Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरीमाछापालन कसरी गर्ने ?

माछापालन कसरी गर्ने ?

June 1, 2017५६३ पटक

पछिल्लो समय व्यावसायिक रूपमा माछापालन फस्टाउँदो छ । नेपाली उत्पादनले मात्रै माग थेग्न सकेको छैन । कतिपयलाई माछा पाल्ने रहर पनि होला । तर, कसरी पाल्ने, प्राविधिक ज्ञान र अनुदान पाइने/नपाइनेजस्ता विषयमा जानकारी नहुँदा इच्छा भएर पनि खुम्चिएर बस्नुपरेको अवस्था होला । माछा कसरी पाल्ने, कहाँ पाल्ने, यसबाट हुने फाइदा, जोखिम, बजारको अवस्थालगायतबारे यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

आवश्यक कागजात र दर्ता प्रक्रिया

 

माछा पाल्न इच्छुकले कृषि कार्यालय (कतैकतै मत्स्य अनुसन्धान केन्द्र पनि हुन्छन्) पुगेर पर्याप्त प्राविधिकलगायत जानकारी लिन सकिन्छ । कृषि कार्यालयमा फर्म दर्ता गर्नुपर्छ । १० रुपैयाँको हुलाक टिकट टाँसेर निवेदन दिएमात्रै फर्म दर्ता हुन्छ । नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी पुर्जा, कृषि सेवा केन्द्रको सिफारिस आवश्यक पर्छ । व्यावसायिक रूपमा माछा पाल्ने हो भने यिनै कागजातसहित जग्गाको तिरो तिरेको रसिद, सँधेराको सर्जमिन मुचुल्का, परियोजनाको विस्तृत विवरण (कति माछा पाल्ने, कति पोखरी, रोजगारी, चालु र स्थिर पुँजी खुलाएर), भाडाको जग्गा भए सम्झौता पत्र र परिवारका अन्य सदस्यको भएमा सहमति पत्र जम्मा गरी घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्छ । अलि ठूलो मात्रामा कारोबार गर्ने व्यावसायिक किसानले आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर (पान) लिन सकिन्छ ।

कर तथा शुल्कको अवस्था

 

घरेलुमा दर्ता गर्दा ३ लाख रुपैयाँसम्मको लगानीलाई ३१ सय, त्यसमाथि ५ लाखसम्मकोलाई ६१ सय, २० लाख रुपैयाँसम्मकोलाई १२ हजार १ सय, १ करोड सम्मकालाई २० हजार १ सय, ५ करोडसम्मकालाई ३० हजार १ सय र त्यसमाथि जतिसुकै भए पनि ५० हजार १ सय रुपैयाँ शुल्क लाग्छ । यो शुल्कले पहिलोपटकलाई ५ वर्षसम्म नवीकरण गर्नु पर्दैन । त्यसपछि प्रत्येक २/२ वर्षमा माथिको शुल्क तिरेर नवीकरण गर्नुपर्छ । यसबाहेक घरेलुमा कुनै कर तिर्नु पर्दैन । व्यवसायमा लगानी अनुसार कर तिर्नु त नागरिकको कर्तव्य नै भयो । वार्षिक २० लाख रुपैयाँको कारोबार र २ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिगत व्यवसायको हकमा उपमहानगरमा ५ हजार, नगरपालिकामा २ हजार ५ सय र गाविसमा १५ सय वार्षिक पूर्वअनुमानित आय विवरण एवं कर आन्तरिक राजस्व कार्यालयमा तिर्ने व्यवस्था छ । प्रालि बनाएर ठूलो व्यवसाय गरेमा २५ प्रतिशत आयकर लाग्छ । तर, त्यस आयकरमा केही वर्षका लागि केही प्रतिशत आय करमा छुट हुन्छ । घरेलुमा दर्ता गरेर पान नम्बर लिएमा लेखा परीक्षण गर्नु पर्दैन । वार्षिक १ करोडभन्दा माथि कारोबार गर्नेले मात्र लेखा परीक्षण गर्नुपर्ने हुन्छ ।

 अनुदानको व्यवस्था

 

कृषि कार्यालयले माछा पोखरी बनाउन प्रतिरोपनी १५ हजार रुपैयाँ अनुदान दिन्छ । कृषि बिमा गरेमा प्रिमियमको ७५ प्रतिशत रकम सरकारले नै बेहोरिदिन्छ । ५ प्रतिशत ब्याजमा ऋणको व्यवस्था छ । प्रांगारिक मलमा प्रतिकिलो १० रुपैयाँ अनुदान पनि पाइन्छ । कृषि कार्यालयले अनुदानका लागि सूचना निकालेर प्रक्रियासमेत भनेको हुन्छ । किसानले दिएको निवेदनका आधारमा स्थानीय विकास अधिकारी (जिविस निर्वाचित सभापति नभएकाले) को अध्यक्षतामा रहेको कृषि विकास समितिले स्थलगत अनुगमन गरी अनुदान दिने निर्णय गर्छ । विभिन्न उपकरणमा पनि निश्चित प्रतिशत अनुदान छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि पाउन सकिने भएकाले पैसाकै कारण लगानी गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छैन ।

पोखरी र वातावरण यस्तो चाहिन्छ

 

माछाका लागि बाह्रैमास पानी भइरहने ठाउँ नभई हुँदैन । एक मिटर गहिराइमा पानी भइरहनुपर्छ । चुहिएर जाने ठाउँ उपयुक्त हुँदैन । २४ घण्टाभित्र पानीको सतह घटबढ हेर्ने र एक मिटरभन्दा कम पानी रहेमा त्यो अनुपयुक्त हुन्छ । पानीको स्रोत, माटो, हावापानी, यातायात सुविधा भएको ठाउँमा माछा पाल्न राम्रो हुन्छ । गर्मी र चिसो पानीमा हुने माछाका लागि सोहीअनुसारको तापक्रम आवश्यक पर्छ । कास्की कृषि कार्यालयका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेका अनुसार गर्मीमा कार्प जातका र चिसो पानीमा ट्राउट माछा हुन्छन् । १२ देखि ३० डिग्री सेल्सियस तापक्रममा माछा पाल्न सकिन्छ । हिमाली जिल्लामा चिसो पानी हुने भएकाले ट्राउट माछाका लागि उपयुक्त हुन्छ । अन्यत्र भने ७ प्रकारका कार्प जातका माछा पाल्न सकिन्छ । पोखरीको साइज जग्गाको अवस्थाअनुसार बनाउन सकिन्छ । सकभर चार कुना मिलेको पोखरी भएमा राम्रो । यस्तोमा काम गर्न र जाल हान्न सहज हुन्छ ।

ट्राउटका लागि भने सिमेन्टेड पोखरी आवश्यक पर्छ । १० मिटर लम्बाइ एकदेखि डेढ मिटरसम्म चौडाइका पोखरी, एक मिटर गहिराइ र सफा पानी चौबीसै घण्टा बगिरहने हुनुपर्छ । माछालाई अक्सिजन चाहिने भएकाले पानी बगिरहेमा उपयुक्त हुन्छ । ट्राउटलाई बढीमा २० डिग्री सेन्टिग्रेडसम्म तापक्रमको पानी आवश्यक पर्छ । अरूलाई भने २० देखि ३० डिग्री उपयुक्त हुन्छ । तराई र पहाडमा कार्प जातका रहु, नैनी, भ्याकुर, सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प र ग्रास कार्पका माछा सिफारिस भएका छन् । यिनलाई डेढ मिटरसम्म पोखरीमा पानी, वनस्पति र प्राणीजन्य जीवको उपस्थित भएको (हरियोपना) पानी भएमा उत्तम हुनेछ । ट्राउटलाई ३५ प्रतिशत प्रोटिन र अन्यलाई २०/३० प्रतिशत प्रोटिन भएको दाना खुवाउनुपर्छ ।

भुरा कहाँ पाईन्छ

 

देशका विभिन्न १३ ठाउँमा रहेका मत्स्य अनुसन्धान केन्द्र तथा मत्स्य विकास केन्द्रले माछाका भुरा उपलब्ध गराउँछन् । पछिल्लो समय निजी क्षेत्रले पनि उल्लेख्य मात्रामा उत्पादन गर्न थालेका छन् । बाहिरबाट पनि आउने गर्छ । भुराको उपलब्धता देशैभरि सहज भएकाले समस्या नरहेको मत्स्य अनुसन्धान केन्द्र पोखराका वरिष्ठ प्राविधिक अधिकृत रामकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार दैनिक दाना, पर्याप्त अक्सिजन दिएर भुरा हुर्काउन सकिन्छ । भुराको तौलसँगै दाना पनि बढाउनुपर्छ । २/३ महिनामा भुरा तयार हुन्छ ।

बजारको संभावना

 

माछाको प्रशस्त बजार छ । मागअनुसार उत्पादन नभएकाले विदेशबाट पनि ल्याउनुपरेको छ । क्षेत्रफल र उत्पादन बढाउनुपर्ने अवस्था देखिएको श्रेष्ठले बताए । जोखिम बिमा पनि भएको तर किसानले अलि बढी हेरचाह गरेमा जोखिम खासै नरहेको उनको भनाइ छ । अक्सिजन नपुगेर माछा सबै मर्न सक्ने भएकाले पानीलाई चलायमान बनाइराख्दा अक्सिजनको मात्रा पूरा हुन सक्छ । माछाको घनत्व प्राविधिकको सिफारिस (पोखरीको क्षमताअनुसार) राख्नुपर्छ । एक रोपनी पोखरीमा एक हजार भुरा राख्नुपर्छ । त्योभन्दा बढी राखेमा समस्या आउन सक्छ । भइहालेमा समाधानका उपाय पनि प्रशस्त छन् । सरकारी निकायबाट प्राविधिक सेवा, तालिम, गोष्ठी अवलोकन भ्रमण, कुनै पनि समस्यामा सहजकर्ताको भूमिका निर्वाह हुने गरेको छ । उत्प्रेरणा जगाएर किसानलाई व्यावसायिक बनाउने काम पनि हुन्छ ।

रोग र उपचार

 

ट्राउटको भुरामा घुम्ने रोग, ब्याक्टेरिया, भाइरसले संक्रमण हुन सक्छ । त्यसलाई नुनपानीले उपचार गर्न सकिन्छ । कार्पमा सितिमिती रोग देखिँदैन । तर, कहिलेकाहीँ छाला खुइलिने, पखेटा कुहिने, जुम्रा, लर्नियाजस्ता परजीवि किरा लाग्न सक्छ । कार्पको भुरामा मनोजिन, गाइरोडक्टाइलस, डक्टाइलो गाइरसजस्ता रोग र कानेपत्रमा संक्रमण देखिन्छ । माछाको उपचारका लागि नुनपानी नै उपयुक्त हो । ठूला माछाको हकमा ३ प्रतिशत र भुराको हकमा १ देखि २ प्रतिशतसम्मको नुनपानीले २/३ दिन एक/दुई मिनेटसम्म डुबाएर राखेर उपचार गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad