Samyentra Dot Com

गृहपृष्ठ » सम्बादपथरीशनिश्चरेलाई देशकै नमुना नगर बनाउँछु – प्रेमला राई

पथरीशनिश्चरेलाई देशकै नमुना नगर बनाउँछु – प्रेमला राई

June 9, 2017८९७ पटक

                                प्रेमला राई उपमेयर उम्मेदवार , पथरीशनिश्चरे नगरपालिका

प्रेमला राई , मोरङको पथरीशनिश्चरे नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरकी उम्मेद्वार हुन् । कांग्रेसका पूर्वजिल्ला सदस्य नन्दराम राईकी छोरी भएर मात्र होइन , उनको अघिल्लो तीन पुस्ताले कांग्रेसको झण्डा बोकर न्याय र स्वतन्त्रताको पक्षमा काम गरिसकेको इतिहास पनि उनीसँगै छ । सुकुम्वासी समस्या र गरिबीबाट आक्रान्त पथरीशनिश्चरे नगरपालिकाको मुहार फेर्ने आँट र साहस बोकेर जन–जनको दैलोमा पुगिरहेको बताउने राईले आईएसम्मको अध्ययन गरेकी छिन् । उपमेयर बन्नका लागि कस्ता कार्यक्रम लिएर घरदैलो गरिरहेकी छिन् भन्ने विषयमा राईसँग हाम्रा सहकर्मी हरि कोइरालाले गरेको कुराकानीको सार संक्षेप ।

० टिकट पक्का भएको हो ?

पार्टीले औपचारिक रुपमा पत्र दिएको छैन । तर पार्टीले २०७३ चैत १५ गते पठाएको पत्रको मापदण्ड अनुसार क्षेत्रीय समितिले विधि र प्रक्रिया पुर्याएर नाम सिफारिस गरेकोले टिकट मैले नै पाउने निश्चित छ ।

० उपमेयरको टिकट प्राप्त गर्न ठूलै सकस भएको सुनिन्छ, किन नि ?

कांग्रेस ठूलो पार्टी हो । लोकतन्त्र र प्रजातन्त्रको रक्षक । बीस वर्ष यता स्थानीय निर्वाचन भएको छैन । कार्यकर्ता हरेक वर्ष बढेको बढ्यै छन् । यो लामो ‘ग्याप’ ले धेरै कार्यकर्ता आकांक्षी हुन् स्वाभाविकै हो । राजनीतिमा कोही जोगी बन्न लागेका हुँदैनन् । प्रतिस्पर्धाका बीच पनि हामी कहाँ सहमति र सहकार्य कै आधारमा उम्मेद्वार चयन भएको छ ।  सुरुमा पार्टीमा सामान्य अन्तर बिरोध देखिए पनि अब हामी एक जुट भएर लागेका छौँ ।

० पार्टीमा तपाईंको भूमिका त्यति उल्लेख्य थिएन भन्छन् नि ?

घरायसी समस्याले केही समय वैदेशिक रोजगारमा गएँ । त्यो समयमा बाहेक म पार्टीमा अविछिन्न सक्रिय छु । मेरो तीन पुस्ताले पार्टीमा पसिना बगाइसकेको छ । बुवा कांग्रेसको पूर्व जिल्ला सदस्य हो । मेरी आमा भक्तदेवी राईले २०५४ सालमा यही वडाबाट टिकट पाउनु भएको थियो ।उ हाँ पराजित हुनुभयो ।  मैले एउटा गाउँमा बसेर पार्टीलाई जुन सहयोग गरेको छु, त्यो कमी हुनसक्छ । यद्यपि मेरो भूमिका उल्लेख्य छैन भन्ने कुरामा म विश्वास गर्दिन ।

० उम्मेदवार बन्न भन्दा चुनाव जित्न गाह्रो होला नि, नगरबासीसँग के भनेर मत मागिरहनु भएको छ ?

पक्कै पनि चुनावमा गएपछि हार जीत स्वाभाविकै हो । तर हामी हार्ने गरी चुनावी अभियानमा लागेका छैनौं । हामीसँग तत्काल गर्ने, पाँच वर्ष भित्र गर्ने र १० वर्ष भित्र गर्ने विकास निर्माणको स्पष्ट खाका छ । पार्टीको केन्द्रीय घोषणा पत्रमा उल्लेख भएका विकास निर्माणका विषय त छँदैछन् त्यसका अतिरिक्त हाम्रो टिम खास गरी हामीले राजनीतिबाटै आर्थिक समृद्धिको सपना देखेका छौँ । नगरबासीलाई थाहा छ, म कहिल्यै कुनै संघ, संस्था वा विकासे समितिमा लाभको पदमा बसेकी छैन । संगठनमा बसेर काम गर्दा मैले जे–जे समस्या देखेको छु ती समस्या पहिले सम्बोधन गर्छु ।

० तत्काल गर्ने कामहरू के–के हुनेछन् ? 

विपक्षीदलका साथीहरुले जनतालाई धेरै अघिदेखि यहाँका समस्या र विकासे कामको उधारो सपना बाँढेर आफूले नाफा गरेका छन् अब म त्यसो हुन दिन्न । मैले चुनाव जित्नासाथ पहिलो नम्बरमा राज्यको पहुँच नपुगे कै कारण नागरिकताबाट बञ्चित नगरबासी दाजुभाइ दिदीबहिनीहरूको नागरिकता बनाईदिने अभियान सञ्चालन गर्छु । आज पनि मत माग्न जाँदा सयौंले मलाई नागरिकता छैन, भनिरहेका छन् । छोराको नागरिकता छ, आमाको छैन, श्रीमानको छ, श्रीमतीको छैन । बंशजको नागरिकता भएकाले पनि नागरिकता नभए कै कारण राज्यले दिने वृद्धभत्ता, औषधि उपचारमा छुट लिन सकेका छैनन् । मतदान गर्ने अधिकारबाट बञ्चित छन् । वृद्ध बाआमाका लागि वृद्ध चौतारीको निर्माण गर्नेछु । ताकि उनीहरू त्यहाँ गएर समय काट्न सकुन् । बक्राहा खोला पूर्व नगरको एउटा गाउँ छ । त्यो गाउँका बालबालिका वर्षयाममा स्कुल आउन पाउँदैनन् । त्यस कारण तत्काल झोलुङ्गे पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाउने छु । नगरका अल्पसंख्यक, दलित, आदिवासी र जनजातिहरूका लागि सीपमूलक कार्यक्रम सञ्चालनमा ल्याउने छु । अब मान्छेलाई खानका लागि एक छाक रोटी होइन, जीवन भर बाँच्नका लागि हातमा सीप चाहिएको छ ।

नगरपालिका कार्यालय कहाँ राख्ने भन्ने विषय टुङ्गोमा पुगेको छैन । अदालतमा मुद्दा विचाराधिन छ । त्यसलाई किनार लगाएर भवन निर्माणको पहल सुरु गरिने छ । नगरपालिकामा आजसम्म एउटा दमकल छैन । तुरुन्त दमकलको ब्यवस्था गर्नेछौँ ।  अर्को समस्या फोहोर डम्पिङको हो । फोहोर ब्यवस्थापनका नाममा वर्सेनी लाखौं रुपैयाँ खर्च भएको छ । पूर्व–पश्चिम सडक किनारमा फोहोर फ्याकिएको छ । फोहोर ब्यवस्थापन समितिले काम नगर्दा शहरको फोहोर उठ्न सक्दैन । ब्यवस्थित डम्पिङसाइटको निर्माणका लागि साझेदार संस्था खोजी गरी फोहोर ब्यवस्थापन स्थायी रुपमा गरिने छ । खानेपानीको पहुँच नपुगेको स्थानमा खानेपानी विस्तार गरिने छ । बक्राहाले सुन्दरी चौक र हसन्दहका पूर्वी गाउँमा बर्सेनी वितण्डा मच्चाएको छ । त्यसको स्थायी समाधानका लागि अविलम्ब काम गरिने छ । नदी कटान रोक्न तात्कालिन र दीर्घकालिन कार्यक्रमको आवश्यक  छ । पथरी ठूलो शहर बनिसक्यो, मूख्य बजार र सहायक बजारमा ढल ब्यवस्थापन नहुँदा समस्या हुने गरेको छ । ढलको प्रबन्ध गरी पथरीलाई डुवान मुक्त शहर बनाइने छ । पथरी, शनिश्चर र हसन्दहको मुख्य बजारका सडक अझै कालोपत्रे हुन सकेका छैनन् । तिनलाई तत्काल कालोपत्रे गरिने छ ।

० पाँच वर्ष भित्र गर्ने विकासे कार्यक्रम के–के हुन ?

हेर्नुस्, पञ्चायत कालमा पनि दोहोरो स्वामित्वको जग्गा ब्यवस्थापनको मुद्दाले पञ्चहरूले चुनाव जिते । बहुदलमा एमाले र माओवादीले चुनाव जिते । तर खोई काम भएको ? खोई कसका हातमा लालपूर्जा छ ? आज लालपूर्जा नभएका नागरिकको नगर भनेर हाम्रो परिचय बन्दैछ । म स्वयम् सुकुम्बासी हुँ । २०३६ सालदेखि बसोवास गरेको, मेरा बाबु बाजे सुकुम्बासी, म सुकुम्बासी अब मेरा छोरा छोरी पनि सुकुम्वासी । यो कस्तो नियति हो ? ३५ वर्ष यता एउटै एजेण्डा छ, जब चुनाव आउँछ, अनि कम्युनिष्टहरू हामी गरिवको पार्टी तपाईंहरू पनि गरीब नागरिक । हामी तपाईंलाई लालपूर्जा दिन्छौं भनेर मत माग्छन् । तर उपलब्धि खोई ? सभासदले आफू बसेको जग्गा धनीलाई दाम (पैसा) दिएर जग्गा आफ्नो नाममा पारे । तर हामी पैसा नहुनेहरुले कहिले लालपूर्जा पाउँने ? हामी वर्षौदेखि ढाँटिएका पथरीशनिश्चरेबासीलाई दुई वर्ष भित्रमा लालपूर्जा वितरण गर्छौं । यसका लागि प्रादेशिक सरकार बन्न आवश्यक छ । प्रदेश र स्थानीय सरकार बन्नासाथ हामी उच्च स्तरीय भूमि आयोग गठन गरी सोही आयोग मार्फत यहाँका नागरिकलाई जग्गाधनी बनाउने छौँ ।

अर्को कुरा नम्बरी जग्गामा पनि जथाभावि घर, भवन र सपिङ मल निर्माण हुँदा नगर कुरुप भइसकेको छ । त्यसका लागि निश्चित मापदण्ड तयार गरिने छ । कम्तीमा दमकल पूगेर सजिलै फर्किने गरीको सडकको ब्यवस्था नगरी प्लटिङ गर्न दिइने छैन । खेती योग्य जग्गामा प्लानिङ गर्ने कार्य रोकिने छ ।  भूगोल र माटो अनुसार किसानलाई खेतीको प्रबन्ध मिलाइने छ । यो नगरको एउटा वडा महुलीबारीमा माछाको ब्यावसायिक खेती सुरु भएको छ । त्यसलाई विस्तार गरिने छ । महुलीबारीलाई पूर्वको माछा जोन बनाइने छ । हामी कहाँ एउटा रंगशालासम्म छैन । त्यसका लागि सम्भावना बोकेका ठाउँको अध्ययन गरी तत्काल रंगशालाको स्तरोन्नति गरिने छ । यत्रो जनसंख्या भएको शहरमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छैन । सामान्य विरामी पर्दा उपचारका लागि ठूला शहर पुग्नु पर्ने बाध्यता छ । कम्तीका ५० शैय्याको अस्पताल निर्माण गरिने छ । शिक्षा क्षेत्रमा एउटा प्राविधिक शिक्षालय स्थापना गरिने छ ।  पर्यटकीय सम्भावना बोकेका धेरै ठाउँ छन् । भूल्के सीमसारलाई पर्यटकीय केन्द्रका रुपमा विस्तार गरिने छ । अल्पसंख्यक मुस्लिम दाजुभाइहरूले मृत्यु हुँदा कपुरस्थान निर्माण गर्ने उपयुक्त स्थान पाइरहेका छैनन् । यो मागलाई सम्बोधन गर्नेछु ।

० दश वर्षे कार्यक्रम अन्तरगत कुन–कुन योजनालाई राख्नु भएको छ ?

काम त चुनाव जित्ने बित्तिकै गर्न मन लाग्छ नि, तर हामी कहाँ सीमित स्रोत, साधन हुन्छ । हामी संघीयता कार्यान्वयनको प्राथमिक चरणमा छौँ । भोलि नगरबासीलाई नै कर ब्यवस्थापनमा सहभागी गराउनु पर्ने भएकोले तत्काल गर्नुपर्ने कामलाई पनि पाँच वर्षे र दश वर्षे योजनामा विभक्त नगरी नहुने अवस्था छ । दश वर्षे कार्यक्रम अन्तरगत नगरलाई दुःख दिने पूर्व र पश्चिमका खोलाको स्थायी तटबन्ध गरिनेछ । पथरीशनिश्चरे नगरपालिकामा चक्रपथ निर्माण गरिनेछ । जसले गर्दा खोला पनि तटबन्ध हुने र विकास पनि हुने देखिन्छ । नगरका मुख्य बजारमा विजुली र टेलिफोनका तारमा मान्छे लुक्न सकिने भइसकेको छ । ती तारलाई अन्डर ग्राउण्ड गर्ने ब्यवस्था मिलाइने छ । नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाइने छ । यत्रो ठूलो शहरमा बालबालिका लागि एउटा पार्क छैन । नगर भित्रै ऐलानी, पर्ती जग्गा खोजेर एउटा पार्कको ब्यवस्था गरिने छ ।

० निक्कै महत्वकांक्षी योजना छन्, कार्यान्वयनमा कठिनाई हुन्न ?

मैले अघि नै भने स्रोत साधन सीमित छ भनेर । सपना नै नदेख्ने हो भने फेरि पनि पथरीशनिश्चरेको मुहार फेरिन्न ? तर यो सपना मात्र होइन, ३९ हजार ८७६ मतदातालाई विश्वास दिलाउँन चाहन्छु । विगतमा एमाले र माओवादीले गरीबको पार्टी भनेर पथरीशनिश्चरे र हसन्दहका बासिन्दालाई गरिव बनाइ राख्ने काम भएको छ । धनी भए भने, धनीपूर्जा पाए भने जनताले कम्युनिष्ट पार्टी छोड्छन् भन्ने डरले कम्युनिष्टहरू त्रसित छन् । त्यसैले हामीलाई अवसर दिनुहोस्, हामी दोहोरो स्वामित्वको वर्षौदेखिको समस्या सम्बोधन गर्छौ । अरु कामहरु सामान्य छन् । नगरपालिकाको केन्द्र र भवन निर्माणको काम पनि चाँडै टुङ्ग्याउने छौँ । हामीले समृद्ध नगरको सपना कोरेका छौँ । हेर्नुस्, चीनलाई देङ सियाओ पिङले कहाँ पुर्याए । उनले सपना नदेखेको भए आज चीन विश्वको शक्तिशाली बन्ने थिएन । सिंगापुरमा ली क्वान यु, मलेसियामा महाथिर मोहम्मदले देशको परनिर्भरता हटाएर आफ्नो उत्पादन निर्यात गर्न सक्ने राष्ट्रको रुपमा उभ्याए । उनीहरूले सपना देखेकै कारण आज चिनिया, सिंगापुरे र मलेसियनहरू समृद्ध बने । अझ २२ वर्ष द्वन्द्वमा फसेको रुवान्डालाई ५/७ वर्षमा पल कगामेले काँचुली फेराएका छन् । असम्भव केही देख्दिन, पल कगामेले मानव कंकाल माथि समृद्ध शहर बसाए भने हामीले नसक्ने कुरै भएन । हामी कहाँ केही बिग्रेको छैन । मात्र इच्छाशक्ति चाहिन्छ ।

० प्रसंग बदलौं, चुनाव त महँगो हुन थाल्यो भन्छन् नि, कति खर्च छुट्याउनु भएको छ ?

खर्च छुट्याउने भन्ने कुरै आउँदैन । कसैले विरामी हुन्छु भनेर खर्च छुट्याउँदैन, नत उम्मेद्वार बन्छु भनेर नै । मैले यसलाई नियमित आकस्मिकताको रुपमा मात्र लिएको छु ।

चुनाव खर्चिलो महङ्गो जे भएपनि समय अनुसार चल्नुपर्छ । हिजो चिठ्ठी बोकेर हिड्ने युग थियो । साइकलमा चढेर हिड्ने जमाना थियो । समयसँगै चुनावको प्रचार–प्रसारको प्रकृति बदलिएको छ । हिजो चिउरा, चाम्रे खाजा खाने चलन थियो, आज खाजाको रुप र रंग बदलिएको छ । त्यही भएर खर्च केही बढी हुने देखिएको छ । यद्यपि कार्यकर्ता, साथीभाइ र दिदी बहिनीहरूको सद्भाव र सहयोगले चुनावलाई चलायमान बनाइरहेको छु । हेर्दै जाऊँ कति खर्च हुन्छ । चुनाव सकिएपछि खर्च सार्वजनिक गरौँला ।

 ० पथरीशनिश्चरे नगरपालिका त एमालेको ‘गढ’ भन्छन् नि ? यस्तो ठाउँमा चुनाव जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?

गढ , पकेट क्षेत्र भनेको स्थायी रुपमा रहने विषय होइन । नगरबासीलाई कसैले डामेर छाडेका साढे नसम्झिए हुन्छ ।  यस अघिका स्थानीय चुनावमा एमालेले जित्दैमा उसको गढ मान्नु हुन्न । हो, मैले सुनेको छु, लालपुर्जा नभएका गरीबहरूले गरीबकै पार्टीमा मतदान गर्नु पर्छ भनेर एमाले, एमाओवादी साथीहरूले भोट मागेको । त्यसो हो भने यहाँका बासिन्दालाई भोटका लागि जहिल्यै गरीब बनाई राख्ने हो ? मैले साथीहरूसँग भनेको छु । गरिबीबाट माथि उठ्न कांग्रेसलाई भोट हाल्नुहोस् । कांग्रेस गरीबको मित्र हो गरिबीको शत्रु हो । संविधानसभा २०६४ मा एमाओवादी जित्यो । २०७० एमालेले   जित्यों, नेता त हामी कहाँ स्थिर छैनन्, मतदाता कसैका पेवा हुने कुरै भएन । एमालेको माछा हुँदा दुलो भित्र हात, सर्प हुँदा दूलो बाहिर हात प्रवृति नगरबासीले बुझिसेकेका छन् । नगरवासी कसैको खल्तीमा राखेको सुपारीका टुक्रा होइनन्, ता कि चाहेको बेला निकालेर कुटुक्क पार्न पाइयोस् । जिताउने जिम्मा पार्टीको हातमा छैन । कुल मतदाताको २० प्रतिशत विभिन्न पार्टीका कार्यकर्ता होलान्, बाँकी त स्वतन्त्र ब्यक्ति छन् । जनताले अब भरोसा खोजेका छन् । त्यो हामी दिन सक्छौं भन्ने मेरो दावी हो । २० वर्षपछि चुनाव हुन लागेको छ । २०५४ मा जन्मिएको बच्चा आज मतदाताको रुपमा भोट हाल्न आतुर छ । उसले विगत भन्दा पनि भविष्य कसरी सुरक्षित हुन्छ भन्ने सोचिरहेको छ । ती युवाहरू कांग्रेसको पक्षमा मतदान गर्न पर्खिरहेका छन् भन्ने कुरा अहिलेको जनलहरले देखाइरहेको छ ।

० उपमेयर जित्नु भयो भने नगरमा पहिलो काम के गर्नुहुन्छ ?

यो अलि कन्ट्रोभर्सी प्रश्न भयो, म हार्ने गरी उम्मेद्वार बनिरहेकी छैन । मैले अघि जुन–जुन कुरालाई प्राथमिकताका आधारमा राखेँ ती कामलाई पुरा गर्नेछु । मलाई ढाँट्नु छैन । खासगरी लालपूर्जा वितरणको काम निक्कै कठिन छ । तर जग्गाधनी र वर्षौदेखि जग्गा उपभोग गरेका हामी सुकुम्बासी बीच समन्वय गर्न सकिनेमा म ढुक्क छु । सरकारी प्रक्रिया पुर्याएर नै हामी नगरबासीलाई जग्गाधनी बनाई छोड्छौैँ । अन्यथा नगरको विकासमा नगरबासीले साझेदारीमा काम गर्न सक्ने अवस्था रहन्न ।

० अन्त्यमा केही ?

राजनीतिक अस्वस्थ्य प्रतिस्पर्धा छोडौँ । विचारमा प्रष्टता, संगठनमा प्रतिवद्धता र नेतृत्वमा एकरुपता देखाउन सके मात्र देश आर्थिक समृद्धि तिर लाग्छ । सहिदको सपना साकार हुन सक्छ । शासन विधिको हुनुपर्छ । विधिको शासन थालनी भयो भने साना तिना समस्याले विकास र रोजगारी सिर्जनामा कुनै असर पार्न सक्दैन । मेरा विचार राख्ने अवसर दिनुभएकोमा धन्यवाद ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad