विराटनगरबाट ३६ लाख नगदसहित ४ जना हुण्डीवाला पक्राउ परेका छन्  ।

पक्राउ पर्नेहरुमा विराटनगर–७ का १९ वर्षीय सुदर्शन साह, विराटनगर–११ का २४ वर्षीय निरन्जनकुमार साह, सोराभाग–८ घर भई हाल विराटनगर–६ का ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर–१७ का २८ वर्षीय साकिब आलम रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले विराटनगर–११ स्थित कनैया गुप्ताको घरलाई अड्डा बनाएर कारोबार गर्दै आएका थिए । कनैयाको घरमा बसेका सन्तोषकुमार रौनियारले आफ्नै कोठाबाट  अबैध रूपमा हुन्डीको कारोवार गरिरहेको सूचनाको आधारमा अबैध कारोबार नियन्त्रणका लागि खटिएको  प्रहरीको टोलीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा प्रहरीले उनीहरुको साथबाट ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ नगद, भारतीय एयरटेल कम्पनीको सिम कार्ड १ थान र विभिन्न कागजात बरामद गरेको छ ।

पक्राउ परेको उनीहरुलाई सम्पत्ती शुद्धिकरण अन्तर्गत मुद्दा चल्ने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए ।

प्रहरीले गत मंसिरमा हुण्डी कारोबार गर्ने विराटनगरका व्यापारी अनुपचन्द्र सेठिया सहितको ठूलो गिरोह पक्राउ गरी सार्वजनिक गरेको थियो ।  सो समूहबाट प्रहरीले ८६ लाख नगद बरामद गरेको थियो । सेठिया कारागार चलान भइसकेका छन् ।

मोरङ प्रहरीले गत असोज महिनायता हुण्डी कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरिसकेको छ । मारङ प्रहरीले बिगत ६ महिनायता हुण्डी कारोबारीबाट एक करोड भन्दाबढी बरामद गरिसकेको  छ ।

399 total views, 0 views today

तपाईको प्रतिक्रिया