२०६४ सालमा स्काभेटर अपरेटरको पदमा खाडी राष्ट्र कतार प्रवेश गरेका मेष बहादुर घिमिरे (आकाश ) अहिले पेशा परिर्वतन गरी दुबईमा समुन्द्रमा पानी जहाज चलाउने क्याप्टेन छन् ।

उनको दैनिकी बिहानदेखि नै सांझसम्म पुरै दिन समुन्द्रमा बोट चलाउदै बित्ने गर्दछ । कमाई पनि सन्तोषजनक भएकोले पनि आफ्नो पेशामा उनी खुशी छन् । उनको कमाइ ५ लाखसम्म हुने बताइएको छ ।

नेपालबाट आउने उच्च पदमा रहेका ब्यक्ति र अन्य साथी भाईहरुलाई आफै चालक भएर समुन्द्रमा घुमाउन पाउंदा आफु निकै गौरवान्वित महशुस गर्ने उनी बताउंछन् । युएई भ्रमणमा आएका बेला पुर्व प्रधानमन्त्री प्रचण्डलाई समेत आफुले समुन्द्रमा घुमाउने अवसर पाएकोमा उनी दङ्ग छन् ।

निकै रोमान्चक र चुनौतीपूर्ण मानिने बोटको सामुन्द्रिक घुमाईमा विभिन्न किसिमका ग्राहकहरुको सामना गर्नुपर्ने र उनीहरुलाई खुशी पार्ने  चुनौती र बाध्यता हुन्छ ।

समुद्रमा आउने आंधि हुरी ठुला ठुला छालहरुको बारम्बार सामना गर्नुपर्छ । समुद्रमै विभिन्न विवाह ,भोज ,पार्टी आयोजना हुने गर्छ । ती समयमा ग्राहकहरुको अनेकौ मागहरु हुन्छन् । तर पनि  चुनौतीको सामना गदै पेशागत धर्म निर्वाह गर्न सदैव तत्पर रहने उनी बताउंछन ।

शुरुमा २०६४ सालमा नेपालबाट एक मेन पावर कम्पनीले स्काभेटर अपरेटरको पदमा कतार पठाएको थियो तर कम्पनीले भने मजदुरको काममा लगायो ।  केही समयपछि सोही कम्पनीमा काम गर्ने एकजना मेनेजरले उनको मेहनती स्वभाव देखेर अफिस ब्वाईको जिम्मेवारी दिए ।  त्यसपछि उनले विभिन्न आरोह अबरोह पार गरे । खाडीको संघर्ष  र आरोह अबरोह पार गर्दै उनी अहिलेको काम गर्न पुगे ।

वाल्यकाल पनि निकै कष्टकर बितेको स्मरण गदै आजको यो स्थानमा आईपुग्न निकै मेहनत गर्नुपरको उनी बताउंछन् । उनी निकै सानो छंदै बाबुको स्वर्गवास भएको थियो । बुबाको निधन भएपछि परिवारमा ठुलो आपत्ति आईपर्यो । आमा एक्लैले चार छोरा एउटी छोरी लगायतको सम्पुर्ण जिम्मेवारी सम्हाल्न निकै कठिन थियो । स्कुलको पढाईमा पनि बिचमा निकै बाधा आईपरेको थियो । आफु र एक जना दाईले दाताको सहयोगमा स्कुलको अध्ययन गरे ।  तर राजनितिक द्धन्दका कारणले बिचमै संस्था बन्द भइ पढाई अलपत्र भएपछि उनी खाडीतिर पसेका थिए ।

जीवनमा जतिसुकै अप्ठारो पर्दा पनि निरन्तर आफ्नो कर्ममा लाग्नुपर्छ भन्ने अठोट  लिएर अगाडि बढेमा राम्रा दिन आउँछन् भन्ने उनको अनुभव छ ।  (news24 बाट)

 

तपाईको प्रतिक्रिया