर्नुभएको छ । सबै विद्यार्थीलाई सँगै राखेर पढाउँदा विद्यार्थीहरुलाई पढाएको बुझ्न समस्या हुने र आफूलाई पनि पढाउन निकै गाह्रो हुने गुनासो गर्नुभयो ।

‘विद्यालयमा अरु कोही पनि शिक्षक छैनन्, एक्लै विद्यालय चलाउनु परेको छ, अलग अलग राखेर बढाउन समस्या भयो, बालविकासकालाई पढाउँदा, कक्षा १, २ र ३ का विद्यार्थीहरु बाहिर निस्किएर खेल्न शुरु गर्छन्, कक्षा १, २ वा ३ कुनै एकमा जाँदा अरु कक्षाका सबै विद्याथी बाहिर निस्कन्छन्’ –उहाँले भन्नुभयो ।

‘मैले सबै विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउने गरेकी छु’ उहाँले थप्नुभयो –‘तर सँगै राखेर पढाउँदा विद्यार्थीहरुले पढाएको केही पनि बुझ्दैनन् ।’

उहाँले आफू कुनै कारणले विद्यालयमा उपस्थित हुन नसके विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको बताउन भयो ।

भवन भत्किदा पढाउन समस्या

शिक्षिका थापाका अनुसार विद्यालयमा २ वटा भवन भए पनि अहिले दुई कोठे भवन भत्किदा पठनपाठनमा समस्या भएको छ ।

‘२०७२ सालको भूकम्पले भवन चर्किएको थियो, पछि बर्षायाममा ढल्यो, अहिले भवनको अभाव छ’– थापाले भन्नु भयो ।

अहिले ३ कोठे अर्को भवनमा विद्यार्थीहरुले पढिरहेका छन् । ‘एउटा कोठामा अफिस छ, अर्कोमा सामानहरु छन्, बाँकी एउटामा सबै विद्यार्थीहरुलाई संगै बसाएर पढाउने गरेकी छु’– उहाँले भन्नु भयो ।

कालिका आधारभूत विद्यालयमा अहिले ३७ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।बालविकासमा १५ जना, कक्षा १ मा ७ जना, कक्षा २ मा १० जना र कक्षा ३ मा ५ जना विद्याथी रहेका शिक्षिका बस्नेतले बताउनुभयो ।

विद्यालयमा शिक्षक, शिक्षिका नहुँदा पढाई नहुने भन्दै केही विद्यार्थी विद्यालय आउन समेत छोडेका विद्यालयले जनाएको छ ।

कार्यालय सहयोगी बिहीन विद्यालय

वि.सं. २०६१ सालमा स्थापना भएको यस विद्यालयले अहिलेसम्म कार्यालय सहयोगी पाउन सकेको छैन ।

बेला बेलामा कार्यालय सहयोगीका विषयमा कुराकानी चलेपनि अहिलेसम्म विद्यालयले कार्यालय सहयोगी नपाएको विद्यालयले जनाएको छ ।

विद्यालयमा कार्यालय सहयोगी नहुँदा विद्यालय सरसफाई देखी पानी बोकेर समेत आफैंले खुवाउनु पर्ने बाध्यता रहेको शिक्षिका थापाले गुनासो गर्नुभयो ।

यसो भन्छ, जिल्ला शिक्षा कार्यालय 

जिल्ला शिक्षा अधिकारी देबीप्रसाद सुवेदीले विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आफूले पहल गर्ने बताउनुभएको छ ।

जिल्ला शिक्षा कार्यालयले गर्ने सबै कामको अधिकार स्थानीय तहमा गइसकेको भन्दै सुवेदीले यस विषयमा नगरपालिका प्रमुख संग बसेर छलफल गर्ने र सुधारका लागि प्रयास गर्ने बताउनुभयो । –  CIN , बुद्धि पुन, रेडियो राप्ती एफएम, सल्यान

1,542 total views, 0 views today

तपाईको प्रतिक्रिया