Samyentra Dot Com

गृहपृष्ठ » ग्यालरी, मुख्य खबरदेशकै सफा शहरका रुपमा पुरस्कृत भयो धनकुटा

देशकै सफा शहरका रुपमा पुरस्कृत भयो धनकुटा

August 3, 2017३८८ पटक

ईश्वर थापा ,धनकुटा / गत आर्थिक वर्ष २०७३/७४ को सफा शहरको प्रतिस्पर्धामा धनकुटा नगरपालिका उत्कृष्ट सफा शहरको रुपमा पुरस्कृत भएको छ ।

सफा शहरको प्रतिस्पर्धामा छनौट भएका ६ वटा नगरपालिकामा धनकुटा नगरपालिका उत्कृष्ट भएको हो भने इलाम नगरपालिकालाई र हेटौंडा उपमहानगरपालिकालाई क्रमश दोस्रो र तेस्रो सफा शहरका रुपमा पुरस्कृत भएका छन् । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २ सय ६३ नगरपालिकाहरुमध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रुपमा पुरस्कृत गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।
सफा शहर छनौटका लागि देशका २ सय ६३ नगरपालिका मध्येबाट १५ वटा नगरपालिकाले
गत वर्षको सफा शहर छनौटका लागि प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गर्ने नगरपालिकाहरुमा भरतपुर र पोखरा लेखनाथ महानगरपालिका, धरान इटहरी, हेटौडा र बुटवल उपमहानगरपालिका रहेका छन् । यस्तै रेसुङ्गा रामधुनी, इलाम, वालिङ, घोरही, धनकुटा, बेनी, कुश्मा र बीरेन्द्रनगर नगरपालिकाले पनि प्रस्ताव पेश गरेका थिए ।
यी मध्ये भरतपुर महानगरपालिका, धरान, हेटौडा र बुटवल उपमहानगरपालिका तथा धनकुटा र इलाम नगरपालिका उत्कृष्ट ६ नगरपालिकामा छनौट भएका थिए । उत्कृष्ट ६ नगरपालिकामा भरतपुर महानगरपालिका, धरान, हेटौडा र बुटवल उपमहानगरपालिका तथा धनकुटा र इलाम नगरपालिका छनौट गरिएको थियोे । उत्कृष्ट छनौटमा परेका ६ वटा नगरपालिकाको स्थलगत प्रमाणीकरण र स्थलगमन अनुगमन सकिएपछि मूल्याङ्कन समितिले सफा शहर मध्ये पहिलो, दोस्रो र तेस्रो सफा शहर छुट्याएको थियो ।
सरकारले सफा शहर छनौटका लागि फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीको संयोजकत्वमा ६ सदस्यीय मूल्याङ्कन समिति गठन गरेको थियो । सो समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थापन शाखाका प्रमुख, खानेपानी तथा सरसफाइ मन्त्रालयका उपसचिव, विज्ञको तर्फबाट फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका सन्तोष श्रेष्ठ, नेपाल नगरपालिका संघका कार्यकारी सचिव सहित ४ जना सदस्य र सफा शहर कार्यक्रम हेर्ने अधिकृत सदस्य सचिव रहेका थिए ।
मूल्याङ्कन समितिले गरेको प्रारम्भिक मूल्याङ्कनबाट बढी अंक प्राप्त गर्ने ६ वटा नगरपालिकामा स्थलगत अध्ययन र प्रमाणीकरण गरेको थियोे । प्रमाणीकरण तथा स्थलगत अनुगमनका क्रममा नगरपालिकाहरुले प्रस्ताव पेश गर्दा दाबी गरेजस्तो काम भईरहेको छ कि छैन ? फोहोरमैला व्यवस्थापन, खानेपानी तथा ढल व्यवस्थापन, प्रदुषण नियन्त्रण, हरियाली प्रवद्र्धन तथा शहरको सौन्दर्य बढाउने काम भइरहेको छ वा छैन भन्ने सुचकमा अंक प्रदान गर्दा धनकुटा नगरपालिका उत्कृष्ट भएको हो ।
सरकारले सन् २०१४ देखि सफा शहरको मापदण्ड तोकेर त्यसै अनुसार प्रस्ताव आव्हान गरी हरेक बर्ष प्रथम, द्धितिय र तृतीय सफा शहर छुट्याई नगद पुरस्कार प्रदान गर्दै आएको छ । सरकारले यस बर्ष प्रथम हुने धनकुटा नगरपालिकालाई १० लाख, दोस्रो हुने इलाम नगरपालिकालाई ६ लाख र तेस्रो हुने हेटौंडा उपमहानगरपालिकालाई ४ लाख नगद पुरस्कार सहित सम्मान गरेको छ । पुरस्कार बापत प्राप्त रकम फोहोरमैला व्यवस्थापन प्रवद्र्धन गर्ने काममा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ ।

के लाई कति नम्बर ?
सफा शहर हुनका लागि पहिलो शर्त हो खुला दिसामुक्त नगर हुनैपर्छ तर, यत्ति मात्र हुँदैमा सफा शहर हुन सक्दैन यसका लागि फोहोरमैला व्यवस्थापन राम्रो सँग गरेको हुनुपर्छ । फोहोर व्यवस्थापनमा मात्र अंक भार ५० तोकिएको थियो । यस अन्तर्गत फोहोरमैला व्यवस्थापन अध्ययन तथा योजना बनाए नबनाएको, स्रोतमा फोहोर पृथकीकरण र न्यूनिकरण, स्रोतमा पृथकीकरण गरेको फोहोरलाई घरदैलोबाट छुट्टाछुट्टै संकलन तथा ढुवानीको व्यवस्था गरे नगरेको, कम्पोष्टिङ र उर्जा प्रोत्साहन कार्यक्रम, पुनचक्रिय फोहोर संकलन र व्यवस्थापन, कोशी खेती, करेसाबारी वा प्राङ्गरिक कृषि खेतीलाई प्रोत्साहन गरे नगरेको, यस्तै प्लाष्टिक झोला नियन्त्रण, निजी संस्थाको सहकार्यमा फोहोर संकलन गर्ने व्यवस्था, स्यानिटरी ल्याण्डफिल साइटको सञ्चालन र व्यवस्थापन, सार्वजनिक स्थल नियमित सरसफाइ र समुदाय परिचालन गरे नगरेको, टोल सरसफाइ कार्यक्रम, फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना, सेवा शुल्क तथा अनुगमनको व्यवस्था गरे नगरेको जस्ता विषयको मूल्याङकन गरिएको थियो ।
यस्तै खानेपानी तथा ढल व्यवस्थापनका लागि १५ अंक तोकेको छ । यसमा पनि सार्वजनिक शौचालयको सुविधा तथा नियमित व्यवस्थापन, खानेपानी आपूर्ति तथा व्यवस्थापन, ढल व्यवस्थापन र प्रशोधन, नगरपालिकाको घरघरमा आकाशे पानी संकलन, योजना र कार्यान्वयन प्रोत्साहन गरेको जस्ता विषय हेरिएको थियो । सफा शहरको अर्को मापदण्ड हरियाली विकास र कहरी सौन्दर्य प्रबद्र्धन हो । यसका लागि १९ अंकभार तोकेको थियो । यसमा पनि हरियाली विकास र शहरी सौन्दर्य प्रवद्र्धन योजना बनाए नबनाएको, शहरी सौन्दर्य प्रबद्र्धन र नियम पालना गरे नगरेको र पशु बधशाला व्यवस्थापन गरे नगरेको हेरिएको थियो ।
सफा शहर हुनका लागि प्रदुषण नियन्त्रण र व्यवस्थापन गरेको पनि हुनुपर्छ । यसका लागि वायु प्रदुषणको नियन्त्रण गरे नगरेको, ध्वनि प्रदुषणको नियन्त्रण, औद्योगिक प्रदुषणको नियन्त्रण गरे नगरेको मूल्याङ्कन गरिएको थियो । यसमा ६ अंकभार तोकेको थियो । यत्ति भएर मात्र सफा शहर भएको मानिने छैन । संस्थागत विकासको पाटो पनि सफा शहरको अर्को मापदण्ड हो । यसका लागि जस अन्तर्गत वातावरण मैत्री स्थानीय शासन समन्वय समिति गठन र क्रियाशीलताको पक्ष हेरिएको थियो । यस्तै टोल सुधार समितिको गठन भए नभएको, वातावरण संरक्षणमा सामाजिक परिचालन र नागरिक सहभागिता रहे नरहेको, अनुगमन तथा मूल्याङकन, नगरपालिकाले सन्चार माध्यमबाट वातावरण संरक्षणको विविध विषयमा नियमित कार्यक्रम प्रस्तुत गरे नगरेको र नगरपालिकाले नगरबासीलाई वातावरण संरक्षण सम्बन्धी केही समस्या परेमा तत्काल थाहा दिने प्रणालीको विकास गरे नगरेको पक्षको समेत मूल्याङ्कन गरिएको थियो । यसमा १० नम्बर अंक भार राखिएको थियो ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad