रामकुमार परियार
अबुधाबी – गैह्र आवसिय नेपाली संघ (एनआरएनए) युएईद्वारा शुक्रबार अबुधाबीमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन् ।
एनआरएनए युएईको पुर्वघोषित जनवरी महिनामा नेपाली लक्षित स्वास्थ सेवा संबन्धी गतिविधि संचालन गर्ने कार्यक्रम अन्तरगत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
एनआरएनएको “स्वास्थ महिना” को रूपमा अगाडि बढाउने कार्यक्रम अनुसार अबुधाबी स्थित नेपाली राजदुतावास परिसरमा संचालित खुल्ला रक्तदान कार्यक्रममा ८० पुरुष र २० महिलाले रक्तदान गरेका हुन ।
एनआरएनए राष्ट्रिय समन्वय समितिको आयोजना तथा अबुधाबी क्षेत्रीय समिती र अबुधाबी नेस्नल ब्लड बैंकसंगको सहकार्यमा संचालित रक्तदान कार्यक्रममा युएईका विभिन्न राज्यमा छरिएर रहेका नेपालीहरु सहभागी भएका थिए ।
विभिन्न पेशा र रोजगारका शिलशिलामा युएईमा रहेका नेपालीहरुको  स्वास्थ समस्याहरुको  पहिचान , निराकरण , परामर्श तथा सहजीकरण सुविधा निशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले एनआरएनएले “स्वास्थ महिना” को अवधारणा ल्याएको एनआरएनए युएईका उपाध्यक्ष निर्मलकुमार पोखरेलले बताए ।

जनवरी २६ मा निशुल्क स्वास्थ शिविर हुँदै

एनआरएनएको “स्वास्थ महिना” कार्यक्रम अन्तरगत आगामी साता (जनवरी २६ तारिख) अबुधाबीको हम्दान स्थित अलअहेलिया अस्पतालमा निशुल्क स्वास्थ शिविर संचालन हुने भएको छ ।
युएईका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ विशेषज्ञहरुको टोलिद्वारा नेपालीहरुलाई निशुल्क रुपमा सेवा दिने स्वास्थ शिविरको लक्ष्य रहेको एनआरएनएले जनाएको छ ।
स्वास्थ शिविरमा पुर्ण शारीरिक परिक्षण , रक्तचाप परिक्षण , मधुमेह लगायत पछिल्लो समय नेपालीहरुले भोग्दै आएका विभिन्न रोग र स्वास्थ समस्याहरुको निशुल्क परिक्षण तथा परामर्श सेवा उपलब्ध हुने एनआरएनएले जानकारी दिएको छ ।
एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले रक्तदान कार्यक्रममा सहयोग पुर्‍याउने संपुर्ण रक्तदाता , नेपाली संघसंस्था , नेपाली राजदुतावास र अबुधाबी नेस्नल ब्लड बैंकलाई धन्यवाद व्यक्त गरेका छन्  । त्यस्तै उनले आगामी शुक्रबार आयोजना हुने निशुल्क स्वास्थ शिविरमा सहभागी भएर लाभ उठाउन युएईमा रहेका संपुर्ण नेपालीहरुलाई आग्रह गरेका छन ।

रक्तदान कार्यक्रमका केहि तस्वीरहरु

 

1,532 total views, 2 views today

तपाईको प्रतिक्रिया