मुल प्रवाहमा आउँदै अल्पसंख्यक समुदाय

साजन पासवान, बिराटनगर
बालमैत्री शासनले सीमान्तीकरणको चपेटामा परेका समुदायलाई मूलप्रबाहीकरण गर्न सहयोग गर्ने उदाहरण बिराटनगरमा देखिएको छ । समुदायमा रहेको परम्रागत संस्थाहरूको सहकार्यमा यस्तो कार्य गर्न सकिन्छ । बिराटनगर महानगरपालिकाले महानगर भित्रका मदरसा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासबाट बालमैत्री अभियान त सञ्चालन गरेकै छ, सामाजिक जागरणको क्षेत्रमा सीमान्तीकरणको चपेटामा परेको मुस्लिम समुदायलाई रुपान्तरण गर्न सहयोग गरेको छ । त्यसैको परिणाम स्वरुप बिराटनगर महानगरपालिकामा बसोबास गर्ने मुस्लिम घर परिवारबाट सतप्रतिशत बालबालिका विद्यालय जाने गरेका छन् भने विद्यालयलाई बालमैत्री बनाउन उनीहरूको प्रयास जारी रहेको छ ।
‘मुस्लिम समुदायकै पहलमा मदरसा विद्यालयहरूको व्यबस्थापन तथा सञ्चालन आचारसंहिता पनि बनाएका छौ ।’ सहबाजिया माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहनु भएका मोरङ मदरशा समितिका अध्यक्ष इमाम हैदरले थपे, ‘यो आचारसंहिता बिराटनगर महानगरपालिकाका १९ वटै मदरसाले पालना गरेका छन् । यसबाट मदरसाहरू एकातिर राष्ट्रिय मूलधारमा समेटिएका छन् भने अर्कोतिर विद्यालयलाई बालमैत्री बनाउन सहयोग पुगेको छ ।’
मदरसाले तयार गरेको आचारसंहिताअनुसार मदरशामा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यक्रमको मात्र शिक्षण हुने उल्लेख छ भने बालमैत्री स्थानीय शासनका सूचक अनुसार विद्यालयमा खानेपानीको उपलव्धता, छात्र छात्राको शौचालय, अतिरिक्त क्रियाकलापलगायत व्यबस्था गर्ने उल्लेख छ ।
‘हाम्रो विद्यालयमा आचारसंहिता र शिक्षा नियमावलीअनुसार नै बहुभाषिक शिक्षा सञ्चालन गरिरहेका छौ ।’ जामिया इश्लामिक मावि बिराटनगरका प्रिन्सिपल मोहम्मद् मुसलमानले भने, ‘उर्दु, नेपाली र अंगे्रजी भाषालाई शिक्षणको माध्यम भाषा बनाईएको छ भने अरबिक लिपी पनि विद्यालयमा सिकाईने गरिएको छ ।’
‘मदरसा धार्मिक विद्यालय भए पनि गुणस्तर शिक्षा दिलाउन बिर्सेका छैनौ’ जामिया इश्लामिक माविका प्रिन्सिपल मुसलमानले थपे, ‘हरेक शुक्रबार नमाज पढ्न समुदायका मानिस मदरसामा आउँदा मूलतः शिक्षाको महत्व, सामाजिक जीवन र परम्पराका बारे चर्चा हुने गरेको छ ।’
त्यसो त मदरशाका विद्यार्थीहरूले पनि समुदायमा गएर बालिका शिक्षाका बारे अभिभावकसँंग छलफल चलाएको त्यहाँको बाल क्लबकी उपाध्यक्ष नैना खानले बताईन् । ‘हाम्रो सहभागिता विद्यालय व्यबस्थापन समितिको बैठकदेखि घर परिवारको निर्णयमा पनि हुनु पर्छ भन्ने कुरा मदरसाको बाल क्लवबाट थाहा पाएकी हुँ । बालबालिकाका पढ्ने अधिकार, खेल्न पाउने अधिकारसँगै आफ्नो कर्तव्यबारे पनि यही आएर सचेत भएका छौ’ उनले भनिन् ।
जामिया इश्लामिक माविका बाल क्लबका अध्यक्ष महम्मद सलमान आलमले विद्यालयमा भयरहित शिक्षा लागू भएको बताउँदै बालमैत्री शासन लागू भएपछि बिराटनगरका सबै शिक्षालयमा बालबालिकाको कुरा सुनुवाई भएको दाबी गरे ।
नेपाल जस्तो बहुभाषिक, बहुजातीय र बहुधार्मिक समाजमा मदरसाकै जस्तो शिक्षाले लोकतन्त्र फस्टाउने बिचार मौलाना महम्मद ताहिर कालमको थियो । आफ्नो संस्कृति, परम्परा र मान्यतालाई निरन्तरता दिँदै समुदायलाई मूलप्रबाहीकरण गर्ने र स्थानीय सरकारसँग हातेमालो गरेर सामाजिक रुपान्तरण गर्ने यो अभ्यास अन्यत्र पनि अनुकरणीय भएको स्थानीय नागरिक समाजका अगुवा खिलाराज निरौलाले बताए ।
नेपालका अल्पसंख्यक मुस्लिम समुदायमा शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवामा पहुँचको अवस्था कमजोर रहेको छ । यो समुदायहरू पनि बालमैत्री स्थानीय शासनका कारण मूलप्रबाहिकरण गर्न बालबालिकामार्फत् भएको प्रयास सह्रानीय देखिन्छ ।
—साभारः बालमैत्री स्थानीय शासन मीरेष्ट लेखमाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *