जनकपुरधाम/ २०४६ साल फागुन ९ गते संयुक्त जनआन्दोलनका क्रममा विरोध प्रदर्शनका लागि तयारी गरिरहेका बेला प्रहरी हस्तक्षेपको विरुद्धमा जनस्तरबाट धनुषाको यदुकुहा गाविसको गोठकुहामा प्रतिरोध गर्दा प्रहरीले चलाएको गोलीबाट ६१ वर्षीय जानकीदेवी यादव, ४५ वर्षीय मुनेश्वरीदेवी यादव, ३८ वर्षीय जानकीदेवी यादव, ३५ वर्षीय राजनारायण यादव र १५ वर्षीय सोनावती देवी यादव, ३५ वर्षीय राजनारायण यादव र १५ वर्षीय उदयशंकर मण्डलले शहादत प्राप्त गरे ।

यदुकुहा बजारभन्दा झण्डै एक किलोमिटर उत्तरमा ८ सय जति मानिसको बसोबास रहेको एउटा बस्ती छ, जहाँ मुख्य गरेर यादव जातिका मानसिहरु बस्दछन् । गाउँका नेता शिवधारी यादवलाई २०४६ फाल्गुन ९ गते जुलुसको प्रबन्ध गर्ने जिम्मेवारी दिइएको थियो । एक हप्ता अगाडिदेखि लुकीछिपी बसेका शिवधारी अघिल्लो दिन मात्र घर फर्केका थिए । त्यति बेला उनी मानिसहरुलाई जुलुुसमा सहभागी गराउन गाउँ घुमिरहेका थिए । उनको कुरा मानेर धेरै मानिसहरु नेपाली कांग्रेसका झण्डा र नारा लेखिएका ब्यानर लिएर सबेरैदेखि उनको घरमा भेला हुन थालेका थिए ।

दिउँसो १ बजिसकेको थियो । बद्रीप्रसाद महतो दौडँदै शिवधारीको घरमा आएर स्याँस्या गर्दै भने, ‘जनकपुरबाट पुलिस आएका छन् । उनीहरु शिवधारीलाई गिरफ्तार गर्न आएजस्तो छ । शिवधारीलाई तुरुन्तै भगाउनुपर्छ ।’ बद्रीले केही पर पानी सुकेको खोलाको बीचमा पुलिसको गाडी फसेको र गाडीबाट करिब ३० जनाजति पुलिस ओर्लेर गाउँतिर आउँदै गरेको देखेका थिए ।
बद्रीको कुरा सुन्नेबित्तिकै शिवधारी पछाडिको ढोकाबाट लुसुक्क बाहिर निस्किहाले ।

अलिकतिले मात्र उनी उम्के । उनी निस्कनेबित्तिकै पुलिस उनको घरमा आइपुग्यो । दुई दिशाबाट आएका पुलिसहरु उनको घरअगाडि मिसिएर जबर्जस्ती ढोका खोली घरको भित्रिचोकमा पसे र शिवधारीलाई खोज्न थाले ।
‘तिमीहरुको नेता खोई ? ऊ यहीँ हुनुपर्छ,’ मैथिली बोल्न नजान्ने एक जना पुलिसले नेपालीमा सोध्यो । ‘केही दिनदेखि घर आएको छैन । विश्वास लाग्दैन भने खानतलासी गर्नुहोस् ।’

शिवधारीलाई घरमा नभेटेपछि पुलिसले जो अघिल्तिर पर्‍यो उसैमाथि आफ्नो रिस पोख्न थाल्यो । पुलिसले शिवधारीका छोरा विशेश्वर, बद्री, ककनी यादव र शिवधारीका एक जना कामदारलाई पक्रियो र उनीहरुका हात पछाडिपट्टी बाँध्यो । हल्लाखल्ला सुनेर गाउँका सबै मानिसहरु शिवधारीको घरमा भेला भए । उनीहरुले सोधे, ‘यी निर्दोष मानिसहरुलाई किन पक्रेको ? शिवधारीसँग यिनीहरुको केही सम्बन्ध छैन ।’

भीड यति ठूलो भएको थियो कि बन्दुकधारी पुलिसले समेत आफू खतरामा परेको महसुस गरे । त्यहाँबाट उम्कने बाटो खोज्दै उनीहरुले भने, ‘हामीले यी चार जनालाई बाँधेर गल्ती गर्‍यौं । तपाईहरु जुलुस निकाल्नुहोस् अथवा जेसुकै गर्नुहोस् । तर, हामीलाई यहाँबाट जान दिनुहोस् ।’
गाउँलेले पुलिसहरुलाई उत्तरतिरको बाटो भएर जाने अनुमति दिए । किनभने दीपक र विष्णुदेवको नेतृत्वमा यदुकुहाबाट जुलुस आउने बेला भएको थियो । शिवधारीको घर छाडेर पुलिसहरु चुपचाप हिँडेका गाउँलेहरुले हेरिरहे । तर, झन्डै ५० मिटर पर पुगेपछि पुलिसहरु अचानक पछाडि फर्किए र तीन जनाले राइफल सोझाउँदै भीडमा गोली हाने । गाउँलेहरु यति हतप्रभ भए कि उनीहरुले के भएको हो भन्ने बुझ्नै सकेनन् ।

गोली लागेर मानिसहरु ढलिरहेका थिए र पुलिसले १४÷१५ राउण्ड गोली चलाएर हिँड्दासम्म उनीहरु हेरेकोहेर्‍यै भए ।
शिवधारीको घरको आंगन एक निमेषमै नर्कमा परिणत भयो । रामनारायण यादव र जानकीदेवी यादवको घटनास्थलमै मृत्यु भयो । मुनेश्वरीदेवी र सोनावतीदेवीको पेटमा गोली लागेको थियो अनि उदयशंकर मण्डलको पेट र छातीमा । उनीहरुको अवस्था चिन्ताजनक थियो । वरपर उपचार गर्ने ठाउँ नभएकाले घाइतेहरु बाँच्ने आशा बिल्कुल थिएन ।

मुनेश्वरीदेवी यादवको वीरगञ्ज अस्पतालमा मृत्यु भयो । सोनावती देवीको मृत्यु भारत लाँदैगर्दा बाटैमा भयो र उदयशंकरले जनकपुर लैजाँदै गर्दा पुलिसको गाडीमा प्राण त्यागे । गोलीको सिकार हुनेमा शिवधारीको आँगनमा बाँधिएको एउटा गोरु पनि थियो । ४२ वर्षीया जानकीदेवी शिवाधरी यादवकी बहिनी थिइन् । उनका दुई छोरा र दुई नातिनातिना थिए ।
मुनेश्वरीदेवीका दुई जना र सोनावतीदेवीका पाँच जना छोराछोरी थिए । उदयशंकर भर्खर १४ वर्ष टेकेका किशोर थिए ।

मारिएका पाँचै जना निर्दोष गाउँले थिए जसको राजनीतिसँग कुनै सम्बन्ध थिएन । जानकीदेवीको प्राण गइसकेजस्तो देखिए पनि बचाउन सकिन्छ कि भनेर गाउँलेहरुले उनलाई गोरुगाडामा राखेर यदुकुहाको स्वास्थ्यचौकीमा पुर्‍याए । तर, उनीहरुको प्रयास निरर्थक भयो । स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुले उनी मरिसकेको बताए । जानकीदेवीलाई स्वास्थ्यचौकी पुर्‍याउनेहरुमा जयनगरको कलेजमा अध्ययनरत विद्यार्थी चन्द्रलाल यादव पनि एक थिए ।

स्वास्थ्यचौकीबाट उनीहरुले शव फर्काएर गाउँ लैजान लाग्दा पुलिसले उनीहरुलाई रोक्यो । जानकीदेवीको शव बोकेको गोरुगाडालाई प्रहरीले बलपूर्वक नजिकैको पुलिसथाना लग्यो र चन्द्रलाल तथा उनीसँगै गएका अरु गाउँलेलाई थुनामा राख्यो । पछि जानकीदेवी र रामनारायणको लासका साथै त्यति बेलासम्म जीवितै रहेका उदयशंकर, चन्द्रलाल र पक्राउ परेका गाउँलेहरुलाई जनकपुर चलान गरियो ।

जनकपुर यदुकुहाबाट १५ किलोमिटर मात्रै टाढा छ । तर, यदुकुहाबाट जनकपुर जाने सोझो बाटो नभएकाले कच्ची बाटो भएर २० किलोमिटर उत्तर गई गाडीमा पूर्वपश्चिम राजमार्गको ३० कि.मि. दूरी तय गरेपछि मात्र जनकपुर पुग्न सकिन्छ । कच्ची बाटो त्यसमाथि थोत्रो गाडीको थच्याइमा परेकाले उदयशंकरको बाटैमा मृत्यु भयो ।
उनीहरुलाई सिधै प्रहरी उपरीक्षकको कार्यालयमा लगियो । त्यहाँ ति तीनवटा लासलाई अर्को गाडीमा राखेर अन्त कतै लगियो । ति लासहरुलाई के गरियो भन्ने कुरा गाउँलेले कहिल्यै थाहा पाएनन्, किनभने उनीहरुका आफन्तले शव फिर्ता पाएनन् ।
लोकतन्त्र प्राप्तिका लागि शहादत दिने ती शहीदका छोराछोरीलाई राज्यले रोजगारीको अवसर प्रदान नगर्दा आज विदेशिनु परेको छ । आफ्नै गाउँ रणभूमिमा परिणत भएको त्यो दिन सम्झँदै आँसु बगाउनु र दु:खसँग लड्नुबाहेक अर्को विकल्प उनीहरुसँग छैन ।

शहीद राजनारायण यादवकी पत्नी रामसखी यादव भन्छिन्, ‘खेती गरेर पेट पाल्न सकिएको छैन । स्वदेशमा राज्यले रोजगारी उपलब्ध नगराइदिँदा दुई छोराहरु राजकुमार यादव र सत्यदेव यादव आफ्नो घर परिवार र देशलाई छोडेर बाध्यतावश कतार गएका छन् ।’

क्षतिपूर्ति र रोजगारी नपाएकै कारण अधिकांश शहीद परिवारलाई घर–व्यवहार चलाउन मुस्किल परेको छ । २०४६ सालमा संयुक्त जनआन्दोलनको क्रममा प्रहरी हस्तक्षेपविरुद्ध हजारौँ सर्बसाधारण सडकमा उत्रेका थिए ।

सर्वसाधारणलाई अधिकार सम्पन्न बनाउनकै लागि ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरे पनि शहीदका छोरा–छोरीलाई राम्रो शिक्षा, स्वास्थ्य उपचार र रोजगारीको व्यवस्था अहिलेसम्म मिलाउन सकेका छैनन् । शहीदका छोराहरु मुलुकमा रोजगारी नपाएर घर परिवार पाल्नकै लागि सस्तोमा श्रम बेच्न खाडी मुलुक जान बाध्य भएका छन् ।

राजतन्त्रको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि एकैसाथ ज्यान गुमाएका पाँच जनाको स्मरणमा स्थानीयवासीले सहयोग जुटाएर महिला शहीद स्मृति पार्क निर्माण गरे पनि सरकारी उपेक्षाका कारण अहिले जीर्ण भएको छ ।
यदुकुहामा बलिदानी गरेका ति ५ जनाको स्मरणमा २०४६ जेठ ९ गतेका दिन नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले महिला शहीद स्मृति पार्कको शिलान्यास गरेका थिए भने २०५२ कार्तिक २३ गते एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेका थिए ।

१६ माघ शहीद दिवसका दिन र फागुन ९ गतेका दिन स्थानीय नेताले फूलमाला लगाएर जान्छन्, तर त्यो पार्कको संरक्षणका लागि कसैले ध्यान समेत दिएको छैन । यदुकुहा गाविस कार्यालयका सहयोगी विनोद कुमारमण्डल भन्छन्, ‘पार्क स्थापनाकालमा धेरै राम्रो फूलबारी बनाइएको थियो, तर पछि आएर पार्क संरक्षणका लागि कसैले ध्यान नदिदा शहीद परिवारबाटै पैसा ल्याएर पार्कको सफाई तथा रंग–रोगन गर्ने गरेको छु ।’

जनआन्दोलन चर्काउने नेताहरु पनि शहीद परिवारलाई क्षतिपूर्ति दिलाउन सहयोग गर्नुको सट्टा उनीहरुलाई दोसल्ला ओढाउन र फोस्रा आश्वासनले भरिएका भाषण गर्नतिर मात्र केन्द्रित छन् । राष्ट्रिय एकता र विकासका लागि खुलेका राजनीतिक दलहरु पनि शहीदको सपना साकार पार्न र सर्वसाधारणलाई अधिकार सम्पन्न बनाउने मुद्दा थाती राखेर पदीय लोलुपता र सत्ता स्वार्थमै केन्द्रित भएका छन् ।- लोकान्तरबाट

882 total views, 0 views today

तपाईको प्रतिक्रिया