डाम्राभिट्टा वडा नम्बर ८ सिक्कीमे टोलमा बने तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गनाका पाँच सन्तान अपाङ्ग छन् । तुलसीराम ७० वर्ष लागे भने सृजनाले पनि ५० टेकिन् । बुढेसकालमा पाँच अपाङ्ग छोराछोरीलाई स्याहार्दै आएका उनीहरुको दैनिकी नै अपाङ्ग सन्तानको हेरचार गर्दैमा वित्ने गर्दछ । उनीहरुका २ छोरा र ३ छोरीमध्ये शारीरिकरुपमा अपाङ्ग ४० वर्षीय निर्मला, ३८ वर्षीय निर्मल, ३५ वर्षीय उमेश, २६ वर्षीय पार्वता र २४ वर्षीय गोमा छन्। उनीहरुले बोलेको बुझिँदैन् जसले गर्दा ढुङ्गना दम्पतीले इसाराको भरमा नै उनीहरुको हेरचाहा गर्दै आएका छन्।

  कोकीलाको कोखबाट जन्मेका ४ जना सन्तानमध्ये निर्मल र निर्मला सुस्त मनस्थितिका छन् भने दिपक र सीता शारीरिक रुपमा सबल छन्। पहिली पत्नी कोकिलाको २०३८ सालमा मृत्यु भएपछि दुई अपाङ्ग छोराछोरीको स्याहारकै लागि तुलसीरामले साली सृजनासँग विहे गरेका थिए । सृजनाबाट पनि चार सन्तानको जन्म भयो । उनले दिदिका जस्तै आफ्ना पनि छोराछोरी अपाङ्ग हुने कुरा कल्पना समेत गरेकी थिइनन् । उनीबाट जन्मेका ४ सन्तानमा तीनजना पनि सुस्तमनस्थितिका छन् ।

जन्मेको केही महिनापछि नै बाबुआमाले आफ्ना छोराछोरी अरु जस्तै सामान्य नहुने बुझिसकेको थिए । उपचारका लागि अस्पताल लैजाँदा निको नहुने भएकाले थप पहल नगर्न उनीहरुलाई डाक्टरले सुझाव दिएका थिए ।

शारीरिक तथा मानसिक रुपमा समेत अपाङ्ग छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरमा भएका सरसामान तोडफोड गरिदिने, जथाभावी दिशा पिसाब गरिदिने, कहिले रुने त कहिले हाँस्ने जस्ता कृयाकलापहरु गर्ने गरेको आमा सृजनाले  बताईन् ।

  ‘५ जना अपाङ्ग छोराछोरी स्याहार्दै आफ्नो १० कठ्ठा खेत पनि कमाउन सकिएको छैन’,सृजनाले भावुक हुँदै भनिन्, ‘छोराछोरी स्याहार्दै दिन वित्ने भएकाले खेत अधियाँ दिएका छौं । यो १० कठ्ठा जमिनले पनि खान पुग्दैन । सरकारबाट पाउने भत्ताले एकछेउ हुँदैन् । ’ विभिन्न सघसंस्थाबाट हेर्न आउने मानिसहरुले गरेको सरसहयोगको भरमा नै उनीहरुको जिविकोपार्जन हुने गरेको छ । तर पछिल्लो समय खासै सहयोग नजुटेकाले दैनिक खान नै समस्या भएको पनि आमा सृजनाले बताईन्।

अपाङ्ग छोराछोरी स्याहार्ने दम्पति पनि आफैं अस्वस्थ छन् । ‘शरीरमा बल हराईसकेको छ, म चिनी, हाइड्रोसिल, क्षयरोगबाट पीडित छु, आखाँ एकदमै कमजोर भएको छ खासै देख्दिन, ’, तुलसीरामले भने, ‘मेरी पत्नीको पाठेघरको अप्रेशन गरिएको छ, दुवैजना रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो ।’

सरकारलाई दिन माया लाग्यो

सुस्तमनस्थिति त्यसमाथि पनि अपाङ्ग रहेका छोराछोरी सरकारलाई बुझाउन माया लागेर नै नबुझाएको बुबा तुलसीरामले बताए । जेजस्तो भएपनि आफ्ना सन्तान हुन्, माया लाग्छ । आफैं केही गर्न सक्दैनन्, लुगामा नै दिशापिसा गर्ने हुदाँ स्याहारसुसार गर्न निकै सकस हुने गर्दछ । सरकारलाई बुझाउँदा पनि हेरचाह गर्नेले कुट्लान कि भन्ने डरले गर्दा नबुझाएका ढुङ्गानाले बताए ।

गोल्छाको फोस्रो आश्वासन

अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सभासद् बनेकी विराटनगरकी राज्यलक्ष्मी गोल्छाले अपाङ्ग परिवारलाई दिएको फोस्रो  आश्वासन अझै उनीहरुले भुलेका छैनन् । जताततै चुहिने घरको अवस्था देखेर आफ्नो एकल लगानीमा नयाँ घर बनाइदिने आश्वासन दिएर सबैसामु समाजसेवीको छवि बनाएकी गोल्छाले धोका दिएकोमा ढुङ्गाना परिवार दुःखी छ । हामी नयाँ घर बनाइदिन्छौं, यो घर मर्मत सम्भार गर्नू पर्दैन, केही दिन पर्खिनुहोस् भनेर घरको नजिकैको जमिनमा शिलान्यास गरेको भएपनि गोल्छा गायब भएको तुलसीरामले बताए।

गुरागाईँ परिवारले घर बनाइदियो

मोरङको इटहरा–५ का गुरागाईँ परिवारले ढुङ्गाना परिवारलाई पक्की घर बनाइदिएको छ । पाँच जना सुस्तमनस्थितिका छोराछोरी भएका ढुङ्गाना परिवारको घरको अवस्था कमजोर भएर बस्न नै समस्या भएका समाचार आएपछि  गुरागाईँ परिवारले उनीहरुको घर बनाइदिएका हुन् । – किशोर श्रेष्ठ (सरल पत्रिका) बाट

1,757 total views, 0 views today

तपाईको प्रतिक्रिया