लोकनाथ रिजाल/दमक

आफ्नो गाँउमै प्रदेश स्तरिय आयुर्बेद चिकित्सालय बन्ने भएपछि झापाको कमल गाउपालिकाका स्थानीय हर्षित भएका छन् । शहरी बिकाश बिभागले चिकित्सालय बनाउने प्रस्ताव सहितको फाईल स्विकृत गरेसंगै यहा प्रदेश नम्बर एक कै ठुलो आर्युबेद चिकित्सालय बन्ने पक्का भएको हो । आर्युबेद सम्बन्धि अध्ययन गर्नकै लागि भनेर टाढा जानु पर्ने बाध्यता हटेको छ ।

फोटो : लोकनाथ रिजाल

       नेपाल सरकारको २१ करोडको लागतमा आर्युबेद चिकित्सालय बन्न लागेको गाउपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन् । सरकारले प्रत्येक प्रदेशमा आर्युबेद चिकित्सालय बनाउने योजना अनुरुप प्रदेश एकको लागि कमल गाउँपालिकामा बनाउन लागेको उनको भनाई छ । सबै प्रदेशमा आर्युबेद चिकित्सालय बनाउने सरकारको योजना रहे पनि हाल काठमाण्डौ र दाङमा मात्र आर्युबेद चिकित्सालय संचालनमा रहेका छन् । कमल गाउपालिका वडा नम्बर ७ मा चिकित्सालय निर्माणका लागि २ बिगाह १ कट्ठा जग्गा छुट्याएको र कम्पाउण्ड समेत लगाईसकिएको भवन निर्माण समितीका संयोजक मणी भण्डारीले जानकारी दिए ।

भवन निर्माणका लागि ईन्जिनियरले फिल्ड सर्भे समेत  गरिसकेको उनले बताए । दुई महिना अघि ईन्जिनियरको एक टोलीले ५ दिन सम्म बसेर भवन निर्माण हुन लागेको ठाउको माटो परिक्षण गरेको थियो । सो जग्गामा ७५ मिटर लम्बाई र ४५ मिटर चौडाईको अढाई तले अत्याधुनिक भवन निर्माण गरिने भण्डारीले जानकारी दिए । सुरुवातमा ५० शैया बेडको रुपमा चिकित्सालय संचालन हुनेछ ।

कमल गाउपालिका वडा नम्बर ७ मा बन्न लागेको प्रदेश स्तरिय अायुर्बेद   चिकित्सालयका लागि कम्पाउण्ड गरिएको क्षेत्र ।

पछि स्तर बृद्धि गरिदै लैजाने तयारी रहेको छ । भवनको डिजाईन देखी लिएर सम्पुर्ण काम सकिएको भण्डारीले बताए । माघ भित्रै भवन निर्माणका लागि टेण्डर आव्हान गरिने तयारी रहेको छ । भण्डारीले भने– ‘बिभाग बाट फाईल स्विकृत भएको कुरा आएको छ । अब चाँडै टेण्डर आव्हान गरेर काम सुरु हुन्छ ।’ शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय ईलाम मार्फत टेण्डर आव्हान गरिने बताइएको छ । पहिला सानो टहरा बाट आर्युबेदको सेवा दिदै आएको आर्युबेद औषाधालय असार देखी बन्द रहेको थियो । आर्थिक अभाव भएपछि आर्युबेद बन्द रहेको र हाल गाउपालिकाले २ लाख रुपैया छुट्याएपछि पुन : संचालनमा आईरहेको अध्यक्ष काफ्लेले बताईन् । एउटा सानो क्वाटर बाट जिल्लाको सहयोगमा औषधालयले हाल महिनाको ५ र २० गते औषाधलयले शिबिर संचालन गर्दै आइरहेको छ । स्थानीय हरी  गुरागाईले आर्युबेद अस्पताल संचालनमा आए आफुहरुका लागि राहत मिल्ने बताए । आफ्ना छोरा छोरी आँगनमै आर्युबेदका बारेमा पढ्न पाउने भएपछि खुशी लागेको उनको भनाई छ । ‘ उहीले हाम्रा पालामा जरा जुरी नै लगाएर र खाएर रोग निको पार्थे । हाम्रै वरीपरि भएका बोट बिरुवाको प्रयोग गरेर उपचार गर्न जाने कति जाती हुन्थो ’ – गुरागाईले भने ।

 

2,991 total views, 0 views today

तपाईको प्रतिक्रिया