कहालीलाग्दो बेलबारी हत्याकाण्ड : ११ वर्ष भयो , पीडितको व्यथा उस्तै

सुमन पुरी ,सुनसरी / रातको नौ बजेको थियो । शोभा गुरुङ्गले ड्याम्म गरेको सुन्नुभयो । बाहिर कल्याङ्मल्याङ आवाज पनि आयो । आफूसँगै सुतेको दुई वर्षको नातीतिर हेर्न नभ्याउँदै फेरि आवाज आयो ड्याम्म । के पो भयो ? खुल्दुलीसँगै डर पनि बढ्यो ।

कोही पनि बाहिर ननिस्क है भन्नलाई उहाँ ढोका खोलेर पल्लो कोठामा जानुभयो । जहाँ छोरी सपना र पाँच बर्षकी नातिनी सुतेका थिए । तर छोरी र नातिनी सुतेको कोठाको ढोका ह्वाङ्गै थियो । शोभाले छोरीछोरी भनेर चिच्याउनुभयो तर आवाज आएन । नातिनी निर्मला लुगा राख्ने आल्नामुनि पसेर लुगलुग काम्दै रुँदै थिइन् । उनकी आमा अर्थात शोभाकी छोरी निर्मला थिइनन् ।

११ वर्षपछि घटनाका बारेमा बेलिबिस्तार लाउँदै गर्दा ६२ वर्षिया शोभाको मन भक्कानियो । खाटा बसिसकेको घाउ नकोट्याउन आग्रह गरेपनि केहीबेरमा उहाँले  घटना विवरण सुनाउनुभयो ।

घटना २०६३ साल वैशाख १२ गते राति मोरङको बेलबारीको घटना हो यो । जहाँ शोभाको परिवार डेरा लिएर बस्थ्यो ।राति छिमेकी समेत मिलेर छोरीको खोजी भयो । डेरा बसेको घर नजिकै बाँसघारीमा २२ बर्षिया सपना (जो एक छोरा र एक छोरीकी आमा हुनुहुन्थ्यो) को शव भेटियो । कपडाहरु च्यातिएको र संवेदनशील अंगका कपडाहरु खोलिएका थिए । सुन्नेलाई पनि कहालीलाग्दो त्यो घटना भोगेकी शोभाका आँखा १२ वर्षपछि घटना सुनाउँदै गर्दापनि ओभाना रहन सकेनन् । सक्नुपनि कसरी ?

file photo

वैशाख १३ गते बिहानै हल्ला फैलियो । सेनाले सपनालाई बलात्कारपछि हत्या ग¥यो । निरंकुश शाही शासन अन्त्य भएको भोलिपल्टैको यो घटना सुन्नासाथ मोरङको बेलबारी, बिराटचोक, खोर्साने, गोठगाउँ क्षेत्रका नागरिक आन्दोलनमा उत्रिए । दुई दिन अघिसम्म राज्यसत्ता फेर्ने आन्दोलनमा होमिएकाहरु भेला भए ।

१९ दिने आन्दोलन गरेर सरकार ढलाएका नागरिकमा एकातिर जीतको उत्साह थियो भने अर्कातिर रगत सेलाएकै थिएन । थामिनसक्नुको भीडले इलाका प्रहरी कार्यालय घेराउ गर्यो । मानिसको आक्रोस अलि टाढैबाट हेरिरहनुभएको थियो गणेशप्रसाद दाहाल पनि ।

जंगलमा गाईवस्तु छोडेर बेलबारी पुगेका दाहाल भिड भन्दा धेरै पर सिनेमा हल छेउमा बसेर हेर्न लाग्नु भयो । यहीबेला घुईंचो बढ्यो । कोलाहाल मच्चियो । उहाँपनि नजिकैको घरको आडतिर लम्कनु भो । चप्पल खुस्कियो, टाउकोमा लगाएको टोपी भुर्इंमा खस्यो । टिप्न खोज्दा खुट्टा चलेन । नजिकै रहेका मान्छे लडेको देख्नु भो ।

त्यसपछि के भयो थाहा छैन । ६४ वर्षिय दाहालले भन्नुभयो –‘घटना भएको ३८ दिनमा होस खोल्दा घोपा क्याम्पमा थिएँ । एउटा खुट्टोमा १० किलोको वजन झुन्ड्याइको थियो ।  ओल्टो कोल्टो फेर्न सक्ने अवस्थामा थिइन ।’

बेलबारी हत्याकाण्डमा सेनाको ज्यादतीका कारण २०६३ साल वैशाख १३ गते ७ जनाको ज्यान गयो । घटनामा बेलबारी ३ का प्रसाद गुरुङ, बेलबारी ३ की सुनिता ऋषीदेद, इन्द्रपुरका छत्रबहादुर परियार, इन्द्रपुरका फूर्वा शेर्पा, इन्द्रपुरका प्रभुनाथ भट्टराई, मृगौलीयाका टेकलाल चौधरीको ज्यान गयो । सेनाको गोली लागि घाइते भएका गोपाल चन्द्र गौतमले भने २०६६ सालमा पीडा सहन नसकेर आत्महत्या गर्नुभयो ।

घटनामा घाइते भएका गोपालचन्द्र गौतमले ६६ सालमा पीडा सहन नसकेर आत्माहत्या गर्नु भयो । घटनामा परेर अंग भङ्ग भएका १७ जना अझै उपचारको पर्खाइमा छन् । घटनामा ७५ जना घाइते भएका थिए । तर सरकारले उनीहरुलाई आश्वासन बाहेक अरु केही दिएको छैन । गणेशप्रसाद दाहालले भन्नु भयो –‘उपचारका लागि २० लाख रुपैयाँ सकियो । दवाई गर्दा लागेको ऋण अहिले पनि तिरिसकेको छैन ।’

सेनाको गोली लागेर पूर्ण अशक्त बन्नुभएका दाहालले अपाङ्गता भएकाहरुले पाउने सामाजिक सुरक्षा वापतको भत्ता समेत पाउनु भएको छैन ।

शोभा गुरुङ्गको व्यथा यो भन्दा फरक छैन । छोरीको हत्या भएपछि २ वर्षको नाती र ५ वर्षकी नातीनी हुर्काउने जिम्मा उहाँकै थियो । अहिले छोरी निर्मला ११ कक्षामा र नाती  दिपक नौ कक्षामा पढ्दैछन् । क्षतिपूर्तिबापत तीन लाख रुपैयाँ थाप्नुभएकी शोभा भन्नुहुन्छ– ‘यो देशमा मान्छेको ज्यान नौ लाखको रहेछ ।’ बाह्र बर्ष दुःख र पीरमा काट्न भएकी गुरुङले आश्वासन बाहेक अरु केही नपाएको बताउनु भयो । उहाँले पैसा नपाएपनि छोरीको हत्या गर्नेलाई कारावही गरेको सुन्न पाए मनमा शान्ति मिल्ने बताउनु भयो ।

छैन न्यायको आशा

भनिन्छ बाह्र वर्षमा खोलो पनि फर्कन्छ । यही आशमा बेलाबारी घटनाका पीडितहरुले न्याय फर्कने आशामा दिन बिताए । राज्यले सुन्छ भनेर हरेक प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए । दोषीलाई कारवाही र पीडितलाई न्यायको माग राख्दै तत्कालीन प्रधानमनत्री गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधबकुमार नेपाललाई ज्ञापन पत्र बुझाए । जिल्ला प्रशासन कार्यालय मोरङ्गमा धर्ना र जुलुस गरे ।

घाइतेको उपचार नै पैसाको अभावमा रोकिएपछि सडक बन्द गरे । पीडितलाई न्याय दिनका लागि अनेक छानबिन समिति बन्यो । समितिका संयोजकहरु पीडितका घर घरमा पुगे । तर माग सुनिएन । बेलबारी हत्याकाण्ड दवाब संघर्ष समितका संयोजक हेमसागर ढकालले गर्नेजति सबैकुरा गरेर थाकेको बताउनु भयो ।

यस्तो छ आश्वासन 

घटनाको छानबिन गर्न तत्कालिन सांसद परी थापाको संयोजकत्वमा गठित समितिले मृतकका परिवारलाई १० लाख, अङगभङग भई घाइते भएकालाई ६ लाख, घाइतेलाई ७५ हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको थियो । सरकारले भने मृतक परिवारलाई जनही ३ लाख, अङ्गभङ्ग भई घाइते भएका १० जनालाई जनही ७५ हजार, घाइते २२ जनालाई जनही २५ हजार र सामान्य घाइतेलाई १० हजारका दरले क्षतिपूर्ति दिएको थियो ।

को हुन् दोषी ?

बेलबारी घटनाको दोषी भनेर छानबिन समितिले ११ जनाको नाम सार्वजनिक गरेको थियो । संकटकालमा संवेदनशिल क्षेत्रको सुरक्षाका लागि भनेर सरकारले नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त युनिफाइड कमाण्ड बनाएको थियो । कमाण्डको नेतृत्व क्याप्टेन प्रल्हाद थापाले गरेका थिए ।

उनीसँगै बेलाबारी हत्याकाण्डमा दिलबहादुर शाही, डम्बरबहादुर कार्की, प्रदिपराज बानियाँ, वीरबहादुर महरा, निर्मलकुमार महरा, निर्मलकुमार पन्त, पदम होडा, देवसिंह धामी, बुद्धराज राई, मानलाल धामी र लोकेन्द्रराज थापालाई दोषी ठहर्याइएको थियो । उनीहरुलाई के कार्वाही भयो भनेर अहिलेसम्म सार्वजनिक गरिएको छैन ।  – उजयालो अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *