जम्मा तीनपटक मात्र जुँगा काटेका कार्की, जो जुँगा पालेको तलब थाप्थे


उर्लाबारी
/ जुँगा पाल्ने आफ्नै तरिका र सोख हुन्छ । पहिलेपहिले ‘जुँगामा ताउ लाउँदा फुर्ती आउँछ र विचार बढ्दछ’ भन्ने मान्यताका साथ जुँगा पाल्ने गरिन्थ्यो  । तर पछिल्लोपटक काट्न अल्छी लागेर हो वा जुँगाकै रहर भएर हो, युवापुस्तामा छेउछेउमा चुच्चो पारेको कालो जुँगाको फेसन नै चलेको छ । तर, उर्लाबारी–६ मंगलबारेका मिनबहादुर कार्कीले भने बामे सरिरहेको बेलादेखि नै जुँगाको भारी सोख थियो । त्यसैले ८६ वर्षको उमेरसम्म जुँगा पालिरहनुभएको छ ।
नागबेली तरिकाको जुँगामा भेटिनुभएका कार्कीले हालसम्म तीनपटक बाहेक जुँगा काट्नुभएको छैन । आमाबुवा स्वर्गारोहण हुँदा जुँगा काटेको बताउनुहुने उहाँले २६ वर्षको उमेरदेखि जुँगा पाल्न थाल्नुभएको हो । ‘जुँगा नाकको पाले हो’ उहाँले भन्नुभयो, ‘नाकबाट सास लिदाँ धूलो कसिंगर नाकमा पस्न दिँदैन ।’
 भारतीय सेनाका जागिरे कार्कीले सेनामा हुँदा जुँगाबापत तलब पाउनुहुन्थ्यो । १७ वर्ष सेनामा जागिर गर्नुभएका उहाँको त्यतिबेला जुँगाको भत्ता सात रूपैयाँ थियो । पल्टनमा आफूलाई सबैले ‘जुँगे हवल्दार’ नामले चिन्ने गरेको बताउने उहाँ जुँगा घुमाएर नागबेली बनाउन निकै समय लाग्ने र सम्भार गर्न नै कठिन हुने बताउनुहुन्छ ।

जुँगा धाक र फूर्ती बढाउने साधन रहेको बताउने उहाँले जुँगा देखेर धेरैजसो मानिस डराउने गरेको स्मरण गर्नुभयो । ‘मेरो नजिक पर्ने मानिसहरू त मैले जुँगामा ताउ दिई आँखा तरेर हेरेपछि थुर–थुर काँप्थे’ उहाँले भन्नु भयो ।
जुँगाको कारण आफूदेखि डराउनुका साथै जुँगाँकै कारण देख्यो कि छलीछलीकन हेर्ने पनि गरेको उहाँको भनाइ छ ।  – ईश्वर भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *