करिब ३५ सय नेपालीले विद्यावारिधि गरेकोमा  आधाभन्दा धेरै पिएचडीहोल्डर विदेश भासिएका छन् ।

शिक्षा मन्त्रालयको आकलनअनुसार हरेक वर्ष ८० देखि सय नेपालीले विदेशका विश्वविद्यालयबाट पिएचडी गर्छन् । तर त्यसको ७० प्रतिशत पनि नेपाल फर्कंदैनन् । स्वदेश फर्किएका र यतै पिएचडी गरेकाहरू पनि सन्तुष्ट छैनन् । तीमध्ये करिब तीन सय त बेरोजगार नै छन् । सरकारले पनि उनीहरूको विज्ञताको सदुपयोग गर्न चासो देखाएको छैन । कृष्ण आचार्यको रिपोर्ट :


३५ सयले गरे पिएचडी, आधा विदेशमा
पछिल्ला १० वर्षमा मात्रै करिब १५ सय नेपालीले पिएचडी गरेका छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार नेपाल र विदेशबाट गरी हालसम्म करिब ३५ सयले पिएचडी गरिसकेका छन् । पछिल्लो १० वर्षमा पिएचडी गर्नेको संख्यामा राम्रै वृद्धि भएको हो । ०६३ सम्म दुई हजार नेपालीले पिएचडी गरेका थिए । ०६३ देखि ०७३ सम्ममा यो संख्या बढेर ३ हजार ५ सयको हाराहारीमा पुग्यो ।
पिएचडी गरेकामध्ये करिब ५० प्रतिशत त विदेशमै बस्छन् । विदेश गएर पिएचडी गरिसकेपछि त्यतै अवसर पाउने हुनाले धेरै फर्किएर नेपाल आउन चाहन्नन् । पिएचडी एसोसिएसनका पूर्वअध्यक्ष बालचन्द्र मिश्र भन्छन्, ‘विदेशमा राम्रो अवसर पाउने भएकाले धेरै उतै बस्छन् । केही नेपालबाट पनि पलायन भएका छन् ।’ उनका अनुसार हाल १ हजार ५ सय देखि १ हजार ७ सयसम्म पिएचडीहोल्डर नेपाली विदेशमा छन् । तर, यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । शिक्षा मन्त्रालयले विभूषित हुनेको नाम जम्मा गर्न सुरु गरे पनि कति नेपालमा बस्छन् र कति विदेशमा भन्ने तथ्यांक कसैसँग छैन । अनुमानका आधारमा सो संख्या आकलन गरिएको डा. मिश्र बताउँछन् ।

शिक्षा मन्त्रालयले कसले, कहाँबाट, कुन विषयमा पिएचडी गर्यो भन्ने तथ्यांक भने राख्ने गर्छ । केहीले विद्याभूूषण पदकका लागि निवेदन नदिने भएकाले पिएचडी गर्न विदेश गएकाहरू उतै कुनै काममा सेटल हुने र विद्याभूषणका लागि नेपाल नआउने गरेकोसमेत जानकारहरू बताउँछन् ।

किन नेपाल फर्कंदैनन् पिएचडीहोल्डर ?
पिएचडी गर्न विदेश गएका धेरै नेपाली फर्कंदैनन् । विदेश गएर ‘हाइअर एजुकेसन’ लिइसकेपछि धेरै नेपाल फर्कन चाहँदैनन् । धेरैमा नेपाल आएर के गर्ने भन्ने चिन्ता हुन्छ । अध्ययन गर्दागर्दै विदेशमा धेरैले काम पाइसकेका हुन्छन् र दाम पनि कमाउन थाल्छन् । पढेपछि आफ्नै देशमा आएर केही गरौँ भन्ने भावना भएकाहरूलाई पनि परिवार तथा साथीभाइले ‘यहाँ नआऊ, नेपालमा कुनै अवसर छैन’ भनिदिन्छन् ।

एक मन्त्रालयमा काम गरिरहेका पिएचडीहोल्डर आफूले विदेश पढेर नेपाल आउन चाहने आफन्त तथा साथीभाइलाई नफर्किन सुझाब दिएको बताउँछन् । ‘मेरो नजिकको भाइ पर्ने अमेरिकामा पिएचडी गरेर नेपाल आउन लागेको थियो,’ उनले भने, ‘तर, मैले नै फोर्स गरेर रोकेँ । उतै राम्रै पैसा कमाइरहेको छ, यहाँ जागिरको कुनै ग्यारेन्टी छैन किन आउन भन्ने ?’

धेरैजसो स्कलरसिपमा विदेश पढ्न गएका हुन्छन् । सरकारी पैसामा पढेर देशको सेवा गर्नुपर्ने भए तापनि उनीहरू उतै बस्छन् । सरकार पनि को नेपाल फर्कियो, कसले कुन क्षेत्रमा काम गर्दै छ र कसलाई के काम दिने भन्नेमा मौन छ । विदेश बस्नेलाई सरकार न नेपाल ल्याउन चाहन्छ न कुनै बाध्यात्मक व्यवस्था छ । उनीहरू पनि स्वदेश फर्केर रिक्स मोल्न चाहँदैनन् ।

बेरोजगार पिएचडीहोल्डर
पिएचडी गरेकाहरू पनि बेरोजगार छन् भनेको सुन्दा तपाईंलाई पत्यार नलाग्ला । तर, केही पिएचडीहोल्डर यस्ता पनि छन्, जो कुनै पनि रोजगारमूलक काममा सहभागी छैनन् । नेपालमा करिब २ हजार पिएचडीहोल्डरमध्ये तीन सय बेरोजगार रहेको हुन सक्ने पिएचडी एसोसिएसनका सदस्यहरू बताउँछन् । उनीहरूमध्ये केहीले कृषि, पशुपालनजस्ता क्षेत्रमा काम गरिरहेका छन् । रोजगारी पाएकाहरू पनि पढाइअनुसारको पेसामा छैनन् । पिएचडी एसोसिएसनका अध्यक्ष डा. डिल्लीराम अर्याल भन्छन्, ‘कुनै पनि विषयमा गहन अध्ययन गरेर विज्ञता हासिल गरेर आएकाहरूलाई राज्यले व्यवस्थापन गर्दैन, कतिपयले चाहेअनुसारको रोजगारी पनि पाएका छैनन् । त्यसैले पनि धेरै नेपाल आउन चाहँदैनन् ।’

जनसंख्या अध्ययन विषयमा पिएचडी गरेका रोशन (नाम परिवर्तन) बेरोजगार बसिरहेका छन् । ‘आफ्नै लगानीमा व्यवसाय गर्न पैसा छैन, सरकारले हाम्रो व्यवस्थापनमा ध्यान दिँदैन,’ उनी भन्छन्, ‘विदेशमा पढेर आएर कुनै काम पाइएन । काम पाउन पहुँच र पावर चाहिने, त्यसैले अहिले खेतीमै व्यस्त छु ।’

पिएचडीहोल्डरमध्ये करिब सयको हाराहारीमा मात्र सरकारी सेवामा कार्यरत छन् । विज्ञताका आधारमा सरकारले उनीहरूको उपयोग गर्नुपर्ने भए तापनि त्यसो हुन सकेको छैन । केही मन्त्रालय र त्यसमातहतका निकायमा गरी निजामती सेवामा सयभन्दा धेरै सेवामा नरहेको अस्वीकार गर्छन् डा. अर्याल । त्यसमध्ये पनि केही अधिकृतका रूपमा कार्यरत छन् । केही ‘प्लस टु’स्तरको अध्यापन पेसामा छन् । कोही भने आफ्नै व्यवसाय चलाएर बसेका छन् । जो पिएचडीपछि पनि असन्तुष्ट छन् ।

पिएचडी गरेर आएका धेरैजसो अध्यापन पेसामा कार्यरत छन् । विभिन्न क्याम्पस तथा विश्वविद्यालयमा प्रोफेसरको रूपमा कार्यरतहरू पनि त्यति सन्तुष्ट छैनन् । विदेशमा पिएचडी गरिसकेपछि त्यस विषयमा जानकारी लिन, केही सिक्न, बुझ्न दर्जनौँ विद्यार्थी उसको पछि लाग्ने गर्छन् । तर, नेपालमा त्यसो भएको देखिँदैन । न त यहाँ सोहीअनुसारको सम्मान नै छ ।

पढाइ खर्च कति ?
विशेषगरी पिएचडी गर्नेहरू स्कलरसिपमा भर पर्छन् । विभिन्न माध्यमद्वारा खर्च जुटाएर नेपाल अथवा विदेशमा नेपाली पिएचडी गर्दै आएका छन् । यसरी स्कलरसिप पाउनेहरूले थोरै मात्र खर्चमा पिएचडी सम्पन्न गर्छन् । तर, विनास्कलरसिप भने महँगो छ ।

विदेशमा देश र विश्वविद्यालयअनुसार पढाइ खर्च फरक–फरक हुन्छ । सामान्यतया तीन वर्षको कोर्समा ६ वटा समेस्टर हुन्छन् । र, धेरैजसो देशहरूमा एउटा सेमेस्टरबराबर करिब ५० देखि ८० हजारसम्म फी लाग्ने गर्छ । तीन वर्षमा पढाइ नसकेको खण्डमा प्रत्येक वर्ष सोही अनुपातमा रकम तिर्नुपर्छ । यसरी फीबापत मात्र ३ वर्षमा ३ देखि ५ लाख लाग्ने गर्छ ।

त्यसबाहेक ल्याबमा अतिरिक्त खर्च हुन्छ । अध्ययन तथा अनुसन्धानका क्रममा आफूलाई आवश्यक सामग्री (लिटलेचर, सफ्टवेयर) किन्दा, अतिरिक्त क्लास लिँदा करिब ३ देखि ५ लाख खर्च हुन्छ । विद्यार्थीको ट्यालेन्ट र उसको पारिवारिक अवस्था हेरेर आर्टिकलहरू छाप्ने र ल्याबमा आवश्यक सामग्री खरिद गर्दा प्रोफेसर वा कलेजले सहयोग गर्ने सम्भावना पनि हुन्छ । तर, त्यसो नभएको खण्डमा न्यूनतम ३ लाख खर्च हुन्छ ।

त्यसबाहेक विदेशको बसाइ महँगो हुन्छ । कतिपयले कुनै काम गरेर खाने, बस्ने व्यवस्था गरेका हुन्छन् । त्यसो नभएको खण्डमा मासिक १ लाख अनिवार्य खर्च हुन्छ । साथीहरूसँग कोठा सेयर गरेर बसेमा भने केही कम खर्च लाग्न सक्छ । स्कलरसिप पाएकाहरूको पनि ल्याबमा केही खर्च हुने गर्छ । सबैको अनिवार्य हुन्छ भन्ने छैन, तर प्रोफेसरले सहयोग नगरेमा पढाइ सकिँदासम्म २ लाखसम्म खर्च हुन सक्छ ।

राजस्थानको सिंगानिया विश्वविद्यालयबाट आफ्नै खर्चमा पिएचडी गरेका आलोक प्रसाईं समय, दुःख र अनुभवको कुनै मूल्य नरहने बताउँछन् । टुरिजम विषयमा पिएचडी गरेका उनको पढाइ खर्च १० लाख रह्यो । ३ लाख ५० हजार फी तिरेका उनी घुम्ने, संगत बढाउने, सेमिनारमा भाग लिने, अध्ययन, अनुसनधानमा संलग्न हुने गर्दा १० लाखको हाराहारीमा खर्च हुने बताउँछन् । यसमा खाना र बस्दा हुने खर्च जोडिएको छैन ।

नेपाल र विदेशमा पिएचडी गर्दा लाग्ने खर्चमा खासै भिन्नता छैन । नेपालमा पनि पढाइ सकिँदासम्म ३ देखि ४ लाखसम्म ‘फी’बापत मात्र खर्च हुने गर्छ । त्यसपछि रिसर्चमा दुई लाखको हाराहारीमा खर्च हुन्छ । विद्यार्थी रेगुलर छ भने सबै गरेर ५ देखि ७ लाखको हाराहारीमा खर्च हुन्छ । कुन विषय लिएर पिएचडी गरेको हो भन्ने कुराले पनि खर्च निर्धारण गर्छ । अध्ययन सामग्री धेरै चाहिने, ल्याबको प्रयोग गरिरहनुपर्ने, आवश्यक सामग्री तथा उपकरण विश्वविद्यालयमा उपलब्ध नहुनु, फिल्डमा धेरै हिँड्नुपर्ने हो भने खर्च बढी हुन्छ । तर, यसो भएन भने कम खर्चमै विद्यावारिधि हासिल गर्न सकिन्छ ।

त्रिविबाट पिएचडी गरेका मोहनप्रसाद शर्मा पिएचडीका क्रममा विभिन्न काममा संलग्न हुने भएकाले विद्यार्थीले आफैँ खर्च जुटाउन सक्ने बताउँछन् । भन्छन्, ‘पिएचडी गर्ने विद्यार्थीका लागि आयआर्जनका विभिन्न स्रोत हुन्छन्, धेरैले कुनै न कुनै ठाउँमा संलग्न भएर आफ्नो खर्च जुटाउँछन् ।’

विश्वविद्यालयको मुखै नदेखी पिएचडी
घरमै बसी–बसी पिएचडीको शोधपत्र तयार हुने गरेको छ । विशेषगरी भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेको प्रमाण दलालको प्रयोग गरी जुटाइन्छ र शोधपत्र तयार पारिन्छ । त्यसपछि शोधपत्र तयार पारिएको कागजपत्र त्रिभुवन विश्वविद्यालयमा पेस गरिन्छ । विदेशमा अध्ययन गरेका विद्यार्थीले त्रिविबाट आफूले हासिल गरेको समकक्षता लिनुपर्ने बाध्यकारी नियम छ । तर, विद्यार्थीले आवश्यक कागजपत्र र प्रमाण नै नजुटाई केन्द्रमा निवेदन दिने गरेका छन् । कतिपयले त नक्कली कागजपत्रसमेत तयार पारेका छन् ।

त्रिवि डिन कार्यालयका एक कर्मचारीका अनुसार यसरी कतिपयले त पिएचडीको उपाधिसमेत हात
पारिसकेका छन्, दाललको माध्यमबाट । डिन कार्यालयमा यस्ता निवेदनको चाङ छ । धेरैको यस्तो निवेदन खारेज भएको छ । यसरी तयार पारिएका शोधपत्रमा त्रिविकै नाम चलेका प्रोफेसरले हस्ताक्षर गरी सदर गर्ने गर्छन् । नाम नखोल्ने सर्तमा एक प्राध्यापकले भने, ‘दलालको प्रयोग गरी घरमै बसी–बसी विद्यावारिधि हात पार्नेहरू पनि यहाँ धेरै छन् । भित्रभित्र के–के पाक्छ भन्नेचाहिँ राम जाने ।’ यसरी विदेशी विश्वविद्यालयका एजेन्टहरू पुतलीसडक र नयाँ बानेश्वरमा धेरै छन् । यो बिल्कुल गैरकानुनी कार्य हो । तर, यसको नियमनकारी निकाय नै छैन । शिक्षा मन्त्रालयको यसतर्फ ध्यान नै जाँदैन ।

त्रिविकी शिक्षाध्यक्ष (रेक्टर) डा. सुधा त्रिपाठीसमेत त्रिविमा राजनीति हाबी भएको बताउँछिन् । ‘भाइभा फेस गर्न नसकेर आँसु झार्ने प्राध्यापकसमेत देखेकी छु, त्यस्ता पिएचडीलाई हामीले अस्वीकार गर्नुपर्छ,’ डा. त्रिपाठी भन्छिन्, ‘पिएचडी चानचुने कुरा होइन, जसले भाइभा दिने हो, ऊ त्यो क्षेत्रको, विषयको सबैभन्दा आधिकारिक व्यक्ति हो । आफँैले रिसर्च गरेको हो भने त्यसमा आँसु झार्नुपर्ने अवस्था किन आयो ?’ पिएचडीमा सबैलाई अवार्ड गर्न आवश्यक नरहेको त्रिपाठी बताउँछिन् । उनका अनुसार अब तलैबाट कतिपयलाई छाँट्नुपर्ने अवस्था छ ।

त्यस्तै, थेसिससमेत किनबेच हुने गरेको छ । अरूले गरेको रिसर्चको प्रयोग गरी पिएचडी हात पार्नेहरू धेरै छन् । यस्ता थेसिस त्रिवि हाताभित्र रहेका पुस्तक पसलमा छ्यापछ्याप्ती पाइन्छन् । त्यहाँ पाइएन भने पनि दलाल छँदै छन् । थेसिस किनबेच हुने गरेको आफूले पनि सुनेको डा. त्रिपाठी बताउँछिन् । ‘सबैभन्दा जान्ने नै रिसर्च गरेको व्यक्ति हो । आफँैले पिएचडी गरेको हो भने उसैले ¥याख¥याख्ती पार्न सक्नुपर्छ,’ डा. त्रिपाठी भन्छिन्, ‘भाइभामा आँसु झार्ने प्राध्यापक आफैँले पिएचडी गरेको होइन ।’ यी र यस्ता विषयले शिक्षाको गुणस्तरमा नै प्रश्न उठाएको छ ।

पिएचडी गर्न विदेशी नेपालमा
पिएचडीका लागि विदेशीहरूसमेत नेपाल आउने गरेका छन् । विशेष गरी नेपालको समाज, भाषा, धर्म, संस्कृति र भूगोललाई बुझ्न त्यससँग सम्बन्धित विषयमा पिएचडी गर्नेहरू नेपाल आउने गर्छन् । यसरी पिएचडीका लागि नेपाल आउनेमध्ये धेरै भारतीय मूलका छन् । टुरिस्टका रूपमा नेपाल भ्रमणमा आएकाहरूमध्ये केही यहाँको वातावरण, रहनसहन र प्रकृतिले लोभ्याएपछि फर्किएर अध्ययनका लागि आउने गरेको जानकारहरू बताउँछन् । भारतपछि जापानबाट पिएचडी गर्न नेपाल आउनेहरूको संख्या धेरै छ ।

पिएचडी उपाधिमा अंकुश
अब पिएचडी उपाधिका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगले कुनै पनि मापदण्ड पूरा नगरी पिएचडी र एमफिल गर्नेमाथि एक कार्यविधि पारित गरेर अंकुश लगाएको हो । कार्यविधिमा सम्बन्धित विषयमा उच्च द्वितीय श्रेणी, ३ अथवा ४ ग्रेडमा स्नातकोत्तर तह उत्तीर्ण गरी उच्च शिक्षा योग्यता प्रारूपले निर्धारण गरेको योग्यता पूरा गरेको व्यक्ति मात्र यस तहमा भर्ना हुन योग्य हुनेछ । त्यस्तै अनुदान आयोगले तोकेको राष्ट्रिय योग्यता परीक्षण वा आयोगले मान्यता दिएको अन्तर्राष्ट्रिय स्वीकृत परीक्षणमध्ये एक परीक्षा अनिवार्यरूपमा उत्तीर्ण गर्नुपर्नेछ ।

कार्यविधिमा उल्लेख भएअनुसार पिएचडी उपाधि दिनुअघि एक विदेशी विज्ञसहित सम्बन्धित विषयका तीन विज्ञ रहेको मूल्यांकन समिति शैक्षिक संस्थाले गठन गर्नुपर्ने र समितिले पेस गरेको शोधप्रबन्धको अन्तिम मूल्यांकन गर्ने व्यवस्था गरिएको छ ।

पिएचडी गर्न तीनदेखि पाँच वर्ष
पिएचडी गर्न कम्तीमा तीन र बढीमा पाँच वर्ष लाग्ने गर्छ । आफूले विज्ञता हासिल गर्न चाहेको विषयमा पूर्ण रूपमा जानकार हुने, त्यससम्बन्धी आर्टिकलहरू पढ्ने र विषयगत ज्ञान लिने गरिन्छ । त्यसपछि फिल्डमा खटेर अध्ययन, अनुसन्धान गर्ने र त्यसबाट आएको निष्कर्षलाई एउटा निचोडमा पु¥याउने र आफ्नो नयाँ विचार प्रदान गर्ने काम गरिन्छ । यसका लागि तीन वर्षको समय लाग्ने भए तापनि मानिसले ५ देखि ७ वर्ष पनि खर्चने गरेका छन् । सामान्यतया तीनदेखि पाँच वर्षको कोर्स हुने, तर सो अवधिमा पूरा गर्न नसकेको खण्डमा जति लामो समय पनि लाग्न सक्छ ।

विदेशभन्दा नेपालबाट गर्ने बढी
अहिले विदेशभन्दा नेपालबाट पिएचडी गर्नेको संख्या बढी छ । विशेषगरी स्कलरसिप पाएर विदेश जाने अवसर पाइने हुँदा धेरैले त्यसको फाइदा लिने गरेका छन् । ‘सकेसम्म स्कलरसिपमा विदेश पढौँ भन्ने नै सबैको चाहना हुन्छ र धेरैले त्यसका लागि प्रयास पनि गर्छन्,’ पिएचडी एसोसिएसनका महासचिव डा. सुनीलबाबु श्रेष्ठ भन्छन्, ‘स्कलरसिप नपाएपछि नेपालमै पढ्नुको विकल्प रहँदैन ।’
पहिला त पिएचडी भनेकै विदेशबाट गर्ने हो भन्ने भ्रम धेरैमा थियो । तर, पछिल्लो ५ वर्षमा संख्यात्मक रूपमा हेर्दा विदेशभन्दा नेपालबाट पिएचडी गर्नेको संख्या धेरै छ । नेपालबाट बर्सेनि १०० देखि १२० र विदेशबाट ८० देखि १०० जनाले पिएचडी गर्छन् । गत वर्ष नेपाल विद्याभूषण पदकका लागि शिक्षा मन्त्रालयमा २१४ जनाले आवेदन दिएका थिए । पिएचडी गरेपछि अनिवार्य विद्याभूषण पदक लिनुपर्ने हुन्छ । त्यसपछि मात्र उसले पिएचडीको मान्यता पाउँछ । त्यसका लागि शिक्षा मन्त्रालयले हरेक वर्ष शिक्षा दिवसको दिन एक कार्यक्रमको आयोजना गरी विभूषित गर्ने गर्छ । नेपाल वा विदेश जहाँबाट पिएचडी गरे पनि शिक्षा मन्त्रालयमा पदकका लागि फर्म भर्नुपर्ने हुन्छ ।

नेपालमा इन्जिनियरिङ, व्यवस्थापन, अंग्रेजी, नेपाली, कानुन, इन्भायरोमेन्टल साइन्स, जनसंख्या अध्ययन, शिक्षा, सोसियोलोजी, मानवशास्त्र, ग्रामीण विकासलगायतका क्लस्टरमा विद्यार्थीले पिएचडी गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयले पिएचडी गराइरहेका छन् । तर, विदेशमा भन्दा पिएचडी गर्न नेपालमा गाह्रो छ । विदेशमा विभिन्नखाले साधन तथा स्रोत उपलब्ध हुने हुँदा केही सहज हुन्छ । क्वालिटीमा भने त्यति धेरै भिन्नता पाइँदैन ।
विदेशबाट इकोनोमिक्स, केमेस्ट्री, इन्जिनियरिङ (इलेक्ट्रोनिक्स, कम्प्युटरिङ, इन्भायरोमेन्टल, रिसोर्स, सिभिल, प्रोडक्सन), इन्भायरोमेन्टल साइन्स, मेनेजमेन्ट, बायोलोजी, साइन्स एन्ड एडभान्स टेक्नोलोजी, मेडिकल साइन्स, फिजिक्स, पब्लिक हेल्थ, हाइड्रोलोजी, साइकोलजी, फरेस्ट्री, जुलोजीलगायतका क्लस्टरमा पिएचडी गर्छन् ।

शिक्षा मन्त्रालयको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा नेपालपछि भारतबाट पिएचडी गर्नेको संख्या धेरै छ । भारत र नेपालमा पिएचडी गर्ने विषय लगभग मिल्दाजुल्दा छन् ।

नेपाल र भारतपछि धेरै नेपाली पिएचडीका लागि अस्ट्रेलिया, जापान, क्यानडा, चीन, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, फ्रान्स, अमेरिका, थाइल्यान्ड, जर्मनी र नर्वे जान्छ्न् । त्यसबाहेक इजरायल, इटली, फिलिपिन्स, पोर्चुगल, पाकिस्तानलगायतका देशमा पनि पिएचडी गर्न नेपाली पुग्छन् ।

पहिलो पिएचडीहोल्डर को ?
अहिलेसम्म पहिलो पिएचडी गर्ने नेपाली को भन्ने तथ्यांक कसैसँग छैन । पिएचडी एसोसिएसनले सत्य, तथ्य पत्ता लगाउने प्रयास गरे पनि सफल हुन सकेको छैन । एसोसिएसनका अध्यक्ष डा. डिल्लीराज अर्याल सम्बन्धित निकायले सहयोग नगरेका कारण पहिलो पिएचडीहोल्डर पत्ता लगाउन नसकिएको बताउँछन् । उनका अनुसार सम्बन्धित निकायसँग पनि यसको कुनै तथ्यांक छैन । न शिक्षा मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाशाखाले नै यसको तथ्यांक राखेको छ । डा. अर्याल अर्को वर्ष पहिलो पिएचडी होल्डरको नाम सार्वजनिक गर्ने बताउँछन् । भन्छन्, ‘लामो समयसम्म हामीले पहिलो पिएचडी गर्ने नेपाली पत्ता लगाउन सकेनौँ । अब भने नाम सार्वजनिक गर्नेछौँ, त्यसमा कसैले दाबीविरोध गर्नुभयो भने सोहीअनुसार जानेछौँ ।’

के गर्छ पिएचडी एसोसिएसन ?
विश्वभर छरिएर रहेका पिएचडीहोल्डरबीच निकटता कायम गर्न पिएचडी एसोसिएसन गठन भएको हो । यो संस्था गठन भएको ९ वर्ष भयो । संस्थाले विभिन्न समयमा इभेन्ट, रिसर्च, नेटवर्किङ, विचार गोष्ठी, अन्तक्र्रिया गर्छ । कुनै पनि नयाँ इस्युका विषयमा छलफल हुन्छ । हाल संस्थामा नेपाल र विदेशमा रहेका करिब तीन सय नेपाली आबद्ध छन् । एसोसिएसनमा विभिन्न विद्यामा पिएचडी गरेका व्यक्ति आबद्ध रहेकाले यो ज्ञानको भण्डार हो । सो भण्डारलाई अनुसन्धानमूलक कार्यमा प्रयोग गर्ने आफूहरूको प्रयत्न रहेको अध्यक्ष डा. अर्याल बताउँछन् । – नयाँ पत्रिकाबाट

588 total views, 3 views today

तपाईको प्रतिक्रिया