चर्चित दिलदुखी जन्तरेदेखि गुमनाम पेषल माबुहाङसम्म

सञ्जय तुम्बाहाङफे (लेखक)

             उतिबेलाको तेह्रथुम मुसाङ्खेल ,यतिबेलाको लालिगुरांस नगरपालिका माबुहाङहरुको उदगम थलो । सामाजिक राजनैतिक  बिश्लेषक बालकृष्ण माबुहाङ देखी लिम्बु मुन्धुमबिद अर्जुन माबुहाङ सम्मको बौद्धिक ब्याक्तित्वहरुको जन्म पनि यहि थलोमा भएको हो र त्यहिं जन्मेका हुन कबि दिलदुखी जन्तरे ।

 जन्तरेको नागरिकताको नाम पेषल माबुहाङ हो। पेषल दिलदुखी माबुहाङ हुंदै पछि दिलदुखी जन्तरे हुन पुगे । भाई  मध्येमा उनी जन्तरे नै हुन । उनीदेखि मुनिका कान्छा भाई गजलकार सन्तोस माबुहाङ हुन् । दिलदुखी जन्तरे यो साहित्यिक उपनाम झुन्ड्याउने होडमा कसोकसो उ पनि मिसिन पुगेका थिए। यो उपनाम लेखेर कुनै रचना गर्दा त्यो सिर्जना राम्रो हुने उनको  बिस्वास छ। दिलदुखी जन्तरे नामले साहित्यमा उनी जतिपनि जताततै सुपरिचित छन् । पेषल माबुहाङ भनेर कम्तिले मात्र चिनिन्छ।

   एकपल्ट के भएछ भने जन्तरे र अन्य साथिहरुले संयुक्त गिति यलबम निकाल्ने भएछन। रेकर्डिङको लागी गित संकलन हुंदै गर्दा नाम लिस्टमा स्वर – आनन्द कार्की संगित – शक्ती बल्लभ रचना- पेषल माबुहाङ देखेपछि एकजना नजिकका साथिले जन्तरे लाई नै सोध्न पुगेछन -” हैन यो पेषल माबुहाङ को रहेछ ?” यो सुनेपछि जन्तरेलाई हांसो पनिउठेछ चिन्ता पनि लागेछ। जन्तरे अलिकति चिन्तित हुंदै बताउंछन-” नामचैं गुमाएको जस्तो अनुभव  भयो” तर अब दिलदुखी जन्तरेका साथसाथमा आफ्नै सुनाम पेषल माबुहाङ लाई नि निरन्तरता दिने सोच छ ।

प्रबासी लेखन र पालामको राजकुमारी 
नेपालमा एक समय त्यो समय पनि  थियो कि चारपाँच पन्ने साहित्यिक पत्रीकाहरु महीना महिनामा खुब निस्कन्थे। त्यसलाई हवाई पत्रीका भनेर भनिन्थ्यो। रु  २५ हुलाक मार्फत पत्रीकालाई पठाए बापत एकबर्ष सम्म  पत्रीका हुलाक मार्फत नै आफ्नो ठेगानमा आईपुग्थ्यो र बसिबसी आफ्नै घरमा पढ्न पाईन्थ्यो। जन्तरेले प्रारम्भमा तिनै काम गरे । जन्तरे द्वारा सम्पादित साहित्यिक हवाई पत्रीका सोल्टिनी मैले पनि निक्कै समय सम्म पढ्ने अबसर पाएको हुं। यो मानेमा पनि जन्तरेले नेपालमा रहंदाखेरी साहित्यिक पत्रकारिता देखी साहित्यिक लेखन कार्य थालनी गरेको हो भन्ने मेरो ठम्याइ हो।
त्यसपछि केहि आर्थिकको कारण वैदेशिक रोजगारी लाई अंगाल्दै जन्तरे मलेसिया पुगे । अहिले सम्मपनि उतै  छन। मलेसियामा साहित्यिक अग्रनाम हो दिलदुखी जन्तरे। मलेसियामा हुने जुनसुकै साहित्यिक कार्यक्रम हरुमा प्रमुख अतिथि र अतिथिमा जन्तरेको मोटो शरीर कुदेकै हुनेछ उपस्तिथत भएकै हुनेछ र सबैले मलेसियामा अग्रजको रुपमा लिने गरिएको नाम पनि दिलदुखी जन्तरे नै हो।
प्रबासमा रहेर पनि जन्तरे साहित्यिक कार्यदेखी भने कहिल्यै अलग हुन सकेनन् । सुरुमा गित र गजल उधुम लेखेपनि पछिल्लो समय भने कबिता लेखनलाई उनले गहिरो तरिकाले समाए। त्यसकै फलस्वरूप हालसालै जन्तरेको कबिता कृती पालामको राजकुमारी प्रकाशन भएको छ । कृतिको मलेसियामा र नेपालमा बिमोचन कार्य पनि  सम्पन्न भएको छ। कृतीभित्र निक्कै राम्रा कबिताहरु संग्रहित छन।
विशेष कबितामा जन्तरेलाई मैले एउटा पहिचान अभियान्ता एउटा मौलिक संस्कृति अभियान्ताको रुपमा लिएको छु, यसरी लिन सकिन्छ पनि।स्वदेश देखी प्रबास सम्मको आगत बिगत र  सर्बपरिघटना हरुको काब्य संग्रह पालामको राजकुमारी जन्तरेको प्रबास बसाईको क्रममा भएको काब्यप्रगतिको प्रतिरुप हो।
बहसदेखि फेसबुक ह्याक सम्म
जन्तरेलाई केहि साथिहरुले बडो अफ्ठ्यारो स्वाभाबका मान्छे हो भनेर पनि भन्ने गर्छन् ।बास्तबमा जन्तरे छन् पनि  त्यस्तै  प्रवृत्तिका । गलत र चित्ता नबुझेको कुरोमा जन्तरे एक ईन्च पनि पछाडी सर्दैनन् ।जन्तरे हक्की छन् निडर छन्  । मुखमा राम राम भनेर बगलीमा छुरा राख्दैनन् ।जन्तरेको औधी मनपरेको पक्ष नै मलाई यंहि हो यंही पक्षले म जन्तरे संग नजिक छु ।
एकपटक किरांत धर्म र मौलिक युमा साम्यो बिचको सामाजिक सन्जालमा ब्यापक बहस हुंदाखेरी जन्तरेले किरांत धर्मसंगको आफ्नो असन्तुष्टिहरु एकाएक लेख्दै जांदा यतिसम्म लेख्न पुगेछन् कि किरांत धर्मवलम्बीहरुलाई त्यो कुरा मन नपरेर जन्तरेको फेसबुक नै ह्याक गरिदिएछन् । त्यसपछि चैं जन्तरेलाई पर्नु पिर परेछ। दिनमा भोक रातमा निद हराम भएछ। कारण सालभरमा लेखेका एकसय ज्यादा गितहरु त्यै फेसबुकमा रहेछन् । अनित उसलाई पिर नपर्ने कुरै भएन।
अभाव र निद उडाउने भोक 
भनिन्छ कबि लेखकहरुको जीवन अभाबले झेलिएको छ। कार्यक्रम गोष्ठी प्रकाशनले उनीहरुको सबै श्रीसम्पती सखाप बनाई सकेको हुन्छ। यो यथार्थसंग जन्तरे पनि त्यती टाढा रहन सकेनन् ।
त्यसपटक जन्तरेले आफ्नो खल्तिमा बल्लैले चालिस रिंगेट जतिमात्र सुरक्षीत राखेका थिएछन् ।त्यसैबेला आई दियो कार्यक्रमबाट निमन्त्रणा पत्र।कार्यक्रम स्थल पुग्न मात्र उनले दुई तिन पटक जति सवारी साधनको हेरफेर गर्नुपर्दो रहेछ। कार्यक्रममा जांदा र आउंदा लगभग पकेटमा दश रिंगेटभन्दा ज्यादा बचेन छ। कम्पनिमा हप्तामा पचास रिंगेट भन्दा ज्यादा एडभान्स दिने नियम थिएन रहेछ।हप्ता बित्नु केहि दिन रहेछ बांकी नै। बचेको बांकी दश रिंगेटपनि एकदुई दिनमै चट भएपछि उनलाइ अब अभावले बेस्सरी चिथोर्न थालेछ । उनले एउटा निर्णय गरेछन् , यो सोचेछन्  की पेटमा लागेको भोकलाई आंखाको निदले पराजय गर्छु तर भईदियो उल्टो।
जन्तरेले आफ्नो दुखद भोगाईलाई लामो हांसोमा ब्यक्त गर्छन -” भोक भनेको निन्द्रा भन्दा नि ठुलो रहेछ। मलाई पहिलो पटक अनुभव भयो भोक लागेपछि मान्छेलाई निन्द्रा नलाग्दो रहेछ” ओछ्यानमा पल्टिएर धेरैबेर निदाउने अभ्यास गरेपनि जति जति भोकको क्षेत्रफल बढ्दै गयो उति उति उनको निन्द्रा झन झन् भाग्दै जांदो रहेछ।जन्तरेको कोठा नजिक एक म्यानमार नागरिकको कोठा रहेछ । उनको एक मनले सोचेछ यो मान्छे लाई केहि रुपैंया सापटी मागुं । फेरि अर्को मनले सोचेछ यिनले मलाई कुन आधारले देलान् त ?
कुनै दोस्रो बिकल्प नभएपछि अन्तत जन्तरे त्यै म्यानमार नागारिक कहा पुगेछन् । दिलदार रहेछन् ति नागरिक थमाई दिएछन् दश रिंगेट । जन्तरे लाई लागेछ त्योबेला भगवान भनेको त यस्तो पो हुन्छ।दश रिंगेट हातमा लिएर जन्तरे हतार हतार होटेल गएर पेट भरेछन र आनन्दले निदाएछन।
जीवन संगिनिको अनुत्तरित प्रश्न 
एकपटक भाई सन्तोषसंग एकैसाथ जन्तरे छुटिमा घर पुगेका थिए। त्यंहानेर पनि उहिं अभावको परिस्थिति फेरि दोहोरियो। आफुसंगै मलेसियामा संगै बसेका भाईको स्थिती आफुभन्दा निक्कै फरक थियो। चट्टको सुडकेस निक्कै महंगो कम्पनिको मोबाईल सेट, क्यामारा सेट तर जन्तरे संग त्यो सब थिएन । उहिं पुरानो मोबाईल, उहिं पुरानो झोला, उहिं पुरानै स्थानको पेसल माबुहाङ।
” संगै बसेको बराबर तलब भएको भाईको स्थिति त्यो छ। तपाईंको भने कसरी यस्तो हुनपुग्यो ? ” यो सब देखेपछी त्यो सांझ जीवन संगिनीले एकाएक यस्तो प्रश्न गर्न पुग्दा जन्तरे खिन्न पनि भएका थिए ।

जन्तरेको दिल पगाल्ने प्रेमपत्र 

जीवन  संगिनिको यो प्रश्नले अनुत्तरित  मात्र हैन जन्तरेलाई भित्रसम्म नराम्ररी छोएको थियो। घरका कुनै देशमा छन भने त्यो घरको सम्पुर्ण शदस्यहरु उमाथी हरेक तवरले बिस्वस्त हुनु स्वाभाविक हो।जन्तरे माथिपनी आफ्नो परिवार बिस्वस्त हुनु नौलोकुरा हैन। जन्तरेले केहि पैसा कमाउनेछ त्यो पैसाले घरको आवश्यकताहरु लाई परिपुर्ति गरिनेछ।बालबच्चाहरु लाई सुबिधा जनक तवरले पढाईनेछ ।

चाडपर्वहरु पहिलाको जसरी साहुलाई नमस्कार नगरी आफ्नै खल्तिको पैसाले मनाईनेछ ।र केहिपैसाको राम्रो जोहो भईगए सुबिधा जनक बजारछेउ घरघडेरी खरिद गरिनेछ ।अरु ब्याक्तिहरुले जसरी सोचाइ र सपनाहरु बुन्छन त्यसरिनै जन्तरेको परिवारले पनि केहि सपनाहरु केहि सोचाईहरु बुनेकैछन।मुख्यकुरोत तलब भनेजसरी चाहे जसरी पाईन्न तलब भन्दा आवश्यकताहरु दोब्बर भईरहंदा त्यत्रो समस्यको बाबजुद पनि कबि दिलदुखी जन्तरे हरुले कसरि नेपाली साहित्यलाई बिदेशमा हांकी रहेका होलान यो  सोचनिय बिसयहो।
थाङबेन जन्तरे र  प्रेमपत्र 
थाङबेनमा (बैंश) जन्तरेको चकचकी लिम्बुवानको परम्परा संस्कार र संस्कृतिमा बडो रमाइलो पुर्बक बित्यो। हाटबजार मेलामा धाननाच गाउंघरमा च्याब्रुङ नाच यि सबैसबैमा जन्तरेले बैंशका कलात्मक रंगहरु पोतेरै आएकाहुन।आफ्नो मौलिक संस्कार संस्कृतिमा जन्तरेको बिछट्टै लगाब रहेकोछ।थाङबेन रहर बोकेर कुनै तरेमाको (युबती) सुपरहिट सम्झनामा कल्पिंदै जन्तरे राकेंमेला खोरण्डे मेला त्रीसाली मेला तातोपानी मेला चतुरे मेला कुनैपनी मेला छुटाएनन।तेह्रथुम मुसाङखेलको गल्लिगल्ली हरुमा अझैपनी आलैहोलान जन्तरेले पकन्दी खेल्दै उफ्री हिडेको कुदि हिडेको पाईला हरुका भुतपुर्व डोबहरु।योबिचमा जन्तरे को एक तरेमासंग प्रेमबस्न मात्र खोजेको थिएछ तर त्योप्रेममा याङ (पैसा) भिलेन बनेर भईदिएछ खडा।त्यसदिन देखी जन्तरेले प्रेमलाई पुर्ण बिस्वास गर्ननै छाडेछन त्यसपछि उनले गितनै लेख्न पुगे –
फुल टिपि उडाइ लाने लाहुरे भमरा
हेर्‍या हेर्‍यै भए म त चाउरे भमरा
त्यसपछि परिवारको हुकुम मुताबिक जन्तरेको मागी बिबाह भयो परिवार र आफन्तलेनै हेरिदिएको केटिसंग।बिहेत भयो तर जिबनसंगिनीको केहि असन्तुष्ट  र उदास चेहेराले जन्तरे लाई फेरि पिरोल्न थाल्यो।अतित सम्झंदै जन्तरे बताउँछन-“सायद उनिलाई आफन्त र घरपरिवारको करकाप थियो।आफन्त र घरपरिवारको लागी मात्र त्यो बिहे गर्न उनि राजी भएकी थिईन होला”।
त्यसबेला जिबनसंगिनी ले एस एल सि को तयारी गर्दै थिईन भने जन्तरे उच्च शिक्षाको लागी क्याम्पस भर्ना भईसकेका थिए।त्यसपछि जन्तरे र उनकी जिबनसंगिनी बिच केहि समय छुटिनु पर्ने बाध्यता आईपर्यो।जन्तरे आफ्नो उच्च शिक्षालाई निरन्तरता दिन धनकुटा झर्नुपर्ने भयो भने जिबन संगिनिले एस एल सिको तयारिको लागी समय छुटाउनु पर्नेभयो।क्याम्पस जिबनको त्यो रमाइलो बाताबरणमा पनि जन्तरेको मन र दिमाग भने आफ्नो नब जिबन संगिनीको यादमै मात्र एकाग्रता भईरह्यो ।

त्यतिबेला गाउंमा फोनको सुबिधा हुने कुरैभएन। एउटै मात्र माध्यम थियो हुलाक र चिट्ठी।जन्तरेले अब जिबन संगिनिको यादमा क्याम्पस बाटै लेख्न थाले थाकका थाक प्रेमिल चिट्ठी। पहिल्यै देखी साहित्यमा गहिरो चासो र अध्यन भएकोले चिट्ठी लेख्नमा उसै माहिर थिए जन्तरे।चिठीले सांच्चै चमत्कारनै गरेछ।असन्तुष्ट र उदास चेहेरा लिएकी जिबन संगिनिले एकाएक क्याम्पसकै ठेगानामा जन्तरेले जसरिनै प्रेमिल चिट्ठी लेखेर धमाधम पठाउन थालेछिन।त्यसपछि पत्रबाटै हुनथालेछ घमासन प्रेम।मिठो मुस्कानका साथ जन्तरे दिलको कुरा खोल्छन-” त्यसपछि उनिले मलाई यति माया गर्छिनकी आज सम्मपनी उनिलेनै ज्यादा माया गरिरहेकी छिन”।

जन्तरे
कबि स्वाप्निल स्मृतिको यादगर डाईलग
कलेज टाईममा जन्तरेको भेट कवि स्वाप्निल स्मृति संग हुनपुगेको थियो। स्वाप्निल पांचथर बाट जन्तरे तेह्रथुम बाट उनिहरुको स्वाणिम भेट धनकुटा बहुमुखी क्याम्पसमा भएको थियो। स्वाप्निलको स्वाभाव उतिबेला देखिनै बडो उदेकको रहेछ।कहिले रिसाएर सनक्कै सन्किहाल्ने कहिले मजाक गरेर  हंसाएर उधुमै पार्ने।त्यसताका स्वाप्निलले कबिता लेख्न भर्खर थालेका मात्र रहेछन।उतिबेला कबि स्वाप्निल लाई गजल संरचनाको बारेपनी केहि ज्ञान रहेछ।गजल लेख्न पहिलो पटक जन्तरे लाई उनै कबिले सिकाएका रहेछन त्यसैले जन्तरे स्वाप्निल लाई गजल लेखनको पहिलो गुरु मान्दा रहेछन। जन्तरे कबि स्वाप्निल स्मृति लाई अहिले का कविताको चम्किलो तारा मन्दछन। नेपाली कबिताहरुको थाकमा जन्तरे लाई ज्यादा भन्दा ज्यादा मनपर्ने कविता हरुमा पनि स्वाप्निलका कविताहरुनै पर्छन। एक पटक केभई दिएछ भने स्वाप्निलले चलचित्र हेर्न पुगेछ्न चर्चित खलनायक सुनिल थापाको डाइलगले मन छोएछ उनको। सुनिल थापाले बोलेको डाईलग “देशभक्त हो मेरो नाम” ले स्वाप्निललाई बेस्सरी छोएछ त्यसपछि स्वाप्निलको जिब्रोमै झुन्डिन पुगेछ त्यो डाईलग।अबत बस्दा हिड्दा रमाईलो गर्दा स्वाप्निलको जिब्रोबाट त्यंही  डाईलग मात्र निस्कन थालेछ – “देशभक्तहो मेरो नाम,कि मार्छु कि मर्छु ” बिचमा जन्तरे र स्वाप्निलको सम्पर्क निक्कै लामो समयसम्म हुन सकेन । उतिबेला कहिलेकाही उक्त डाईलग कंहिकतै सुन्दाखेरी भने जन्तरेलाई स्वाप्निलको यादले झकझक्याउने गर्दो रहेछ। त्यो डाइलग स्वाप्निलले किन बोले भनेर धेरै पछि मात्र जन्तरेलाई भने थाहा भएछ।
मुटुसंगै जलेको स्वाप्निलको कबिता 
एकदिन अचानक स्वाप्निल स्मृति गुमनाम हुनपुगे।कंहा गए कता गए किन गए कसरी गए ? कसैलाई अत्तोपत्तो सुईंको समेत भएन।नजिकका साथी जन्तरे लाई त थाहा हुनुपर्ने हो तर जन्तरेलाई समेत सुईंको भएन।कंहा गएका हुन स्वाप्निल आखिर ?जन्तरेलाई निक्कैदिन पिरलो लाग्यो। धेरै पछिएकदिन अचानक जनदिशा पत्रीकामा स्वाप्निलको कडा क्रान्तिकारी कबिता छापिएर आयो।कबिता पत्रीकामा देख्नु र स्वाप्निल लाई भेट्नु जन्तरेको लागी एउटै भएछ।त्यसपछि चैं जन्तरेलाई बल्ल सुईंको परेछ गुमनाम परेको साथीत देश बदल्ने माहान यात्रामा लागेका रहेछन।
जन्तरे भन्छन-” उस बखत स्वाप्निलले मलाई यो यात्रामा लागौं भनेको भए सायद उसको कुरा मैले नकार्न सक्दिन थें होला र यतिबेला सम्म कि त मरिसकेको हुन्थे कित काठमाडौमा बसेर कबितामा भौतारि रहेको हुन्थे ” त्यसपछि स्वाप्निलको कबिताले जन्तरेलाई भित्रैसम्म छुंदै गयो। स्वाप्निलका जुनसुकै कबिता पनि खास लाग्न थाले।त्यतिबेला बन्देज गरिएका क्रान्तिकारी पत्रीकाहरुमा जन्तरेले निकै जोखिमका साथ स्वाप्निलका कबिताहरु पढ्नुपर्यो। द्वन्द्वकालको त्यो समयमा यस्तोपनी भईदियोकी क्याम्पस पढ्ने बिद्यार्थीहरु माथी सरकारी सुरक्षा निकायको बढी निगरानी हुन्थ्यो।त्यसैले बिद्यार्थीहरु माथी ज्यादै खानतलासी हुन्थ्यो पनि।साथै घरघरमा कोठाकोठा मा डेराडेरामा खानतलासी गर्ने भन्ने हल्ला चल्यो त्योबेला ।क्रान्तिकारी नामको एकटुक्रा कगजमात्र फेलापर्यो भनेपनी अनेक सास्तिको झमेला बेहोर्नु पर्थ्यो ।
जन्तरेको हकमा पनि त्यो नहुने कुरानै भएन। स्वाप्निलको कबिता पढ्दापढ्दै कोठामा क्रान्तिकारी पत्रीकाको निक्कै ठुलो चाङ लागेको रहेछ।जन्तरेलाई धर्मसंकट आईपर्यो लुकाएर राखौं फेला पारि गए दशदुनिया झमेला उठाउनु पर्ने च्यातचुत पारेर जलाउं आफुलाई मनपर्ने आफ्नै साथीको कबिता आफुबाट सर्बनास भएर जाने।जन्तरेको मनमा निक्कैदिन ढ्यांग्रो बजिरह्यो।अन्तत एकदिन कस्सिलो मुटु बनाएर भाइ सन्तोष सँग ति सबैका सबै पत्रीकाहरु जलाउने निधो गरे ।सबैभन्दा दुख त त्योबेला लाग्यो जंहा स्वाप्निलको एकसे एक राम्रा कबिताहरु खरानी हुंदै थिए ।जस्तोकी आफ्नै मुटु त्यो आगो संगै जलिरहेछ दनदनी।
जन्तरेको अबको बांकी लेखन बाटो 
जन्तरे कहिलेकाही गम्भिर भएर सोच्दा रहेछन कि मेरो भाषामा मौलिक साहित्य पनिछ।मेरोभाषा र लिपिमा पनी कामगर्न बांकीछ।त्यसोर मैले मेरो भाषामा मेरो मौलिक साहित्य लेख्नु पर्छ।नेपालि खसभाषाले मात्र नेपाली साहित्यको सर्बदन हुन नसक्ने जन्तरेको ठहरछ।पालामको राजकुमारीको मैझारो पश्चात लगतै जन्तरे यतिबेला पुस्तकहरु मा लिखित मुन्धुमको अध्यनमा घोत्लिरहेका छन।जन्तरेको अर्को चासो मौलिक मुन्धुम र मुन्धुम साहित्य पनि हो । मुन्धुम साहित्यलाई नेपाली साहित्यको बृत्तमा सशक्त उभ्याउनुपर्ने जन्तरेको जिकिर छ। उसोत युमासाम्यो अभियान्ता सेवालुङ, भिमसेन लिङदम,बिरेन जबेगु हरुसंग मुन्धुम ग्रुपक्रेट गरि सामाजिक सन्जालमा मौलिकता र मुन्धुमको बारे जन्तरेहरुले राम्रो कार्य गर्दै आईरहेका पनि छन । उसो त जन्तरेले नियात्रा र आख्यानको खाका पनि तयार बनाई सकेका छन । तर जन्तरे बताउंछन-” अबको जिम्मेवारी भनेको आफ्नै भाषामा मौलिक साहित्यको लागी केहि गर्ने रहेको छ।”  – संयन्त्र मासिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *