Samyentra Dot Com

गृहपृष्ठ » बिशेष, मुख्य खबर, समाचार, हाइलाइटविराटचोक : बन्द हडताल निषेध गरी जागेको एक शहर

विराटचोक : बन्द हडताल निषेध गरी जागेको एक शहर

March 23, 2017८०० पटक

जितेन्द्र साह/ हाम्रो मुलुकमा कहिल्यै बन्द, हडताल र आन्दोलन नहुने सहर पनि छ भन्दा पत्यार नलाग्ला । तर, मोरङ सुन्दरहरैचामा एक यस्तो नगर छ जहाँको जनजीवन कहिल्यै ठप्प हुँदैन ।

विराटनगरदेखि २९ किमी उत्तरको पूर्वपश्चिम राजमार्गमा पर्ने  बिराटचोक,खोर्साने र सलकपुर क्षेत्रमा कुनै घटना वा सड्क दूर्घटना भइहालेमा स्थानीयले चक्काजाम गर्दैनन् ,शैक्षिक संस्था पनि बन्द गराउँदैनन् । बरु सरोकारवाला पक्ष  बसी छलफल गरी समस्याको समाधान खोज्छन् । राजनीतिक दल, नागरिक समाज र विभिन्न संस्थाले यहाँ बन्द वा आन्दोलन नगर्ने सहमती गरेका छन् । यही कारणले मधेस र पहाडका विभिन्न जिल्लाका नागरिकले व्यापार, बसोबास एवं पठनपाठनकालागि यो सहरलाई रोजिरहेका छन् भने छोटो समयमै यसले विकासमा पनि फड्को मारेको छ ।
‘आन्दोलन नहुने थलो भएको थाहा पाएर यही व्यापार सारेँ,’ ४७ वर्षीया मिना लुईटेलले भनिन् । सुनसरी इनरुवाकी स्थायी वासिन्दा उनले तीन महिना अघि मात्रै बिराटचोकमा भोजनालय गृह खोलेकी हुन् ।
लगातारको आन्दोलनले व्यापारमा नोक्सानी भएपछि इनरुवाको स्थापित कलर ल्याब बिक्री गरी यहाँ आउनु परेको लुईटेलले बताइन् ।

राजधानीलगायत देशका सबै सहर चहारेपछि यो थलोलाई रोजेको लुईटेलले अनुभव सुनाइन् । ‘ट्राफिम जाम, धुँवा, धुलो र पानीको अभावले काठमाडौं मन परेन,’लुईटेलले भनिन्,‘अस्थिर राजनीतीले गर्दा अन्यत्र व्यापार गर्ने आँट आएन ।’

स्थानीय बसपार्कमा चियानास्ता पसल गरिरहेका मोरंगको रंगेली–५ का शंकर शाहले पनि यो आनन्दले गरीखाने थलो भएको बताए ।

उल्लेखनीय के छ भने यहाँ कसैले पनि कुनै निहुँमा सडक अवरुद्ध गर्दैनन् । यहाँ सुरुदेखि नै राजनीतीक एवं सामाजिक एकता भएकोले यो पूर्वमै फिटिक्कै बन्द, हडताल र आन्दोलन नहुने ठाउँको मान पाएको ४६ वर्षीय हार्डवेयर एवं अटो व्यवसायी खिलबहादुर (केबी) श्रेष्ठले बताए । ‘राजनीतीक आस्था वा दलीय स्वार्थ त्यागेर सबैले स्थानीय हित र प्रगतिलाई प्राथमिकता दिएका छन्,’उनले भने ।

आफन्त यही भएकाले २०३४ सालमा पिता बुद्धिमान ७ जनाको परिवारसहित तेह्रथुमबाट यहाँ आएको श्रेष्ठले संझे । ‘यहाँ आउँदा म मुश्किलले ७/८ वर्षको थिएं । अहिले ठूलो बजार छ, त्यतिबेला वरिपरि केही थिएन, दिउँसै स्याल कराउँथ्यो,’श्रेष्ठले भने,‘हाम्रो बाहेक जम्मा दुई वटा परिवार मात्र यहाँ बस्थे ।

श्रेष्ठको बुझाइमा बस्नलाई सुरक्षित ठाउँ, यातायातको दृष्टिकोणले उपयुक्त एवं अटुट सामुदायिक एकता नै बिराटचोकको प्रगतिको कारण हो । यहाँ पूर्वाधार विकासले गति लिएपछि २०५३ सालदेखि यससँग सम्वद्ध व्यापार सुरु गरेको व्यवसायी श्रेष्ठले बताए ।

‘यहाँ निर्माण गतिविधि बढेपछि हार्डवेयर सामग्रीको व्यवसाय गरेँ, सुन्दर चिल्ला सडकसँगै गाडीको माग बढ्यो,’उनले भने,‘७/८ वर्षदेखि अटो व्यवसायी पनि भएको छु ।’ अहिले यहाँ गाडीका आधा दर्जन बढी शो रुम छन् । मुलुकको हरेक थलोबाट यहाँ वाहनको आवागमन हुन्छ । श्रेष्ठले अन्यत्र नभएर अब यही भविष्य देखेको बताए ।

सुरुवातमा तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ताप्लेजुंग र पाँचथरवासीले यहाँ घरजम गरे । केही वर्षदेखि मुलुकभरीकाले यो नगरलाई स्थायी वासकोलागि रोज्न थालेको श्रेष्ठले बताए । जनसहभागितामा सबैतिर सडक, नाला, ढल, सौर्य बत्ती र प्रहरी एकाई थपिंदैछ । यहाँ पहिलेदेखि सशस्त्र प्रहरी बलको क्याम्प र प्रहरी चौकी पनि छ ।

कोसीहरैचा उद्योग वाणिज्य संघका सल्लाहकार रमेश खड्काको परिवारमा चौथो पुस्ता यही माटोमा हुर्कि रहेको छ । यही पढे-बढेका उनले जागरुक र मिलनसार स्थानीयको प्रयासले यहाँको विकास भएको बताए । खड्काले भने,‘हामी बन्द गर्न दिंदैनौं, कसैले यहाँ त्यसको समर्थन गर्दैन ।’

कुनै बेला यहाँ पनि वर्षामा हिलामय एव घाम लागेको बेलां धुलामय सडक हुने गरेको खड्काले विर्सेका छैनन् । घोडा, गोरुगाडा र साइकल मात्र यातायातको साधन भएको यो ठाउँमा २०२२ मा कालोपत्रे भएर मोटर गुड्न थालेको उनले संझे । यो कार्यमा जनताको योगदान बढी थियो ।

यहाँका ७० प्रतिशत सडकको खर्च जनताले नै बेहोरेको उनले बताए । ‘बाटो नहुँदा यहाँबाट वरिपरिको सहर पुग्न तीन घण्टा लाग्थ्यो, अहिले आधी घण्टा/पन्ध्र मिनेटमा पुगिन्छ,’खड्काले भने ।

२०३६ सालसम्म यहाँ निजि विद्यालय थिएन । एउटा मात्र सरकारी विद्यालय थियो । अहिले वडापिच्छै निजि विद्यालय र प्रशस्तै सरकारी शिक्षण संस्था छन् । यहाँ सैद्धान्तिक, प्राविधिक र व्यवहारिक विषयमा स्नातकोत्तरसम्मको अध्यापन गराउने  प्रतिष्ठित कलेजहरु छन् । दश जोड दुई पढाइ हुने तीन कलेज र विविध विषयमा स्नातकोत्तरको अध्यापन गराउने कलेजहरु छन् । स्थानीय स्रोत र साधनबाट केही एफएम रेडियो एवं पत्रिका पनि सञ्चालित छन

अन्य सहरहरुको तुलनामा यहाँ प्लटिंग व्यवसाय वा जग्गा दलाली कम रहेको उनले औंल्याए । ‘प्लटिंगबाट यो ठाउँ पनि अछुतौ छैन तर कम छ,’खड्काले भने,‘जग्गाको कारोबारभन्दा अन्य खालका आय आर्जनमा स्थानीयको जोड छ ।’

वरिपरिका अन्य सहरहरुको दाँजोमा यहाँ जग्गा सस्तो भएकाले कम आम्दानी भएका र असल मान्छेहरुको रोजाईमा यो सहर परेको छ । ‘राम्रा र बौद्धिक मान्छेले नगर बन्ने हो जोसँग धेरै पैसा हुन्न, त्यही भएर त्यस्ता जमातलाई यहाँ आकर्षित गर्न जग्गा महंगो नहोस भन्नेमा सतर्क छौं,’उनले भने ।
यस्तो सुन्दर एवं शान्त ठाउँमा बस्न एवं काम गर्न पाउँदा गर्व लागेको सुन्दरहरैंचा १० की ३० वर्षीया सोमा बस्नेत थापाले बताइन्  । झापाको गौरादहमा माइती घर भएकी उनी यो सहरकी बुहारी एवं प्रविधि सम्वद्ध एक कलेजसँग आवद्ध छिन् । ‘दल, व्यापारिक एवं सामाजिक सँघसंस्थाले यहाँ बन्द हुन नदिने सहमती गरेर ठूलो गुण लगाएका छन्,’उनले भनिन्,‘त्यही भएर यो एक दसकमा विकास एवं निर्माणका थुप्रै कार्य भएर यो थलोले काँचुली फेर्यो ।’
यहाँ हुलडंगा वा उच्छृंखल गतिविधि हुन्न । विभिन्न कारणले पूर्वी पहाडी भेक र तराईको विभिन्न थलोबाट विस्थापित भएकाहरुले समेत बन्दको प्रभाव नपर्ने शान्त माहौलले गर्दा यही बसाइ सराई गरिरहेको व्यवसायी ३८ वर्षीया लक्ष्मी राई मल्लले बताइन् । मल्लले भनिन्,‘यहाँ जसरी प्रगति भइरहेको छ, त्यो अनुरुप पाँच वर्षभित्र यहाँ सबै सेवा हुन्छन्, यो विश्वकै नमूना सहर बन्छ ।’

भूकम्पले समेत ठूलो क्षति नपुग्ने खाले चिटिक्क परेको स–साना घर र पसल यहाँको विशेषता हो । पूर्व वा मुलुकका अन्य सहरहरुजस्तो यहाँ अग्लाअग्ला घर र व्यापारिक प्रतिष्ठान छैन । ‘मुलुकले महाभूकम्पबाट बेहोरेको क्षतिबाट यहाँकाले ठूलो पाठ सिकेको हुनाले ठूला वा अग्लाभन्दा साना र सुरक्षित भवन निर्माणमा जोड दिन्छन्,’ उनले भनिन् । बाहुन, क्षेत्री, राई र लिम्बुलगायतका जातीको बाहुल्य रहेको यस भूमिका ८० प्रतिशत वासिन्दा किसान छन् । 

गत वर्ष कोसीहरैचा नगरपालिका हुँदा यो  एकै पटक १४ किमी पक्की बाटो निर्माण गर्ने मुलुककै यो एक मात्र नगरपालिका भएको थियो  । स्थानीय चार खोलानालाबाट मगग्यै बगिरहेको पानीको पूर्ण सदुपयोग गर्ने योजनालाई उक्त नगरपालिकाले प्राथमिकतामा राखेको छ ।  (कान्तिपुरमा प्रकाशित समाचारको सम्पादित सामग्री )

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad