Samyentra Dot Com

गृहपृष्ठ » खेलकुद, मुख्य खबर, हाइलाइटफुटबलर हुर्काउँदै उर्लाबारी

फुटबलर हुर्काउँदै उर्लाबारी

September 13, 2017४३० पटक

 ईस्वर भट्टराई
उर्लाबारी/ उर्लाबारी–६ स्थित राधिका माविको मैदान । घाम ओराली लाग्दै गर्दा यहाँ थरी–थरीका रंगीचंगी पोशाक लगाएका बालबालिकाको भीडभाड निकै देखिन्छ । १०–१६ वर्षका बालबालिका बेग्लाबेग्लै समूह बनाएर अभ्यास गरिरहेका हुन्छन् । खासमा उनीहरू पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय धिमाल र विशाल तामाङले सञ्चालनमा ल्याएको उर्लाबारी फूटबल ट्रेनिङ सेन्टरका खेलाडी हुन् । 
फुटबलकै कारण चर्चा र अवसर पाएको भन्दै बाँकी जीवन पनि फुटबलमै रहने लक्ष्यका साथ धिमाल र तामाङले आफ्नै लगानीमा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएका हुन् । सञ्चालन भएको एक महिनाको अवधिमा मात्र प्रशिक्षणमा बालबालिकाहरूको सहभागिता उत्साहपूर्ण रहेको उनीहरूको भनाइ छ । आफूले प्रशिक्षण दिन लागेका बालबालिकापछि फुटबल खेलाडी भएर निस्किऊन् भन्ने उद्देश्यका साथ सेन्टर स्थापना गरेको उनीहरूको भनाइ छ । सोहीअनुरूप धिमाल र तामाङले दैनिक डेढ घण्टा कलिलो मनोभावना र ‘फिटनेस’को भेउ पाउँदै उनीहरूलाई खेलको आधारभूत नियमबारे अवगत गराइरहेका छन् । पासिङ, ड्रिबलिङ, गोलकिपिङबारे प्रशिक्षणबाट प्रशिक्षार्थीमा फुटबलको खेलकैशल फक्रने मौका पाएको छ ।
खेल मैदानमा राम्रो गर्न खेलकौशल मात्र महत्वपूर्ण कुरा होइन भन्ने बुझेका उनीहरूले शुरूमा मैदानमा दौड्याउँछन् । र, त्यसपछि खेलको आधारभूत नियमबारे अवगत गराउँछन् ।
थ्रीस्टार क्लबबाट लामो समय घरेलु फूटबलमा छाउन सफल विजयले भविष्यमा उर्लाबारीका खेलाडीलाई नेपालका ख्यातिप्राप्त क्लबमा लान सक्ने वातावरण तयार पार्नु पनि आफूहरूको लक्ष्य रहेको बताउनुभयो । उता, घरेलु फूटबलमा सुपरिचित तामाङले फूटबल क्षेत्रमा आफूले लक्ष्य राखेअनुरूप केही सपना अधुरा रहेकाले आफूबाट प्रशिक्षित खेलाडीबाट त्यो पूरा गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँले आफूले सिकेको सीप तथा कलालाई खेलाडीहरूलाई सिकाए भविष्यमा प्रतिभावान खेलाडी बनाउने आफूहरूको योजना रहेको पनि बताउनुभयो ।
व्यवसायिक फूटबलको शुरूवात भएदेखि नै उर्लाबारीका खेलाडीहरूले विभिन्न प्रतियोगितामा निरन्तर रूपमा सहभागीता जनाउँदै आएका छन् । मोफसल होस्,  या त राजधानीका ‘ए’ डिभिजन क्लबबीचको प्रतिस्पर्धामा उर्लाबारीका खेलाडी नै भेटिन्छन् । अहिले थ्रीस्टारबाट खेल्ने रजिन धिमाल हुन् वा अन्डर २३ का निरज बस्नेत उनीहरू उर्लाबारीकै हुन् । यो सूची पल्टाउँदै जाने हो भने दीपेन्द्र धिमाल, प्रकाश बुढाथोकी, सञ्जिव बुढाथोकी, विजय धिमालजस्ता थुप्रै खेलाडी जोडिन आइपुग्छन् । यस्तै, एन्फाको उमेरसमूह टोलीमा पनि बर्सेनि एकदुईजना खेलाडी उर्लाबारीबाट छनोटमा पर्दै आएका छन् ।
भविष्यमा स्टार बन्ने सपना
राधिका मैदानमा ४० भन्दा बढी बालबालिका फुटबल सिक्न आउँछन् । १० वर्षको उमेर समूहदेखि १६ माथिका युवाहरू फुटबलमा भविष्य खोज्दै प्रशिक्षण लिइरहेका छन् । १० देखि १२, १२ देखि १६ र १६ वर्षमाथिका गरी तीन उमेर समूहका उनीहरूको फूटबलमा आ–आफ्नै सपना छ ।
उर्लाबारी–६ का रमित थापा, ११, ले थुप्रैपटक सेन्टरमा विजय धिमाल र विशाल तामाङसँग बल पास गरेका छन् । उनको सपना छ, विजयजस्तै राष्ट्रिय टिमबाट खेल्ने । सुनगाभा आमाविमा कक्षा ६ मा पढ्ने थापाको जस्तै होबी दर्जी, आयुष मगरको सपना पनि भविष्यमा राष्ट्रिय टिमबाट खेलेर आफ्नो देशको नाम राख्नेछ । त्यसैले उनीहरू विद्यालय विधा भएलगत्तै फुटबलको जर्सी र बुट लगाएर नजिकैको राधिका खेल मैदानतर्फ दौडिन्छिन् । पछिल्लो एक महिनायता रमित, होबी र आयुषजस्तै आधा दर्जन बालिकाहरू पनि प्रत्येक साँझ मैदानमा पुग्ने गर्दछन् । मोरङ मोडलमा कक्षा ७ मा अध्ययनरत समिता राई, सुनगाभा आमावि कक्षा ६ मा अध्ययनरत इश्ना कोइराला, अमिशा लिम्बू, इलुस्मा राई भविष्यमा फूटबल स्टार बन्ने लक्ष्यका साथ प्रशिक्षणमा सहभागी भइरहेका छन् । अमिशालाई मनपर्ने खेलाडी स्पेनिस ला लिगा क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी हुन् । यसैगरी इश्नाको रोजाइमा पर्छन्, अर्को स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुुगिज स्टार क्रिस्टियानो रोनाल्डो । त्यसैले उनीहरू आफ्नो मनपर्ने खेलाडीको जर्सी लगाएर आउने गरेका छन् ।
यसरी ट्रेनिङ सेन्टर स्थापना भएसँगै बालबालिकामा फुटबलप्रतिको क्रेज बढ्दो छ । अहिले उक्त मैदानमा फुटबल सिक्नेको मेला नै लाग्ने गर्छ । कतैबाट भरपर्दो स्रोत जुटे चाँडै उमेरसमूहको फुटबल प्रतियोगिता आयोजना गर्ने सेन्टरको योजना रहेको छ । हाल प्रशिक्षणमा आवश्यक सामग्री विजय र विशालले व्यक्तिगत खर्चबाटै धानिरहेका छन् । प्रशिक्षणको व्यवस्थापन खर्च धान्न सेन्टरले प्रशिक्षार्थीबाट मासिक रूपमा ५ सय रूपैयाँ लिने गरेको छ । फूटबलप्रति रूची राख्ने तर आर्थिक रूपमा विपन्न रहेकाहरूलाई सेन्टरले निःशुल्क प्रशिक्षण पनि दिँदै आएको छ ।
उर्लाबारीको पहिलो ट्रेनिङ सेन्टरको रूपमा स्थापित यस सेन्टरलाई उर्लाबारी फूटबल क्लब, उर्लाबारी युवा क्लब, उर्लाबारी नगर विकास खेलकुद समितिले सहयोग गर्दै आएको छ । उर्लाबारी नगरविकास खेलकुद समितिका अध्यक्ष भीष्म बुढाथोकीले ट्रेनिङ सेन्टरको सहयोगका लागि आफू तत्पर रहेको बताउनुभयो ।
निरजको सहयोग पहिलो
उर्लाबारी फूटबल ट्रेनिङ सेन्टरलाई उर्लाबारीका युवा निरज तामाङले आर्थिक सहयोग गर्नुभएको छ । बुधबार ट्रेनिङ स्थल उर्लाबारी—६ स्थित राधिका माविको मैदानमा उहाँले नगद १० हजार रूपैयाँ प्रशिक्षकद्वय धिमाल र तामाङलाई हस्तान्तरण गर्नुभयो । ट्रेनिङ सेन्टरलाई प्राप्त भएको यो नै पहिलो सहयोग हो ।
प्रतिभावान खेलाडी उत्पादनमा हौसला तथा ट्रेनिङ सेन्टर सञ्चालनार्थ आर्थिक सहयोग गरेको तामाङले बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको फूटबल प्रतियोगितामा छाउन सफल धिमाल र तामाङको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बचन दिनुभयो । लामो समय हङकङमा बस्दै आउनुभएका तामाङले यसअघि पनि उर्लाबारीको समाज रूपान्तरणका विभिन्न गतिविधिमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad