सहकारीहरुको एकिकरण गर्नुपर्नेमा जोड

यादब बिष्ट, सिजुवा/ सहकारीहरु संख्यात्मक भन्दा पनि गुणात्मक विकासमा अगाडी बढ्नुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अध्यक्ष डि.वि. बस्नेतले बताउनु भएको छ ।
मोरङको इटहरामा बुधबार सहकारी सञ्जाल इटहराले आयोजना गरेको सहकारी एकिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । सानो सानो पूँजी लिएर सहकारी सञ्चालन गर्नु भन्दा सहकारीहरुको एकिकरण गरी ठूलो र शशक्त सहकारीको निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउदै यसका लागि सबै सहकारीहरुलाई लागि पर्न र सोच्न आग्रह भयो ।
उक्त कार्यक्रममा नेफ्स्कुन कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सहकारी एकिकरण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहकारी संस्थाहरुको वित्तिय अवस्था मजबुत बनाई दिगो विकास गर्न र सञ्चालन खर्च घटाउन एकिकरण आवश्यक रहेको कार्यपत्रमा पोखरेलले उल्लेख गर्नु भएको छ । सहकारीहरुले सदस्य सेवा र बस्तुको विकास गर्दै उच्च प्रविधिको प्रयोग गर्नु अहिलेको आवश्यकता भएको र यसको एक मात्र उपाय भनेको सहकारीहरुको एकिकरण गरी समुदायमा आधारित दिगो र भरपर्दो सहकारी निर्माण गर्नु रहेको कार्यपत्रमा उल्लेख छ । पोखरेलद्वारा प्रस्तुत कार्यपत्र माथि नेफ्स्कुनका पूर्व सञ्चालक ताराबहादुर काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङका अध्यक्ष हरिप्रसाद सुवेदी, जिल्ला सहकारी संघ लि., मोरङका अध्यक्ष डिल्लि पोखरेल लगायतका बक्ताले सहकारी एकिकरणमा जोड दिदै टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रम सहकारी सञ्जाल इटहराका अध्यक्ष कृष्णराज खतिवडाको सभापतित्व र नेफ्स्कुन अध्यक्ष डि.वि. बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *