अम्बिका भण्डारी

शक्तिको पछाडी लाग्ने दुनियाँको साम्राज्य भनौं संस्कार जन्य मुलुकमा लामो समयसम्म छि छि , दुरदुर अनि हेला भोगेका शरणार्थीहरुको दिन फेरिएको छ अचेल अरुको नजरमा l त्यसैले पहिले कहिले के त कहिले के भन्दै खिसिट्युरी गर्ने त्यहि बाहिरिया समाजका थुप्रै मनुवाहरू भुटानी युवतीहरुसंग सल्किएर अमेरिका पुग्ने भर्याङ खोज्न लालायित पनि नभएका होइनन् l कति नेपालीहरु भुटानी युवती वा युवकसँग साइनो जोडेर अमेरिकन सपनालाई साकार बनाउन सफल पनि भएका छन् l

पहिले तेस्रो मुलुक जानहुन्न भनेर शरणार्थी उचाल्ने थुप्रै भुटानी नेताहरु उहिल्यै अरुले पत्तो पाउलान् कि झैं गरी अमेरिका क्यानाडातिर सुईकुच्चा ठोकिसकेका छन् , शरणार्थीहरुको बकाइ अनुसार l त्यसैले पहिले अमेरिका वा अन्य मुलुक नजाने र आफनै मुलुक फर्कने अडान लिनेहरु खोज्दा पनि नभेटिएलान् कि जस्तो भैसकेको छ अब l सातवटा शिविरहरु खुम्चिएर ३ वटामा भैकन पनि दिनहु अमेरिकातिर जान आइओएम अफिस धाउनेहरू देखिईरहंदा शिबिर रित्तिनेतर्फ गैरहेको छ l र कोहि प्रफुल्लित हुँदै त कोहि बिरक्तिदै अमेरिकातिर पलायन हुने शिलाशिला चलिरहेको छ निरन्तर l

एकदिन दमक बजारबाट बेलडाँगी शिबिर जानु थियो काम बिशेषले l काम र ध्येय जे भएनि दमकबाट उकालो लाग्दाका सहयात्रीहरु चाहिं भुटानी भेटिए l त्यसैले मनमा उब्जिएका कुराबाट गफिंदै बेलडाँगीतिर लागियो l अमेरिकातिर जाने तरखरमा थिएछन् ती भुटानीहरु युवा l त्यसैले एक कोरी भन्दा माथिको बर्षगांठमा नेपाल रहंदा बस्दाका सम्झौंनी बिर्सौनीका कुरा गर्न म जस्तै इच्छुक थिए अपरिचित ती साथीहरु l त्यसैले नेपाल र नेपालीले लगाएका गुण र अबगुणबारे केहि कुरा पोखे एकजनाले l अनि मैले मलाइ सोध्न मन लागेको प्रश्न तेर्स्याएँ – नेपालमा यत्तिका बर्ष बिताएर अमेरिका जान लाग्नुभएछ यो अबस्थामा खुसी हुनुहुन्छ कि दुखी ?

मेरो प्रश्न सुनेपछि एकजना साथीले प्रतिप्रश्न गर्दै बोले – खै… दाइ खुसी भनौं वा बेखुसी के भनौं हौ ? खुसी भनौं त भुटानी शाषकले धपाएर घर न घाटको भएका बेलादेखि यत्तिका बर्षसम्म बसेको भुमी छोड्नुको पिडा आफ्नो मुलुक छोड्नुभन्दा कम पीडादायी नहुँदो रैछ l बेखुसी भनौं भने बेवारिसे भएको हाम्रो जीवन जता र जसरी भएपनि ठेगान लगाइदैछ l अमेरिका जान पाइयो भनेर खुसी भन्दा बढी बेखुसी यस अर्थमा छौं कि हाम्रो परापुर्व कालको पुर्ख्यौली थलो नेपालको सत्ताले हामीलाई पहिचान दिलाउनेतर्फ सकारात्मक रुपले सोचेन l खासगरी गिरिजा प्रधानमन्त्री भाबेलादेखि हामीले देख्दा देख्दै मधेशीका नाममा धेरै इन्डियन सहित ६०/ ७० लाखभन्दा बढीलाई नागरिकता बाँडियो l निरन्तर हजारौं आयातित भारतीयहरुले राति आएर दिउँसो नागरिकता लिए l नेपालको कानुन अनुसार १०/ १५ बर्ष नेपालमा बसोबास गरेपछि मात्र नागरिकता दिनुपर्ने हो तर आज आएर भोलिपल्ट नागरिकता लिएर जाने र दुवैतिरका नागरिकताधारी थुप्रै छन् भन्ने सुनिन्छ l तर हामीले नेपाल आएर १५/२० बर्ष बिताउँदा पनि नागरिकता त के नेपालबाट कुनै पहिचान पनि पाउन सकेनौं l बरु उल्टै खैरेहरुको तिर धपाउने अवस्था सिर्जना गरियो l

हामी भुटानी शरणार्थीहरुलाई नागरिकता दिनैपर्थ्यो ,हामी त्यसका हकदार थियौं भन्न खोजेको होइन तर ६० लाखलाई नागरिकता दिंदा हामीहरुलाई पनि पहिचान दिएको भए हामीले पनि त नेपालको लागि केहि गर्थ्यौं होला नि ! नेपालीहरुसंग हाम्रो संस्कार , रहन सहन सबै मिल्थ्यो ,हामी त एकलाख पनि थिएनौं l तर भारतीयहरुले नागरिकता लिएर मधेशतिर कति उपद्रो गरेका छन् ! कहिले भूमिगत गिरोहका नाममा पहाडियालाई खेद्ने मार्ने, कहिले पुलिसलाई जिउंदै जलाउने त कहिले मधेशलाई अलग्गै देश बनाउनुपर्छ भन्दै उपद्रो मच्चाउने l अझ तराईलाई पहाडसँग जोड्न हुँदै हुन्न भन्दै तराइजति जम्मै एउटा राज्य हुनैपर्छ भन्छन् , यस्तो लाग्छ मानौ पहाडे मुलका मान्छे आफुलाई मधेशी हौँ भन्ने भन्नेहरुका दुश्मन नै हुन जस्तो l बिहारबाट नेपालको मधेश अलग हो , दशगजा मिच्न पाइंदैन भनेर कहिलै नबोल्ने अनि तपाइँ मधेशी कि नेपाली भनेर सोध्दा मधेसी हौँ मात्र भन्ने नेपाली भन्न नै नखोज्ने ‘मधेसी’ नेताहरुको नियतमा कसरी विश्वास गर्ने ?
म अलि नर्भस भएँछु क्यार तिनको कुरा सुन्दा सुन्दै , त्यसैले प्रसंग बदल्दै अर्का भुटानी युवाले प्रसंग फेरे – तर जे होस् नेपाल हाम्रो मन मस्तिष्कबाट कहिले हट्नेछैन l जसले हामीमध्ये धेरैलाई जन्मायो, हुर्कायो , बढायो र पढायो पनि l त्यसैले एक पाटोबाट बेखुसी भएनि अर्कोतर्फ खुसी मानेरै हामी नेपालबाट बाहिरिदैछौं l मातृभुमीको पहिचान गुमाएपनि अब हामी बेवारिसे हुनुपर्नेछैन यस अर्थमा खुसी नै छौं l तर समग्रमा न खुसी न बेखुसको अबस्था हो हाम्रो l
आधा एक घण्टा जतिकोको बातचितमा भनौं भुटानी युवाको गफ गराइमा अत्यन्त ठुलो दम थियो, मेरो बुझाइले त्यस्तै अर्थ्यायो l एक भुटानीले उनको दायराभन्दा बाहिरिएर मनको बह पोखेपनि ती भुटानी युवाको तर्कले निकै गहिरो प्रभाब पार्यो मेरो मानसपटलमा l त्यसैले मैले पनि अलि नर्भस हुँदै आफुमा नेपाली भएर भोग्नुपरेका कुण्ठा , पिडा र स्वभाब अनि संस्कारको बारे अलि अलि तितो पोखें l हाम्रो पहिचान भएर पनि राज्यका कारण जनतामा धेरै कुराहरु नभएको तर भुटानी शरणार्थीहरुमा क्षमता र संस्कारको हिसाबले धेरै कुरा भएको तर्क राखें l यात्रा गन्तब्य उन्मुख भएकोले त्यस्तै गन्थन मन्थनमा कुराको बिट मारेर छुट्टियौं l
किन हो किन म अझै पनि ती साथीलाई मिस गरेको अनुभूत गरी तड्पिरहेको महसुस भैराछ l एउटा परिचित र हितैषी मित्रसँग टाढिदा त्यसरी तड्पिन्न होला झैं लाग्छ , जसरी अपरिचित भुटानी युवासँग टाढीदा तड्पिरहेको छु अझैसम्म पनि  l

438 total views, 0 views today

तपाईको प्रतिक्रिया