पथरीमा पुर्वान्चल स्तरीय क्रिकेट प्रतियोगिता

पथरी / इटहरी क्रिकेट एकेडेमीले मोरङको पथरीशनिश्चरे स्थित वीरेन्द्रनगरमा सुरु पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

बिहीबारबाट सुरु भएको प्रतियोगितामा बी.सी.सी. दमकलाई ४६ रनले पारजित गर्दै गत संस्करणको विजेता इटहरी दोश्रो चरणमा प्रवेश गरेको हो ।

इटहरीले दिएको ६१ रनको सामान्य लक्ष्य पछ्याएको दमक १० दशमलब ३ ओभरमा मात्र १४ रनमा समेटीयो । दमकका १० जना खेलाडी खाता नखोल्दै पवेलियन फर्किए । दमकका लागि कुमार खड्काले ४ रन जोडेका थिए ।

दमकलाई झिनो योगफलमा समेट्न इटहरीका कप्तान विधान गोस्वामीले ४ ओभरमा ३ मेडन राख्दै मात्र १ रन खर्चेर ५ विकेट लिए । इटहरीका फिरतोस अन्सारीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इटहरीले खराब ब्याटिङ प्रदर्शन गर्दै १२ दशमलब २ ओभरमा मात्र ६० रनमा अल आउट भएको थियो । इटहरीका लागि श्रवन रोएले सर्वाधिक १३ र फिरतोस अन्सारीले ९ रन बनाएका थिए । इटहरीका तर्फबाट राष्ट्रिय टोलीमा समेत खेलिसकेका पुस्प थापा भने मात्र २ रनमा आउट भएका थिए ।

इटहरीलाई मध्यम योगफलमा समेट्न दमकका ज्ञान श्रेष्ठ र विक्रम चौलगाईले समान ३÷३ विकेट लिए ।

खेलको म्यान अफ द म्याच उत्कृष्ट वलिङ प्रदर्शन गरेका इटहरीका कप्तान विधान गोस्वामी घोषित भए । गोस्वामीले नगद ५ सय रुपैयाँ सहित ट्रफि र मेडल प्राप्त गरे ।

यसअघि प्रतियोगिताको पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष रवन नगरकोटी र पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना विष्टले संयूक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन पछि बोल्दै अध्यक्ष नगरकोटीले ग्रामिण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मदत मिल्ने बताए ।

असोज ३१ गते सम्म संचालन हुने प्रतियोगितामा पूर्वाञ्चलका १४ टोलीको सहभागिता रहको छ । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार सँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ बराबरको मोबाईल प्रदान गरिने र उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत पुरस्कृत गरिने क्लबका अध्यक्ष राजेश कुईकेलले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार विराटनगर क्रिकेट क्लब र किरातेश्वर क्रिकेट क्लब दुधे झापा विच हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *