उत्साहबर्धक र शान्तिपूर्ण रुपमा भयो चुनाव

 प्रतिनिधि सभा र प्रदेशसभाको लागि जारी दोस्रो चरणको निर्वाचन  शान्तिपूर्ण रूपमा भइरहेको छ  ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले मध्याह्न १२ बजेसम्म कुनै अप्रिय घटना नभएको र मतदान शान्तिपुर्ण रूपमा भएको जानकारी दिए ।  ललितपुरको जाउलाखेलस्थित एक मतदान केन्द्रको निरीक्षणका क्रममा प्रमुख आयुक्त यादवले पत्रकारलाई त्यस्तो बताएका हुन् ।

४५ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भइरहेका चुनावमा समानुपातिक र प्रत्यक्ष चुनाव प्रणाली अन्तर्गत १० हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।

 

प्रतिनिधि सभाका १ सय २८ र प्रदेश सभाका २ सय ५६ निर्वाचन क्षेत्रमा भइरहेको चुनावमा १ करोड २२ लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ । साँझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने आयोगले बताएको छ।

बिहीवारको मतदान सम्पन्न हुना साथ पहिलो चरणको मतदान भएका ३२ जिल्लामा मतगणना शुरु हुने आयुक्त ईश्वरी पौड्यालले बताए । निर्वाचन आयोगका अनुसार थोरै मतदाता भएका क्षेत्रमा मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको प्रतिनिधि तथा प्रदेश सभाको नतिजा आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *