अरबमा भेटिएका एक अब्बल गीतकार

आंशु दियौ उपहारमा
अस्वीकार गर्न सकिन।
छछल्कीन्छ आँखाबाट
जतन गर्न मैले सकिन।।
लिखित रुपमा यो गीत अगाडि नै लेखिए तापनि यो गीतले पुर्ण रुप लिएको भने धेरै भएको छैन । यस गितको रेकर्डिङको लागि थोरै समयको कारण रविले हतार हतार  गर्नुपरेको थियो । तापनि यो गित एल्बम भरीकै उत्कृष्ट  गित बन्न पुग्यो। ‘उत्कृष्ट बनेछ नि भन्ने सोधाईमा गितकार मात्र मुसुक्क मुस्कुराए र यति बोले – “त्यो त श्रोता र तपाईं हरुले नै मुल्यांकन गरिदिनु पर्ने कुरा हो“।

दुईवटा गितार, दुईवटै साउण्ड सिस्टम र माईक्रो फोन अनि एउटा पियानोले सजिएको यो रुम सांगितिक जमातको रुम हो। बिदाको दिनभन्दा पहिलो रात यो रुममा संधै हुने गरेको छ सांगितिक खैलाबैला र सांगितिक अभ्यास। प्रबासमै रहेता पनि नेपाली संगितको लागि केहि गर्न खोज्ने जोसिलो जांगर छ यो जमातका तन्नेरीहरुसंग। कोठाको पल्लो कुनामा रहेको एउटा बेडभरी नबुझिदो जस्ता स-साना अक्षरमा लेखिएको कागजका टुक्रा र पन्नाहरु असरल्लै देखिन्छन।

“यी टुक्राटुक्रा पानाहरुमा एउटा ठूलो इतिहास पनि त हुन सक्छ नि ” ।  रवि लामाको यो भनाईले मलाई नराम्ररी झक झक्याउन पुग्छ। र म घोत्लिन थाल्छु ती टुक्राटुक्रा पानाहरुको नबुझिदो जस्ता अक्षरहरु भित्र, र म निफन्न थाल्छु ती अक्षरहरुलाई र खोज्न थाल्छु एउटा नबोदित र  सम्भावित गितकार रबिन्द्र राईलाई।

पुर्बी नेपालको भोजपुर लेखर्क ४ मा बि.स २०३५ बैशाख १५ गतेका दिन यस लोकमा अवतरण हुन पुग्दा रबिन्द्र राईलाई पिता बल बहादुर राई र माता साबित्र राईले किरातीले लाहुरे हुनु भनेर आशीर्वाद दिएका थिए होला। सायद रबिन्द्र राईले माता पिताको आशिर्वादलाई सार्थक तुल्याउन लाहुरे अभ्यासको लागि घाम नउदाउदै लेकखर्कको उकाली र ओरालीहरुलाई खर्ल्याप्पै पाईतालाहरुले छिचोली सक्थे होला । तर बिडम्बना रबिन्द्रलाई के थाहा थियो र जिन्दगी अन्तत: अरबको उराठलाग्दो मरुभूमिमा पनि आईपुग्छ भन्ने।

बिगत केही सालदेखि रबिन्द्र साउदी अरबमा छन । प्रचण्ड गर्मीमा हत्केलामा बग्दै गरेको पसिनासंगै रबिन्द्र गित पनि कोरिरहेछन निरन्तर । रबिन्द्र भन्छन “गित लेख्नु भनेको भावनामा बग्नु हो ” ।

एउटा रेकर्डित गित समेत गरी रबिन्द्रले संख्यात्मक तवरले तीस पैंतीस वटा गित लेखिसकेका छन् ।
केही गितहरुमा रेकर्डिङको लागि आफै संगित पनि गरिरहेका छन्  ।
सांगीतिक आकाशमा गितकारको स्थान पहिलो श्रेणीमा पर्छ । एउटा टुकी जस्तो जसले आफू अंध्यारोमा रहेर अरुलाई उज्यालो दिने तिनै गीतकार  गायक र संगितकारको तुलनामा हेपिदो अबस्थामा  छन् । तर पनि रबिन्द्र निराश छैनन् । आदिबासी भुमी र  प्रकृतिसंग रबिन्द्र भौगोलिक रुपले टाढा भएपनि भवनात्मक रुपले नजिक छन् ।  जनजातीको संस्कार र सांस्कृति संगत उनी स्वयम एक यथार्थ बिम्ब हुन् ।

चांप र चिमल बन भरी फुल्यो, लाग्यो नि उभौली ।
दिनदिनै तिमीले भुल्यौ कि क्याहो, लाग्दैन बाडुली ।।
उभौली र उधौलीको मुन्धुमी आदिम आख्यान किराँतीहरुको संस्कारमा बिछटटै सुन्दर तरिकाले हुन्छ  ।  किराँती हुनुको नाताले यस्ता आदिम बिषय बस्तुहरुलाई गितमा निखन्नु रबिन्द्रको लेखकीय जिम्मेवारी पनि हो । पुराना तर मौलिकता झल्किने बिम्बलाई रबिन्द्र आफ्ना गित हरुमा सहज तवरले प्रतिबिम्बित गर्नमा व्यग्र देखिन्छन्  ।

चौबन्दीको तुनामा मुर्चुंगा र बिनायो।
झनै राम्रो शिरबन्दी मन मेरो भुलायो।।

धरातल, मातृभुमी तथा जन्मभुमि प्रतिको माया अनि संस्कार र पहिचान प्रतिको स्नेह गितकार वा कलाकारहरुको दायित्व र जिम्मेवारी पनि हो । त्यही जिम्मेवारलाई सम्बोधन गर्दै रबिन्द्र गितको  पंक्ति लेख्छन-
शिरमा गुराँस सिउरेर लेकबेंसी धाउनेलाई।
लैबरीको भाकासंगै साकेलामा गाउनेलाई।।

उसो त शब्दसिल्पी सिमित धर्काहरुमा मात्र सदा सर्बदा अडिरहन सक्दैनन्  श्रस्टाहरु । संस्कृति पहिचान र बस्ति हुदै रबिन्द्र सिंगो समग्र रास्ट्र सम्म पनि  पुग्छन ।
लहलह धान झुलेको बेंसी फांटतिर।
बिश्वसामु सान हाम्रो चोमोलुंङमा शिर।।

टुक्रा टुक्रा पानामा अबस्थित आफ्ना छरपस्ट गितहरुलाई पुस्तक आकार दिने रबिन्द्रको भाबी योजना छ। तर अहिले पैसामा बिक्ने यो बजारमा पैसा नहुनेहरुले जति नै राम्रा सिर्जना गरेता पनि ती उत्कृष्ट सिर्जनाहरुलाई पैसाले बिस्थापित र स्थापित गराउने प्रचलन बढेकोमा उनी पिरोलिएका छन्  ।

पैसा नहुने राम्रा श्रष्टाहरु त्यतिकै विलय हुनुपर्ने यो अबस्थाले आफू दु:खी रहेको उनी बताउँछन् ।

गित लेख्नुको अलावा पेन्टिङमा पनि उनको गहिरो लगाब रहेको छ । नेपाली हस्ताक्षर गितकारहरु श्रवण मुकारुङ, भुपाल राई र टीका चाम्लिङ्गका कलमहरुबाट रबिन्द्र बढी प्रभावित छन् ।
रबिन्द्रको बुझाइ छ अहिलेका थोरै गितकारहरुले यथार्थलाई चित्रण गरेपनि धेरैले काल्पनिकतालाई अंगालेर लेखिरहेछन।

उहिले रेडियोले गित बजाउदा रचना फलानो अनिवार्य भन्थ्यो। हिजोआज जिल्ला जिल्लामा  एफ एम रेडियो स्टेसनहरु स्थापित भएका छन् । यसो हुदा सबै बिधाका श्रष्टाहरुले बढी  स्थान पाउनु पर्ने हो । तर यिनिहरुले त झन संगितकार को हो,  रचनाकार को हो नाम निसान लिदैनन् । खाली यो गित र यसको स्वरमा भनी कखरा भट्याएसरि भट्याएर आफू उदघोषक हुनुको चतुर्‍याइँ देखाउछन् ।

मिडियाले के गर्न खोजेको हो त ? रबिन्द्र जबाफ दिन्छन – “अहिले मात्र नभएर मैले थाहा पाए देखिनै मिडियाहरुले गितकारलाई बेवास्ता गर्न खोजेको जस्तो लाग्छ ” ।
एकजना राम्रा गित गाउने ब्यक्तिसंग भेट गराई दिन्छु भनी सैलेन्द्र नामका भाईले एक दिन रबिन्द्रलाई साउदीमै भेट गराई दिएका थिए । तिनै राम्रा गित गाउने ब्यक्ति आज आफू निकटको गायक भएका छन्  । ती गायक रवि लामासंगको  त्यो  प्रथम भेट आफ्नो लागि स्वर्णिम पल बनेको रबिन्द्र बताउछन् ।

भेट्नु छुट्नु , हास्नु रुनु अनि दुख सुख,  जिन्दगी को अनिवार्य कार्य तालिका हो। यो कार्य तालिकाबाट रविन्द्र पनि बिलकुल छुटेका छैनन। जिन्दगीका पहाडहरु चढ्दा चढ्दै कयौं पटक लडे होलान् ।  आफ्नो जीवन पनि अरुको सरह नै आरोह अबरोहमै बित्ने गरेकोले त्यही जीवनलाई रबिन्द्रले गितमा प्रतिबिम्बित गर्छन् ।
कैयौं पटक ठेस लाग्यो, जीन्दगीको बाटो भरी।
कहिलेको बर्षे झरी, कहिलेको आंधी हुरी।।

कयौंपटक ठेस लागेपनि या बर्षेझरी र हिउंदे आंधीमा जीवन फस्न खोजेपनि यो यात्रादेखि रबिन्द्रका पाईलाहरु कहिल्यै नथाकोस हार्दिक शुभेच्छा । पुछारमा रबिन्द्रको सन्देश स्वरुप रबिन्द्रकै एक पंक्ति –
दुख्नुपर्ने तिम्रो मुटु , छिन्ताङ काण्डले…
कुम्भकर्ण जस्तो सुत्छौ, किन ए किराँती हो ?                              ( यो सामग्री केही समय अघि तयार गरिएको हो , गीतकार हाल नेपाल आएका छन्  ) – प्रस्तुति : कोशी किनारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *