मेची राजमार्गको विकल्प बन्दैछ तमोर कोरिडोर

खविन लुइटेल, पाँचथर । तमोर कोरिडोर मेची राजमार्गको वैकल्पिक सडकको रूपमा देखिएको छ ।

ताप्लेजुङ र पाँचथरका यात्रुबीच तमोर कोरिडोर नयाँ विकल्पको रूपमा लोकप्रिय बन्न थालेको हो । ‘पाँचथरको यासोकबाट धरान जान मेची राजमार्ग हुँदै जाँदा झापा पुग्न मात्रै ६ घण्टा लाग्छ, तर तमोर कोरिडोरबाट ५ घण्टामै धरान पुग्न सकिन्छ,’ यासोकका व्यवसायी गोपाल पोखरेलले बताए ।

उनका अनुसार धरानबाट यासोकसम्म तमोर कोरिडोर हुँदै साना जीपहरुसमेत दैनिक सञ्चालन भइरहेका छन् । यासोक, मौवा, आङ्ना, हाङ्गुम, ओलनेलगायतका पाँचथरका क्षेत्र तथा ताप्लेजुङ तथा तेह्रथुमका केही भू–भागका यात्रुसमेत मधेश झर्न तमोर कोरिडोरको प्रयोग गर्न थालेको बताउँछन् ।

हाल निर्माणको चरणमा रहेको तमोर कोरिडोरमा सप्तकोशीको मुख्य सहायक नदी तमोरको किनारैकिनार धनकुटाको मूलघाटसम्म पुग्न सकिन्छ । मूलघाटबाट भेडेटार पुग्न १५ मिनेट र त्यहाँबाट धरान पुग्न २० मिनेट लाग्ने भएकोले मेची पहाडका केही क्षेत्रका बासिन्दाको मुख्य बजारसमेत फेरिएको छ । झापाको विर्तामोड मात्रै मुख्य बजार रहेको यस क्षेत्रका स्थानीयलाई अहिले तमोर कोरिडोरले धरान र धनकुटासँग नजिक बनाइदिएको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होम थापाले बताए ।

फाष्ट ट्र्याकको रूपमा तमोरको किनारैकिनार निर्माण भइरहेको प्रस्तावित ‘तमोर कोरिडोर’ सडकमा पाँचथरको मौवादेखि गाडी गुड्न थालेको छ । उक्त क्षेत्रबाट यसपल्टको स्थानीय चुनावमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेका सुरेन्द्रकुमार दाहालले सरकारले सुख्खाग्रष्त क्षेत्र घोषणा गरेका पाँचथरका विभिन्न भू–भागको भविष्य रहेको बताउँछन् ।

तमोर कोरिडोर पूर्णरूपमा निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा यसबाट ताप्लेजुङ, पाँचथर र तेह्रथुमको कृषि, पर्यटन, व्यापार, उद्योगलगायतका विकासमा ठूलो टेवा पुग्नेछ । ताप्लेजुङको फुङ्लिङ, पाँचथरको फिदिम र तेह्रथुमको म्याङलुङ सदरमुकामहरू पूर्वका ठूला व्यापारिक बजार धरान र विराटनगरसँग छोटो दूरीमै जोडिन पाउँदा यसबाट तीनै जिल्लालाई धेरै फाइदा पुग्ने देखिएको छ ।

तमोर कोरिडोरको दूरी फुङ्लिङदेखि धनकुटाको कोशी राजमार्ग छुने मूलघाटसम्मको १ सय २९ किलोमिटर मात्र रहेको छ । अहिले फुङ्लिङबाट धरान गाडीमार्फत पुग्न महेन्द्र राजमार्ग पार गर्नुपर्ने बाध्यता रहेको छ । यसरी यात्रा गर्नुपर्दा झण्डै ४ सय किलोमिटर बढी दूरी रहेको छ ।

कोशी राजमार्गअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्म पुर्‍याएर चीनको तिब्बतसँग जोड्ने लक्ष्यका साथ २०६७ मा आयोजना शुरू गरिएको थियो । कोरिडोर आयोजना प्रमुख कुबेर नेपालीका अनुसार दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको कोरिडोरको करीब २६ किलोमिटर मात्रै ट्र्याक खुल्न बाँकी छ । अबको २ वर्षभित्रमा सबै ट्र्याक खोलेर ग्राभेल गर्नेे उनले बताए । तमोर कोरिडोरबाट यात्रा गर्दा विराटनगरको रानी भन्सारबाट ताप्लेजुङको चाइना बोर्डरसम्मको लम्बाइ २ सय ७० किमी मात्रै हुनेछ , आर्थिक अभियानमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *