तीन पुस्ताको एउटै पेशा, अढाई रुपैयाँको कैँचीले करोडौंको सृष्टि

दमक /२०२० सालमा बिराटनगर छोडेर दमक आउदा झापा दमक–१४ का दहाउर ठाकुरसंग २ रुपैया ४५ पैसाको कैँची र ४५ पैसाको छुरा हातमा थियो । अहिले उनी दमक जस्तो महंगो शहरमासंग १० धुर जमिन छ । उनी घर बनाउने तयारीमा समेत छन् । यो सबै आफ्नो कडा परिश्रम र नाइ (कपाल काट्ने)पेशाको पुस्तान्तरण नै प्रमुख रहेको ठाकुर बताउँछन् ।

हजुरवुवा दहाउर ठाकुर

उनका छोरा बिनोद र नाती सन्तोष पनि अहिले यहि पेशालाई निरन्तरता दिईरहेका छन् । हजुरबाले काठको पिरा देखी सुरु गरेको यो पेशा अहिले सम्म आईपुग्दा दमक–११ मा संगम हेयर ड्रेसर सैलुनको नामले परिचित भईसकेको छ । उमेरले ७० बर्ष पुगेका दहाउर दमक आउदा त्यती बस्ती थिएन । अहिलेको बिकाश देखेर उनी छक्क पर्छन् । यहि बिकाश संग संगै कपाल काट्ने तरिका र शैलीमा समेत बिकाश भएको उनी बताउँछन् । दहाउर भन्छन्–“ पहिला हाम्रा पालामा बंगला कट, ब्रस कट र इंग्लिश कट थियो । अहिले आएर के–के हो के–के । कसैले रोनाल्डो त कसैले मग कट भन्छन् ।” पहिला आफ्ना पालामा कैँची र छुरा बाहेक अरु केहि नहुने तर अहिले कपाल काट्ने मेसिन हुनाले धेरै सजिलो हुने गरेको उनको भनाई छ । “बिकाश धेरै भयो यो पेशामा अनि ब्यवसायीक पनि बन्दै गयो । अबका पुस्तालाई हाम्रो जस्तो दुःख गर्नु पर्दैन ।”

छोरा बिनोद ठाकुर

त्यस्तै उनका ४२ बर्षिय छोरा बिनोद आफ्नो समयमा भने अलि फरक रहेको बताउँछन् । उनका पालामा हिन्दी फिल्मका हिरोहरु अजयदेवगान, सञ्जय दत्त र मिथुनको हेयर स्टाईलको बढी प्रचलन रहेको बिनोदको भनाई छ । अहिले यो सैलुनमा दैनिक जसो न्युनतम १५–२० जना कपाल काट्न आउने गरेका छन् । दिनको १५ सय जस्तो    बस्ने गरेको बिनोदले बताए । खासै कमाई नभए पनि जिविका चलिरहेकोले यहि पेशालाई निरन्तरता दिने उनको बिचार छ । अहिले कपाल काट्ने बिधि र प्रयोगमा आधुनिकिकरण आएको उनले बताए । बिनोदले भने– “बुवा त अहिलेको परिबेशमा चल्न गाह्रो छ । कतिपय हेयर स्टाईल उहालाई थाहा छैन तर पनि सामान्य कपाल काट्ने गर्नुहुन्छ । बसेर खाने उमेरमा पनि सैलुनमा सहयोग गरिरहनु भएको छ । धेरै खुशी लाग्छ ।”

नाती सन्तोष ठाकुर

२२ बर्षका सन्तोष भने अहिलेको पुस्ताका लागि सुहाउने कपाल काट्छन् । उनले कुनै ब्यवसायिक तालिम लिएका छैनन् तै पनि उनलाई कपाल काट्ने नया नया प्रबिधि र स्टाईलका बारेमा जानकारी छ । अहिले दमकमा चलेको हेयर स्टाईलमा हाफ स्टेफ, मग, रोनाल्डो तथा सेग्गी लगायतका रहेको उनी बताउँछन् । कपाल काटेरै अहिलेको समयमा जिवन धान्न सकिने कुरामा सन्तोष बिश्वस्त छन् । आफुहरु संगैका साथी भाई बिदेशी गएका छन् तर पनि उनी यहि पेशालाई ब्यवसायिकता प्रदान गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाउने सोचमा छन् । “ साथीभाई बिदेश गएर पैसा कमाएको देख्दा कहिले काँहि त बिदेश जाउ जस्तो लाग्छ तर फेरि बरिष्ठ हेयर डिजाईनर निल डेबिटलाई संझिन्छु । आखीर गर्दा त यो पेशाले पनि त संसार चिनाउँदो रहेछ ।”

दहाउर ठाकुर भने आफ्ना सबै पुस्ताले यहि पेशा अंगालेकोमा अत्यन्तै खुशी छन् । आफुले दुःख गरेर अहिले यो स्थान सम्म परिवार आईपुगेको बताउदै उनले छोरा र नातीले पनि सक्दो साथ दिएको बताए । आफुले काम गर्दाको बेला र अहिले यो पेशामा धेरै परिर्वतन भएको उबले बताए । उनले भने–“मेरो पालामा कपाल काट्ने लाई ज्यादै हेप्ने गरिन्थ्यो तर अहिले यो पेशामा सबैले सम्मान नै गर्छन ।”यहि पेशाले ठाकुरले अहिले ८ सदस्य सहितको परिवार चलाई रहेका छन् । रासन पानी , कोठाभाडा , लत्ताकपडा , स्वास्थ्य र शिक्षाका लागि समेत पुगिरहेको उनी बताउँछन् ।

प्रस्तुती : लोकनाथ रिजाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *