यस्तो रैछ श्रावण महिनाको महिमा

रामकुमार परियार

“मानो खाई मुरि उब्जाउने महिना” अर्थात असारको बिदाई संगै श्रावण महिनाको पदार्पण भईसकेको छ । धार्मिक , सांस्कृतिक एवं  प्राकृतिक रुपले आफ्नो छुट्टै महत्त्व र महिमा बोकेको यस  श्रावण महिनाको आगमन संगै हरेक हिन्दुजनका घर-घरमा शिवस्तुती र मन्त्रोच्चारण शुरु भईसक्यो ।

यो महिनालाई आराद्यदेव भगवान शिवको भक्ती र उपासना गर्ने महिनाको रूपमा लिने गरिन्छ । वैदिक शास्त्रले समेत यस महिनालाई भगवान शिवको आराधना गर्ने पवित्र महिनाको रूपमा परिभाषित गरेको छ । हुन त भगवान शिवको आराधना गर्ने अन्य धेरै अवसर र पर्व छन्  , जस्तै : बाला चतुर्दशी , मकर संक्रान्ती , महाशिवरात्री , अक्षय तृतीया आदि । यी अवसर पनि भगवान शिवको आराधना गर्ने महत्त्वपूर्ण पर्व हुन । तथापि श्रावण महिनाको भने अलग्गै स्थान र महत्त्व रहेको छ ।

पौराणिक मान्यता अनुसार यसै महिनामा पार्वतीले निराहार व्रत बसि शिव स्वामी पाउन आराधना गरेको हुनाले भगवान शिवलाई पतिको रूपमा पाएको मान्यता रहेको छ । त्यसैले पनि विशेषत: अविवाहित नारिहरु भगवान शिव जस्तै पराक्रमी पति पाउने कामना राखेर महिनाभरी शिवको आराधना गर्ने गर्छन् । त्यस्तै विवाहित नारिहरु आफ्नो श्रीमान र सन्तानको दिर्घायुको कामना गरेर व्रत बस्ने गर्छन् । सन्तान विहिनहरु समेत सन्तान प्राप्तिका निम्ति शिवको उपासना गर्ने गर्छन् ।

यस महिनामा सोमबारको विशेष महत्त्व रहेको छ । सोमबारका दिन भगवान शिवको उपासना गर्दा छिट्टै प्रसन्न हुने र मनोकांक्षित वर प्रदान गर्ने विश्वास रहि आएको छ । सोमबारका दिन भक्तजन बिहानै उठि स्नान गरि शिवालयमा बेलपाती , दुध , जल चढाउने गर्छन् ।त्यसैले श्रावणको सोमबार शिवालय , मन्दिर र शक्तिपिठहरुमा भक्तजनको भिडभाड हुने गरेको छ । लामो लाईनमा बसेर निकै संघर्षपुर्वक दर्शन र पुजा गर्न पाईन्छ । यस महिनाको महिमा अपरामपार छ ।

कृषकहरु रोपाइँको मैजारो गर्ने देखि लिएर लुतो फाल्ने , व्रत बस्ने , लसुन – प्याज , माछा-मासु नखाने , हातगोडाका कपाल , नङ नकाट्ने आदि प्रचलन रहि आएको छ । ठुला ठुला शिवका शक्तिपिठहरुमा महिना भरिनै मेला लाग्ने गर्छ । भक्तजनको घुईंचो हुने गर्छ । यसबाहेक नेपाली नारिहरु यस महिनालाई अर्को एउटा  छुट्टै तरिकाले पनि मनाउने गर्छन् । व्रत संगै हात भरी हरियो चुरा र मेहन्दीले सजिएर चोखो हरियो वस्त्र पहिरने चलन छ । चारैतिर जलमग्न हुने र खेतमा हरियो धान मौलाउँदै गएको प्राकृतिक सौर्न्दर्यताको सम्मान स्वरुप हरियो चुरा र बस्त्र धारण गरेको बुझ्न सकिन्छ ।

यसको वैदिक मान्यता त पंक्तिकारलाई थाहा छैन तर यसलाई प्रकृति प्रतिको सम्मानको रूपमा लिन सकिन्छ । धर्म , संस्कृति र परम्पराबाट टाडिदै गएको नेपाली समाजले राम्रा संस्कृति र परम्पराको जगेर्ना गर्ने बेला आएको छ । धर्मलाई धर्मकै रूपमा लिनु पर्छ । यसलाई आफू अनुकुल परिभाषित गरेर दुर्घन्धित बनाउने कार्य बन्द गरौँ । सबैको सम्मान गरौँ , सबैलाई बराबर व्यवहार गरौँ । जय शम्भो !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *