खाडीबाट सरकारलाई घरेलु महिला कामदारको चिठी

सरकार अभिवादन अनि जय नेपाल !
देशमा रहेको बेरोजगारी अनि गरिबीको कारण परदेशिएका धेरै नेपाली घरेलु कामदारहरु मध्ये म पनि पर्दछु । विदेशिनुमा सबैको आ-आफ्नै परिस्थिति हुन्छ धेरैको जति व्याख्या हुन्छ त्यति सत्य सावित छैन र त्यो हुनैपर्छ भन्ने जरुरि पनि छैन । तर मैले मेरो परिवारको चुलोमा आगो बल्न छोडेपछि धेरैतिर भौतारिदै मलम पट्टि गर्न प्रयत्न गरें, ठुला भनाउँदा मान्छेको घरको दैलो देखि अफिस सम्म मैले मेरो एसएलसीको सर्टिफिकेट देंखाए, अनुनय गरे, बिन्ति गरे सामान्य कामका निमित्त ।

तर हातमा लाग्यो सुन्य, काहीं अनुभवको च्याखें थापियो भने काहीं मेरो शरीर, जवानी धरौटी राख्ने प्रस्ताव भयो, कसैको ओछ्यान तताउन पर्ने भयो । हो, म गरिबीले पिल्सिएकी थिए, जलेकी थिए, विक्षिप्त थिए तर त्यो अवस्थामा पुगेकी थिइन कि मेरो शरीर बेचेर परिवारको पेट पाल्न परोस किनभने म सँग काम गर्ने इच्छाशक्ति मरेको थिएन म मानसिक रुपमा कमजोर बनेकी थिइन ।
परिवारकी ठुली छोरी, मैले बुबाको अनुहार देख्न पाइन, म आठ क्लासमा पढ्दै आमा दमको रोगले ग्रस्त हुनुभयो । आर्थिक अवस्था सुन्य भएका हामीहरुको साथमा भएकी मेरी बहिनीको हेरचाह र साहु, महाजनको कुटो कोदालोको भरमा छाक गुजारा गर्थ्यौ तर जब आमा सिकिस्त हुनुभयो तब भने काबुमा रहेन त्यो दिनचर्या । मनकारी गाँउलेले गरेको आर्थिक साहायताले सहयोग त गर्यो तर त्यसले मात्र आमाको उपचार पुरा हुन सकेन । मलाई थप ३० हजार रकम चाहिने भयो तर दिने कसले, म सँग लिने आधार थिएन । म धेरै रोए, आँफैमा भित्र-भित्रै चिच्याए, अनि छटपटीए र यसै बिचमा एउटा अठोट गरे कि म धन कमाउन मुग्लान जान्छु अथवा परदेश जान्छु, विदेश जान्छु ।
यहि निर्णय मैले साहु ‘बा’ लाई सुनाएँ, केहि समय अघि एक पैसा छैन भन्ने साहु ‘बा’ प्रशन्न भएर मलाइ एक लाख रुँपैया ऋण दिन राजी भए । हो सरकार, मैले ३० हजार खर्च गरेर आमाको उपचार गरेर बाँकि पैसा तिमीले संरक्षण गरेको संरचना अनुसारकै दलाल एजेन्टलाई दिँदै आज म अरबको खाडीमा घरेलु कामदारको रुपामा विगत ९ महिना देखि कार्यरत छु । म दु:खको दलदल भित्र पौडी खेलेर हुर्केकि मान्छे भएको हुनाले अरुले भने जस्तो काममा त्यति धेरै कठिनाइ छैन । जस्तो दु:ख र कस्ट सहेर पनि काम गर्न हिम्मत बोकेर नै बिदेश आएकी म त्यति सजिलो काम परेका कारण भने यसो भनिरहेकी छैन । बिहान ३ बजे देखि उठेर साहुका नानीहरुका निमित्त खाना बनाउने तथा उनीहरुलाई बिहानको स्कुलका निमित्त तयार बनाउने, घरका अन्य ब्याक्तिहरुका निमित ७-८ किसिमका खाना बनाउने तथा उनीहरुका पाहुनाको निमित सम्पूर्ण बन्दोबस्त गर्ने, कपडा सफा तथा स्त्री गर्ने,उनीहरु चढने गाडी सफा गर्ने, घर सफा तथा नानीहरु स्कुल पुर्याउने र लिन जाने, उनीहरुका साथमा सामानहरु लिन बजार जाने आदि दिनहुँ राति ११ बजे सम्मका मेरा दिनचर्या हुन । म आँफैमा निहित कतिपय व्यवहारका कारण मलाई हालसम्म कुनै किसिमको दुर्व्यवहार गर्ने आँट कसैबाट भएको छैन र हुने पनि छैन भन्नेमा म विश्वस्त छु । मैले समयमा तलब पाएकी छु र पैसा पठाउन धेरैजसो म आँफै गएकी छु भने केहि पटक साहु आँफैले पठाइदिएका छन र आमाको हातमा सो पैसा परेको पनि छ । जीवन संघर्ष हो, कहिलेकाहीँ जानेर होस् वा नजानेर साहुका अमिला वचनहरु समेत मैले खेपेकी छु तर आगो पनि त नठोसी बल्दैन, घरपरिवारमा त कहिलेकाहीँ सामान्य मतभेद हुन्छ भने यो त परदेश हो । मैले यसलाई सामान्य रुपमा लिएकी छु ।
तर सरकार म अहिले तिम्रो पछिल्लो निर्णयबाट विक्षिप्त बनेकी छु, कारण मेरी आमा सिकिस्त बिरामी पर्नुभएको छ । बहिनिले अस्पताल लगेर उपचार गरिरहेकी त छ तर आमाले मेरो साथ खोज्नुभएको छ र मेरो अनुहार नियाल्ने इच्छा ब्यक्त गर्नुभएको छ । मलाई मेरो साहुबाट कुनै रोकावाट छैन र आमा बिरामी भए जान सक्छेउ भन्ने स्वीकृति भएपनि तिमी सरकारले मलाइ अंकुश लगाइदिएका छौ सरकार । तिमीले घरेलु कामदारको हित हुने नाममा उनीहरुलाई श्रम स्वीकृति दिएर विदेश जान तथा भिजिट भिसा बन्द गरिदेऊ त्यसमाथि मलाई त्यति धेरै गुनासो छैन र म त्यतिधेरै यसबारेमा जानकार पनि छैन । यसका सकारात्मक अनि नकारात्मक दुवै पक्ष होलान । धेरै नेपाली दिदीबहिनीहरु खाडीमा विभिन्न प्रकृतिका दु:ख, वेदना, समस्या र अनेकौ हिंसामा रुमल्लिएका छन तर सबै होइनन सरकार । म जस्ता घरेलु कामदार जो मेरो रोजगारबाट सन्तुस्ट छु र भविष्य देख्दैछु तर घर फर्केपछि पुनः फर्कनका निमित्त श्रम स्विकृती नदिने नियमका कारण म न घरको हुनसक्ने न घाटको हुनसक्ने अवस्था छ सँगै म जस्ता हजारौं नेपाली चेलीहरु प्रभावित भएका छन । म मेरो स्वेच्छाले घर आएर आमाको साथमा केहि समय उपचारमा संलग्न हुँदै पुन: कर्म गर्न फर्कन चाहन्छु सरकार । म अहिले नै तिम्रो नियममा अनुबन्धित हुनेगरी घर फर्कन आँट गर्न सकेकी छैन किनभने एकातिर मैले आमाको उपचार गर्नुपनि छ जसका निमित्त पैसाको जरुरि छ र अर्कोतिर मैले साहुको ऋण पनि चुक्ता गर्नुछ सँगै मेरो भविष्य अनि बहिनीको पढाइ र भविष्य समेत मेरो सामु लम्पसार परेको छ । अर्कोतिर आमाको म माथिको भरोसा र इच्छा म आउने बाटोतिर टोलाइरहेको छ,डर लाग्छ कतै आमा भन्ने संसारको अमुल्य हिराले मलाई धिक्कार्दै सदाका लागि ……………………!
यस्तो अवस्थामा म कसरि घर फर्कौ सरकार ? अनि नफर्कौ भने कसरि नफर्कौ जबकी मेरी जन्मदाता अस्पतालको बेडबाट मेरो नाम लिएर छटापटाईरहेकि छन …..! सरकार, तिमीले म जस्ता कामदारका निमित्त केहि गर्न सक्छौ कि सक्दैनौ ? यदि म नेपाल आएर पुनः फर्कन सक्दिन भने मलाई रोजगारीको ग्यारेन्टी गर्छौ कि गर्दैनौ ? जसले मेरो परिवारको न्युनतम आवश्यकता परिपूर्ति गर्न सकोस । धेरै शब्दहरु सजाएर पत्रलाई लामो बनाउन चाहिन । जाँदाजाँदै वैदेशिक रोजगारीमा भएका समस्याहरुको निराकरण रोजगारीमा जान चाहने व्याक्तिहरुलाई निषेध गर्नु भन्ने हुनै सक्दैन सरकार । निराकरण त जहाँ समस्या छ त्यसको समाधान गर्नु हो न कि औंलामा घाउ लाग्यो भनेर हात नै काट्नु होइन होला सरकार जुन तिमी गर्दैछौ र महान उपलब्धि भनेर व्याख्या गर्दैछौ । हवस त म जस्ता हजारौं पिडित नेपाली चेलीहरुको समस्याको समाधानमा तिम्रो ध्यान चाँडै जाओस र म जस्ता घरेलु कामदार स्वेच्छाले नेपाल फर्किएर पुनः रोजगारीमा फर्कन सकौ भन्दै बिदा चाहन्छु । जय मातृभूमि !!
उहीं उर्मिला (परिवर्तित नाम)
हाल (युएई)

( यो बिम्बात्मक चिठी कसैको जीवनमा मिल्न गएमा त्यो केवल संयोग मात्र हुनेछ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *