समाजसेवाका लागि आलु निम्की बेच्दै युवतीहरु

एउटै ड्रेस लगाएका सुन्दर युवतीहरु आलु निम्की र खर्ब‘जा र आइस लेमन टी बनाइरहेका छन् ,धमाधम । ग्राहकहरु अर्डर गर्दै मिठो मानी मानी स्वाद लिइरहेछन् । एक छेउमा केही कस्मेटीक सामानहरु पनि राखिएका छन् । एकजना युवती माइकीङ गरी केही भनिरहेकी छिन् । हेर्दा लाग्छ कुनै सुटिङ पो हो कि ? तर जबरजस्त वास्तविकता रहेछ त्यो ।

आइतबार दिउँसो बेलबारीको पश्चिम स्टेण्डमा एउटा टेन्टमुनि केही बेचिरहेका ती युवतीहरु अभिनय, सुटिङ वा प्रोमोसन गर्न बसेका थिएनन् । माता तीर्थ औंशीको दिन बिराटनगरस्थित बिराटेश्वर बृद्धाआश्रममा बृद्धबृद्धा र असहायहरुलाइ लत्ताकपडा र मिठो मसिनो खानेकुरा दिनका लागि सहयोग जुटाउने उद्देश्यले एक अभियान स्वरुप बिभिन्न ठाउँका ती युवतीहरु आलुनिम्की र खर्बुजा बेचिरहेका रहेछन् । अभियानमा गछिया तरहरा, विराटचोक, खोर्साने लगायत बिभिन्न ठाउँका युवतीहरु सरिक थिए ।
मोर्डन आर्टिष्ट नामक फेसबुक ग्रुपमा आवद्ध युवतीहरुले स्वतस्फूर्त रुपमा समाजसेवाको लागि गरेको अभियान अनुकरणीय थियो । तातो घाम र धुलोमैलो नभनी सडक किनारमा बसेर बिभिन्न खानेकुरा र श्रृङ्गारका सामान समेत बेचिरहेका १० युवतीमध्येकी जुनु श्रेष्ठले मोर्डन आर्टिष्ट नामक फेसबुक ग्रुपमा १२ हजार युवतीहरु आवद्ध रहेको र त्यसले बिभिन्न सामाजिक काम गर्दै आएको सुनाइन् । शुक्रबार काठमाण्डौंमा यही ग्रुपमा आवद्ध केही युवतीहरुले काठमाण्डौंमा सरसफाइ गरेको र शनिवार काठमाण्डौंमै मैत्रीपूर्ण फुटबल म्याच खेलाएको उनले बताइन् ।
ग्रुपले फोटोग्राफी, सौन्दर्य तथा हेयर डिजाइन, ट्राभल्स र फुड सर्भिस जस्ता काम गर्ने गरेको बताउँदै ग्रुप एडमिन समेत रहेकी बताउँदै खोर्सानेकी समिक्षा ढकालले आफूहरुले संस्था दर्ता गर्ने तयारी गरिरहेको बताइन् ।
बेलबारीमा एकैदिन चलाइएको अभियानमा जुटेको रकममा आवश्यक परे थप गरी मातातीर्थ औंशीका दिन बृद्धबृद्धालाइ सहयोग गर्ने उनले बताइन् । – अम्बिका भण्डारी        (संयन्त्र साप्ताहिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *