बालमैत्री विद्यालयको शान

मोहन पौडेल, सुनवल / नवलपरासी जिल्लाको सुनवल नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय शासन घोषणा गर्ने स्थानीय निकाय त हुँदै हो, साथमा त्यहाँका विद्यालयहरू पनि बालमैत्री छन् । ‘सुनवलले घोषणाका लागि मात्र बालमैत्री स्थानीय शासन अवलम्बन गरेको होइन, हाम्रो संस्कार, व्यबहार र सेवाका सबै क्षेत्रलाई बालमैत्री शासन बमोजिम अनुकुलन गर्न यहाँका सबै सेवाप्रदायक निकायहरू लागि परेका छन्’ सुनवल नगरपलिका कार्यलयका बालमैत्री स्थानीय शासन फोकल पर्सन रेशम शर्माले भने– ‘यही मान्यताअनुसार विद्यालयहरू पनि बालमैत्री छन् ।’
त्यसो त विद्यालयहरू आफैमा बालमैत्री संस्था हुन् । बालमैत्री व्यबहार, सिकाई तथा संरचनाहरू बालमैत्री भएनन् भने विद्यालयको उदेश्य पुरा हुन सक्दैन । सुनवलस्थित भगवती माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमलाल जोशी शर्मा भन्छन् ‘यसैकारण पनि हामी आफैले बालमैत्री विद्यालयको अवधारणालाई शैक्षिक क्रियाकलापको एक अभिन्न अंगका रुपमा अगाडि सारेका हौँ ।’
‘विद्यालयको नीति निर्माण, योजना तर्जुमा, कार्यन्वयन र मूल्यांकनमा समेत बालबालिका, अभिभावक र समुदायलाई सहभागि गराउनु नै बालमैत्री विद्यालयको बिशेषता हो’ प्रधानाध्यापक जोशीले थपे ‘यसै बमोजिम नै भगवती माविले विद्यालय सुधार योजना अन्तर्गत विद्यालयलाई बालमैत्री बनाउने योजना बनाएको थियो, सुनवल नगरपालिकाले पनि स्थानीय स्वायत्त शासन अन्तर्गत नगरलाई बालमैत्री बनाउने लक्ष्य अगाडि ल्याएपछि हाम्रो चाहना र लक्ष्य मिल्यो । अहिले यहाँका विद्यालयहरू बालमैत्री बनेका छन्् र समग्र नगरपालिका बालमैत्री निकाय घोषित भएको अवस्था छ ।’
‘हाम्रा विद्यालयहरूमा दण्डरहित शिक्षा कार्यन्वयनमा रहेको छ । सुनवलकै अर्को सामुदायिक विद्यालय प्रगति माध्यामिक विद्यालयका प्रधानाध्यापक चन्द्र किशोर यादव भन्छन् ‘विद्यालयमा बाल क्लब सक्रिय छन् । उनीहरूको सहभागिता हरेक निर्णय प्रक्रियामा हुने गरेको छ ।, विद्यालय व्यबस्थापन समितिमा जिल्ला शिक्षा कार्यलयको परिपत्रअनुसार बालबालिकाको प्रतिनिधि गराइने गरिएको छ । यसबाहेक अभिभावक भेला तथा शिक्षक बैठकमा समेत बाल प्रतिनिधि राख्ने प्रचलन बसालेका छौ ।’
सुनवल नगरपालिका २०७१ जेठमा बालमैत्री स्थानीय शासन नगरपालिकाका रुपमा घोषणा भएको नेपालको पहिलो र एक मात्र नगरपालिका हो । कुनै पनि स्थानीय निकाय बालमैत्री स्थानीय निकायका रुपमा घोषित हुन सेवासम्बन्धी २७ वटा सूचक र संस्थागत १२ सूचक पुरा गरेको हुनु पर्दछ । यसमध्ये बाल विकाससँग सम्बन्धित १३ वटा सूचक शिक्षासँग प्रत्यक्ष सम्बन्धित छन् ।
‘स्थानीय निकायसँग समन्वय गरेर सबै शिक्षालयलाई बालमैत्री बनाउन जिल्ला शिक्षा कार्यलयले लिखित निर्देशन नै दिएको छ ।’ जिल्ला शिक्षा कार्यलयका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले बताए– ‘बालमैत्री घोषाणा भएपछि त्यसको दीगोपन र निरन्तरताका लागि पनि शैक्षिक संस्थाहरू सचेत छन् ।’
लम्सालको दाबीअनुसार सुनवल नगरपालिकाका विद्यालयलाई बालमैत्री बनाउन र स्थानीय निकाय बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालय, स्रोत केन्द्र र स्थानीय निकायसँगको समन्वय र सहकार्य, अभिभावक र समुदायको चेतनाले मुख्य काम गरेको छ । विद्यालयलाई समुदायले अपनत्वका रुपमा ग्रहण गरेपछि विद्यालयलाई सुधार गर्न गाह्रो पर्दैन । उनको भनाई थियो, ‘बालमैत्री विद्यालय बन्न थप लगानी नै गर्न पर्दैन । भएकै पूर्वाधारमा सुधार गरे पुग्छ ।’
बालमैत्री स्थानीय निकायका लागि शिक्षासँग समबन्धित काम कठीन नभएको प्रसंग उठान गर्दै विद्यालय व्यबस्थापन समिति र शिक्षकको सामुहिक प्रयासबाट बालबालिकाको शैक्षिक अधिकार स्थापित गर्न सकिने सहायक जिल्ला शिक्षा अधिकार लम्सालको भनाई थियो ।
सुनवलमा २६ वटा सरकारी र १४ वटा निजी विद्यालय र क्याम्पस छन् । सुनवल नगरपालिकाको तथ्यांकअनुसार प्राथामिक तहमाबाहेक सबै विद्यालयमा बालक्लब गठन भएको छ भने सबै विद्यालयमा बालमैत्री धारासहितको खानेपानीको सुविधा, छात्र तथा छात्राको बेग्लाबेग्लै शौचालय, कक्षा कोठा, फर्निचर र खेलमैदानको व्यबस्था छ । यसै गरी एक सामुदायिकसहित सबै विद्यालयमा बाल विकास केन्द्र खोलिएका छन् । बाल विकास केन्द्रका सबै फर्निचर बालमैत्री छन् ।
विद्यालयमा गठन भएको बाल क्लबको सहयोगमा शैक्षिक सत्रको सुरुवातमा भर्ना अभियान गरिने त्यहाँका स्थानीय अभिभावक संघमा रहेका विन बहादुर बुढाथोकीले बताए । ‘विद्यालय बाहिर बालबालिका नहुन् भनेर बालबालिका र अभिभावक र शिक्षक मिलेरै घरदैलो गर्ने गरिएको छ ।’ उनले भने –‘पहिला पहिला विद्यालय खोलेपछि पढ्न आफै आउँछन्, नआए पनि कसैलाई वास्ता गर्दैनथे, अब विद्यालयबाहिर बालबालिका हुनु हुन्न भन्ने मान्यता स्थापित भएको छ । यो बालमैत्री स्थानीय शासनको नै देन हो ।’
सुनवलका सबै विद्यालयमा दण्डरहित शिक्षा प्रणाली लागू गरिएको भगवती माविका प्रअ शर्माले बताए । ‘बालमैत्री विद्यालय डण्डरहित शिक्षण प्रक्रिया हो भन्ने सन्देश पनि हामीले दिएका छौँ । बालमैत्री विद्यालयका विद्यार्थी चकचके हुँदैनन् । बालमैत्री विद्यालयका विद्यार्थीहरू सहयोगी र व्यबहारिक हुन्छन् । हरेक क्रियाकलापमा आपसी छलफल र अन्तरक्रियामा सहभागी भएर आत्मसम्मान र आत्मबल बलियो हुन्छ । यो बालबालिकामा जन्मजात सीप नभएर बालमैत्री विद्यालयको गतिविधि र शिक्षण प्रक्रियाबाट विद्यार्थीमा विकास हुने गुण हो भन्ने हाम्रो ठम्याई छ ।’
‘विद्यालय बालमैत्री बनाउन बाल अधिकारका चार खम्बा घोकाएर मात्र हुँदैन । अधिकारमा आधारित उपागमलाई कार्यन्वयन गर्न उनीहरूको रोजाईलाई सुन्न सक्ने शिक्षाकर्मी पनि हुनु पर्छ ।’ भगवती माविकै शिक्षिका रामलक्ष्मी पौडेलले बताइन्– ‘बालमैत्री विद्यालयको अवधारणाअनुसार शिक्षण प्रक्रियाले विद्यार्थीको शारिरीक मानसिक र संवेगात्मक पक्ष सुरक्षित भएको हाम्रो अनुभव छ ।’
विद्यालयले विद्यार्थीको कुरा सुनुवाई गरेकोमा सुनवलका विद्यार्थीहरूमा पनि आत्म विश्वास उच्च रहेको पाइएको त्यस क्षेत्रमा बालमैत्री स्थानीय शासनसम्बन्धी अनुसन्धान गरिरहेको मीरेष्ट नेपालका अध्यक्ष सुरेश आचार्यले बताए । ‘हाम्रो अध्ययनले बालमैत्री शासनले विद्यालयमा सकारात्मक प्रभाव परेको निचोड निकालेको छ’ उनले भने ।
‘बालमैत्री शासन घोषाणा भएपछि विद्यालयमा पढाउने शिक्षकको व्यबहार फरक भएको पाईयो’ स्थानीय विद्यालय व्यबस्थापन समितिका अध्यक्ष आइतबीर ंिसह सिंजालीले बताए ‘यहाँका शिक्षकहरू विद्यार्थीलाई समान माया गरेर विद्यार्थीकै क्षमता, चाहनाका आधारमा शिक्षण गर्छन् अन्यत्र त्यस्तो पाइदैन’ उनले बताए ।
सुनवलका विद्यालयहरूले अभिभावक, शिक्षक र विद्यार्थीका लागि उनीहरूकै बीचबाट आचारसंहिता पनि जारी गरेको छ । ‘यसले गर्दा पनि कसको के भूमिका हो भन्ने कुरा स्पष्ट हुन्छ’ सुनवल निम्न माध्यामिक विद्यालयका शिक्षक चित्रबहादुर गुरुङले बताए । अचारसंहितामा बालबालिका, अभिभावक र शिक्षकले पालना गर्नु पर्ने मुख्य बिषय समेटिएको छ । यस्तो आचारसंहिता सरकारवालाहरूको अर्थपूर्ण उपस्थितिमा उनीहरूबाट नै जारी भएको हो ।
भगवती बाल क्लबका अध्यक्ष जीवन खनालले ‘आफ्नो विद्यालयमा अतरिक्त क्रियाकलाप नियमित हुने गरेको र विद्यालय सञ्चालक समितिको बैठकमा बालक र बालिकालाई प्रतिनिधित्व गराएको’ बताए । विद्यालयले छात्राको समस्यालाई ध्यान दिएर सेनेटरी प्याड पनि निःशुल्क बितरण गर्ने गरेको उनले सुनाए । यसबाट छात्राको शिक्षामा सुधार भएको त्यस विद्यालयकी शिक्षक तारा शर्माको दाबी थियो ।
जे होस, स्थानीय निकाय मात्र होइन स्थानीय शिक्षण संस्था पनि बालमैत्री बनाएमा समग्र पक्षलाई सहयोग हुन सक्ने सुनवल नगरपालिकाको अवस्थाबाट प्रष्ट हुन्छ ।
—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *