खुट्टा नभए पनि खेलाडी बन्न सकिन्छ भन्ने यी हुन् उदाहरण

अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने

दामोदर दाहाल,

आगामी नोभेम्बरको १५-१८ सम्म ललितपुरको आर्मी कभर्ड हलको बास्केटबल कोर्टमा अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ ।

यो अन्तर्राष्ट्रिय ह्वीलचियर वास्केटबल खेलकुद प्रतियोगिता नेपालको लागि पहिलो खेल हुनेछ भने नेपाल, भारत र वंगलदेशका ह्वीलचियर वास्केटवल टिमहरु रहेको यस खेलमा स्पाइनल कर्ड इन्जुरी भएका जम्मा ७२ जना खेलाडीको टिम रहने छ जसमा २४ जना महिला खेलाडीहरुको सहभागी रहने आयोजकले बताएका छन।

यस प्रतियोगितामा नेपाल, भारत पाकिस्तान र बंगलादेशबाट महिला तथा पुरुष गरी ६ टीमको सहभागिता रहने आयोजकले जानकारी दिएका छन। श्रीलंका र पाकिस्तन सँग उक्त प्रतिश्पर्धाको लागि सहकार्य भैरहेको र यो नेपालको लागि पहिलो खेल पनि रहेकोले नेपाली खेलाडिहरुका लागि ठूलो उपलब्धि मुलक भएकोले उक्त खेल सम्पन्न गराउन आर्थिक रुपमा संघलाई ठूलैचुनौती पनि रहेको छ ।

अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिताको लागि जम्मा-जम्मी एकासी लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। यो प्रतियोगिताको लागि नेपालका ख्यातिप्राप्त कलाकारद्वय मह जोडी ( हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ) ब्राण्ड एम्बेसडर रहेका छन भने प्रतियोगीताको उद्घाटन अघि सहभागि सम्पूर्ण टिमका खेलाडीहरु सहित खेल प्रेमी स्पाइनल इन्जुरी भएकाहरुलाइ अपङ्गता मैत्री नाराका साथ काठमान्डौ उपत्यकाभित्र परिक्रमा गर्ने तथा अपांगहरु पनि खेलकुदमा अब्बल छन भन्ने जागरण अभियान रहेको संघले जानकारी दिएको छ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद सङ्घले आयोजना गर्न लागेको यो प्रतियोगिता लगाएत यो भन्दा अगाडी पनि यस्ता अपाङ्गता भएकाहरु बीच समय समयमा खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ। समाजमा अपांगता भएका व्यक्तिप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सकियोस भन्ने उद्देश्यले यो अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिता आयोजना गरिन लागेको संघकी अध्यक्ष गायत्री दाहालले जानकारी दिएकी छन। गायत्री दाहाल स्वयम पनि स्पाइनल इन्जुरीबाट पीडित छिन। बाह्र वर्षको उमेरमा पिङ खेल्ने क्रममा झर्दा उनलाई स्पाइनल इन्जुरी भयो जसका कारण उनी ह्विलचियरको भरमा बाँच्न बाध्य छिन।

संघले काठमाण्डौ उपत्यका भित्र अपाङ्गता भएका र सवलाङ्ग, स्थानिय व्यक्तिहरु बीच विभिन्न खेलकुदको आयोजना गर्दै आइरहेको छ।संस्थाले अन्तराष्ट्रिय स्तरको खेलकुदको पनि अनुभव पाएको छ । सन् २०१४ मा काठमाण्डौमा नेपाल र पाकिस्तान बीच अन्तराष्ट्रिय स्तरको ह्वीलचियर क्रिकेट प्रतियोगिता सम्पन्न भएकोथियो। यसै गरी विभिन्न प्रकारका खेलकुद प्रतियोगितामा अन्य देशहरुमा भाग लिई सकेको छ । सन २०१४ मा नेपाल, भारत र बंगलादेश बीच बंगलादेशको आयोजनामा संघले नेपालको १५ जना ह्वीलचियर प्रयोगकर्ताहरुलाई ह्वीलचियर वाष्केटवल, टेवल टेनिस तथा पावर लिफ्टिङ्ग खेलमा सहभागी गराएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई सिमित र कठोर अवस्थामा रहनुपर्ने वाध्यता छ किनभने शारीरिक पिडा र  अपाङ्गताले गर्दा उनीहरुको जीवन अझ कष्टकर बन्दछ । वास्तवमा अपाङ्गता भएकाव्यक्तिहरु पनि सवलाङ्ग सरह आफै कर्तब्य निर्वाह गर्न सक्दछन। आफ्नो सामर्थको पहिचान भयो भने उनीहरु पनि स्वतन्त्र र आत्म निर्भर हुन सक्दछन। यो तब मात्र सम्भव छ जब उनीहरुलाई विभिन्न यस्ता खालका क्रियाकलापहरुमा सहभागी गराइन्छ र उनीहरुमा चेतनाको विकासहुने अबसर प्रदान गरिन्छ। खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक रुपले सही अवस्थामा राख्न सहयोग पुर्याउदछ भने अर्को तर्फ यसले समाजमा धेरै बलियो र सकारात्मक प्रभाव पार्दछ जसले उनीहरु प्रतिको धारणालाई परिवर्तन गर्दछ। त्यसैले संघले अपाङ्गता भएका व्यक्तिहरुलाई खेलकुदमा समाहित गराउने जमर्को गर्दैउनीहरुको स्वास्थलाइ पूर्ण उत्सुक बनाइ अपांग भएको हीनताबोध हुन नदिनको लागि पनिउनीहरुको खेलकुद क्षमतामा बृदी गराउन यस्ता खेलुकदमैत्री कार्यकमको आयोजना गर्दै आहिरहेको छ।

ह्वीलचियर प्रयोगकर्तालाई खेलकुदमा समावेश गराई सामजिक तथा मानसिक रुममा प्रबल बनाउने, शारीरिक, आर्थिक तवरले आत्मनिर्भर हुन अभिप्रेरित गर्दै प्रतियोगीहरुलाई मुस्कान र आत्मविश्वास बढाउन उनिहरुलाई स्वतन्त्र र सार्थक जीवन विताउन सक्ने अवस्थाको सिर्जना तयार गर्न यो प्रतियोगिताले बिशेष महत्व रहने प्रतियोगीहरुले बताएका छन। यस प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिहरुको क्षमताको बारेमा समाजलाई एउटा गतिलो सन्देश दिन्छ जसले गर्दा उनीहरुलाई परम्परागत समाजको वदलिदो परिवेशमा अपाङ्गतालाइ हेर्ने धारणा सकारात्मक रहन मद्दत पुर्याउन महत्वपूर्ण योगदान रहने आयोजकको बिस्वास रहेको छ ।

खुट्टा नभएर पनि खेलाडी बन्न सकिन्छ”

स्याङ्जाका तिलक पोखरेल

द्वन्दकालमा लागेको चोटका कारण उनका दुवै खुट्टाले काम गर्न छाड्यो केही समय त उनलाई जीवनदेखि दिक्क नलागेको पनि होइन तर जीवन सधैँ निराशामा मात्र कहाँ बित्दोरहेछ र ! उनले आशालाई जीवनमा स्थान दिन चाहे । अहिले उनलाई जीवनसँग कुनै गुनासो छैन । अपाङ्गता भए पनि जीवनमा उनले अहिले खेलकुदलाई आफ्नो साथी बनाएका छन । विभिन्न समयमा अपाङ्गता भएकाबीच हुने खेलकुद प्रतियोगितामा उनको सक्रिय सहभागिता रहँदै आएको छन।

उनलाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेल्ने रहर अझै मेटिएको छैन । नेपालमा पनि विभिन्न समयमा अपाङ्गता भएकाबीच हुने खेलकुद प्रतियोगितामा उनको सक्रिय सहभागिता रहँदै आएको छ।

धनकुटाका डिगम सिंह चेम्जोङ

खेलकुदलाई आफ्नो साथी बनाएका डिगम सिंह चेम्जोङ पनि जीवनमा केही धन कमाउने र सुखी बन्ने चाहनाका साथ आठ वर्षअघि कतार पुगेका थिए तर मोटरसाइकल दुर्घटनामा परी ‘स्पाइनल इन्जुरी’ भएपछि ह्विलचियर उनको सहारा बन्न पुग्यो।

दुर्घटना भएको १७ दिन त्यहीँको पुनःस्थापना केन्द्रमा बसेपछि उनको जीवनमा आशाका किरण देखिए । “त्यहाँ अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न आयआर्जन गर्ने सीपमूलक तालिमको समेत व्यवस्था रहेछ,” उनले भने – “नसोचेको कुरा जीवनमा भए पछि म निकै आत्तिएँ । त्यो समस्याबाट कसरी बाहिर आउने भन्ने समाधानका उपाय पनि सँगै आउँदोरहेछ । मलाई पनि त्यस्तै भयो। त्यहीँ मैले बास्केटबल,पौडी, टेबल टेनिसलगायतका खेल खेल्न सिकेँ।”

रामेछापकी हेमकला सुनुवार

पाँच वर्षअघि रुखबाट खसेका कारण स्पाइनल इन्जुरी भएकी हेमकला सुनुवारलाई पनि अन्तर्राष्ट्रिय खेलकुदको अनुभव छ। पाकिस्तानसँग अपाङ्गता भएका महिलासँग क्रिकेट खेल्दा नेपालको खेलकुद निकै स्तरीय रहेको उनको अनुभव थियो।

काभ्रेका केशव तिमल्सिना

पक्षाघातका कारण खुट्टा गुमाएका केशव तिमल्सिना पनि खेलकुदलाई समय बिताउने र जीवनमा ताजगी दिने माध्यमका रुपमा हेर्छन् । पहिला खेलकुदमा त्यति ध्यान नदिने केशवलाई खेलकुदले त्यो बेला तान्यो जब २६ वर्षको उमेरमा उनी रुखबाट झरेर पक्षाघातको सिकार भए। केशब तिमल्सिनालाइ बास्केटबल खेलाडी हुन, उनलाई खुट्टाले बास्केटबल खेल्न रोकेको छैन।

यी त केही स्पाइनल इन्जुरी भएका पात्रहरु मात्र हुन जसले जिबनमा अपाङ्गता भएर पनि आफुलाई खेलकुद तथा अन्य कुरामा अब्बल बनाएका छन, जिबनमा अपाङ्ग हुदैमा केही गर्न सकिंदैन भन्ने कुरालाई चिरेर देखाउने जमर्को गरेका छन, नेपालमा अहिले जम्मा कति जना यस्ता स्पाइनल कर्ड इन्जुरी भएका ब्यक्तिहरु छन् भन्ने तथ्यांक नभए पनि सरकारले यसको लागि बिशेष पहल गरेर उनीहरुको स्वावलम्बी जिबनको बारेमा बिशेष योजना ल्याउन अति आबस्यक रहेको छ।

भिडियो लिंक

https://youtu.be/RTbL5G8rSRk

Leave a Reply

Your email address will not be published. Required fields are marked *