Samyentra Dot Com

गृहपृष्ठ » साहित्यस्वास्नी पोइल गई (कथा)

स्वास्नी पोइल गई (कथा)

December 30, 2016१३८० पटक

– दीप जलन

माघे झरी पश्चात कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका बेला थिए ।  म खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको थिएँ,  त्यत्तिकैमा मास्तिरबाट एक जना मानिस पागलसरि बर्बराउदै तल झर्‍यो।

‘स्वास्नी कता गई मेरी, स्वास्नी कता गई !’

‘स्वास्नी पोइल गई मेरी, स्वास्नी पोइल गई।’

‘सत्ता हत्याउने दाउमा आरक्षणको नारा घन्काउनेहरूको सत्यानाश होस्।’

‘विदेशी भाषालाई अंकमाल गरी स्वदेशी भाषाहरूलाई लत्याउनेहरूको सत्यानाश होस् ।’

‘राष्ट्रिय जनशक्तिलाई विदेश जान बाध्य पार्नेहरूको सत्यानाश होस्।’

‘सत्यानाश होस् ! सत्यानाश होस् ! सत्यानाश होस् !’

उठेर यसो हेरेको रामप्रसाद पो रहेछ । अनि, हातले भाउ लगाउँदै भनेँ, “के पागलसरि कराउँदै हिँडेको ?”

‘को पागल ?’ भन्दै मतिर फर्क्यो र झस्यांग भएजसरी भन्यो, “ओहो ! काका नमस्कार ! कहिले आउनुभो काठमाडौँबाट?”

“हिजो बेलुका, अनि कता हो कराउँदै ?”

“खै ! कता भनुम् काका” अलि भावुक बनेर भन्यो “मेरी त स्वास्नी पोइल गई, काका !”

“के भन्छ यो ? कहाँ गई, कहिले, कोसँग गई ? जे पायो त्यही बोल्दै हिँड्ने ? फुस्कियो कि क्या हो ! कतै गएकी होली, आइहाल्छे नि, एक-दुई दिनमा !” अलि रिसाएको भावमा मैले भनेँ ।

“खै ! आउने गरी हिँडेकी हो जस्तो लाग्दैन काका मलाई त !”

“किन ? चर्को झगडा भयो कि क्या हो !”

केही सोचेझै अमिलो मन बनाएर मधुर स्वरमा भन्यो, “त्यस्तो झगडा त केही भएको होइन ।” फेरि एकछिन रोकिएर भावुक हुँदै भन्यो, “गत वर्ष उपचारकै क्रममा सानो बाबुको …।”

‘के रोग लागेको थियो र ?’ मैले बिस्मातको भावले सोधेँ।

“थाहै भएन, कहिले ज्वरो एक्कासि बढ्ने, कहिले घट्ने भइरहेको थियो । सन्चो होला नि भनेर आठ-दस दिनजति बाटो हेरियो, घट्दै घटेन। गाउँतिर सबैले कराउन थाले। अनि खर्च खोजखाज बनाएर भरतपुर लगेका थियाँै। त्यही बेलामा के भएर हो डाक्टरहरूको आन्दोलन भएर अस्पतालजति सबै बन्द रहेछन्। फाट्टफुट्ट क्लिनिकहरू मात्रै खुलेका थिए। उनले त लैजाऊँ भन्दै थिइन्। असाध्यै महँगो हुने डरले लगिएन।” आँसु पुछ्यो र फेरि भन्यो, “नगर्ने गल्ती गरिएछ ।”

“अरू बच्चा ?”

छैनन् भन्ने भावमा केवल टाउको हल्लायो।

“त्यसपछि ?”

केही सम्हालिएर रामप्रसादले भन्यो “त्यसपछि धेरै नबोल्ने, सानो कुरामा पनि रिसाउने, मान्छे जम्मा भएको ठाउँमा नजाने। कस्ती कस्ती भएकी थिई।  गएको मंसिरमा मेरो भान्जाको बिहे थियो। बिरामी भएको बहाना बनाएर बसिरही । जति कर गरेपनि बिहेमा गइन ।

पछि बुझ्दा थाहा भयो। बिहेमा जाँदा लगाउने गहना थिएन। त्यसैले उसकी दिदीसँग भनिछ। दिदीले कता हो बिहेमा जानुपर्ने भएकाले गहना दिन सक्दिन भनिछन्। फेरि उसैकी बहिनीसँग भनिछ। बहिनीले पनि बैंकमा छ भनिछ। उसकी भाउजूसँग पहिले खोइ के कुरामा हो ठाकठुक परेको थियो, त्यसैले भन्दै भनिनछ। यता मेरा दिदीबहिनी सबैले त्यही बिहेमा जाँदा लगाउन परिगो। छिमेकमा माग्दा पनि गहना नपाएपछि बिहेमा नगएकी रे ! त्यसपछिका दिनमा खासै खुलेर गफ गरेकी थिइन। बेलाबेलामा वचन लगाउँथी। आफ्नो कमाइ नभएपछि सबैले वचन लगाउँदा रहेछन् भन्ने सोची म सहेरै बस्थेँ।”

“पढ्ने बेलामा यस्तो बुर्जुवा शिक्षा पढेर के काम भन्दै नेता बनेर दुनियाँलाई थर्काउँदै हिँड्यौँ। अहिले आफूलाई एक पेट खान र एकसरो लगाउन पनि चम्धारा रुन परेको छ। यस्तै यस्तै …। ऊ कराइरहन्थी म नबोलीकन बस्थेँ, के झगडा भन्नु त्यस्तो नि ?”

” कस्ता वचन लगाउने के भन्थी र ?”

“तिमीले मास्टर डिग्री सकेको भन्या होइन र?”

“हुन त हो नि, पहिला द्वन्द्वकालमा यस्तो शिक्षाको काम छैन। यो त बुर्जुवा शिक्षा हो भने सबैले। हो रहेछ क्यारे भनेर पढिएन। पछि फेरि यही शिक्षा ठीक हो अरे भने। त्यसपछि फेरि पढ्न सुरु गरेँ। पढ्दापढ्दै सम्पत्ति पनि सकियो। नेपालीमा एमएड गरेको त हो उमेर घर्किन लागिसक्यो ।”

“अनि, शिक्षा आयोगको परीक्षा दिएनौ ?”

“१७ वर्षसम्म आयोग नै खुलेन। बल्ल यसपटक खुल्यो र दिएको, त्यही पनि भूतले खाजा खाने बेला परेछ, आफू परियो बाउन। महिला, दलित, जनजाति, अपांग, मधेसी, सीमान्तकृत के के, के के भन्दाभन्दै आफ्नो नामै निस्केन।

त्यो दिनदेखि ‘यस्ता नामर्दले किन बिहे गर्नुपरेको ? स्वास्नी पाल्न नसक्ने हुतिहारा !’ यस्तै यस्तै भनेर कराइरहन्थी। मलाई देखेपछि ऊ कराइरहने भएकाले म जागिरकै धुनमा हिँडिरहन थालेँ। चिनजान भएकाहरूसँग रुने, कराउने, भनसुन गर्ने सबै भइसक्यो। खै ! कतै केही मेसो मेलै भएन। दिग्दार भएर काठमाडौँका बोर्डिङ्हरूतिर छिर्न थालेँ। त्रिविका प्राडाहरू क्याम्पसमा एक-दुई पिरयिड पढाएर बोर्डिङ्मा धाउँदा रहेछन्। फेरि तिनीहरू हाम्रा कुरै सुन्दा रहेनछ। म आजित भइसकेँ काका, आजित।”

“अब आत्तिएर पनि हुँदैन, कराउँदै हिँडेर पनि केही छैन। फेरि शिक्षा आयोग चाँडै खुल्छ भनेका छन्। बरू राम्रोसँग पढ। अर्काेपटकचाहिँ नाम निकाल्नुपर्छ।”

“पढेर के गर्नु ? साँच्चै भन्दा भएभरका सर्टिफिकेट त्यही त्रिविको आँगनमा लगेर च्यातूँजस्तो भएको छ । सर्टिफिकेटको थुप्रो देखेपछि मन झन् पोलेर आउँछ। बरू आफैँले उछिन्दिएपछि ढुक्कै।”

“गएको असोजदेखि ४० वर्ष लागेँ, अब शिक्षा आयोग दिनै पाइँदैन। विदेश जाऊ, हर्के साहिँलाको छोरो मलेसिया गएको आज २० वर्ष भइसक्यो, बेपत्ता छ। आफ्नै देशमा त आरक्षणको नाउँमा सौताका छोराछोरीजस्तो गरेका छन्। अझ विदेशमा त के ? फेरि यो बुढेसकालमा । मैले त चित्त बुझाउने ठाउँ नै पाइनँ हौ काका। आफूले आफैलाई सम्हाल्न गाह्रो भइसक्यो।” अनि, ऊ थचक्क बस्यो र बरर आँसु चुहायो।

“कति दिन भो उनी हिँडेको ?”

“थाहै भएन काका। एक महिनाजति भयो, म जागिर खोज्ने सिलसिलामा काठमाडौँ गएको थिएँ। एउटा सानोतिनो जागिरजस्तो भेटियो र उतै थिएँ। बुबाआमा बितिहाल्नुभो, दिदीबहिनी आ-आफ्नै घरमा। ऊ घरमा एक्लै थिई। त्यसैले दुवै जनाले काम गर्न मिल्ने खालको भएर उसलाई लिन आएको, ऊ त हिँडिसकिछ।”

“कस्तो जागिर? केमा काम पायौ ?”

“जागिर भन्ने कि, के भन्ने अब ?”

“भन न, केमा हो ?”

“रातमा चाउचाउ, बिस्कुट आदिका विज्ञापन भएका पम्प्लेटहरू टाँस्दै हिँड्ने हो। एउटा टाँसेको पाँच रुपियाँका दरले दिन्थ्यो। एक रातमा त्यै सयवटाजति टाँस्थेँ।”

“रातमा एक्लै, डर लाग्दैन ?”

“डर त लाग्छ नि काका। अरू डरभन्दा पनि प्रत्येक दिन हाकिमले एउटा बाटो बताउँथ्यो। त्यो बाटोका मुख्य मुख्य ठाउँमा टाँस्नैपथ्र्याे। त्यस्ता महत्त्वपूर्ण ठाउँमा अरूले पहिल्यै टाँसेका हुन्थे। अरूले नदेख्ने गरी टाँस्दै भाग्नु पर्‍यो। फेरि अरूले भेट्टाए भने त मारहिाल्छन् नि ! साथी हुन्थी भनेर लिन आएको, यता यस्तो पो भएछ।”

“ऊ हिँडेकी नै होली र ? दुई-चार दिनमा रिस मरेपछि आउली नि?”

आउँदिन भन्ने भावमा घोसे मुन्टो लगाएर टाउको हल्लायो। अनि, झोलाबाट एउटा पोको झिक्यो र मतिर सारििदयो।

कौतूहल बन्दै मैले सोधेँ, “यो के हो?”

“हेर्नु न खोलेर,” आँसु पुछ्दै भन्यो।

कालो प्लास्टिकको सानो पोको छिटोछिटो खोलेर हेरेँ। पोको खोल्नेबित्तिकै दंग परेँ। अरू चीज चलाइनँ। बुझेँ, भइगो। त्यही पोकोभित्र एउटा सानो कागज रहेछ। त्योचाहिँ झिकेर हेर्न थालेँ। त्यसमा लेखिएको थियो ः

नामर्द पूर्वपति

जीवनभरिको बिदाइ !

जीवनका पन्ध्रौँ वसन्तसम्म तिमीलाई साथ दिइरहेँ तर बदलामा मैले केही पाउन सकिनँ। न साथ दियौ, न त रात दियौ। न भात दियौ, न त बात दियौ। न आँत दियौ, न त उन्माद दियौ। दियौ केबल एउटा फूल, त्यो पनि कोपिलैमा झर्‍यो। साँच्चै भन्दा तिम्रै कारणले झर्‍यो। त्यसैले नामर्दकी श्रीमती भएर बस्नुभन्दा बाटो तताउनु नै बेस ठानँे।

मलाई नखोज्नू ! किनभने, अब म तिम्री रहिनँ। तिमीले मलाई दिएको सिन्दुर, पोते, धागो, टीका पत्रसँग फिर्ता गरेकी छु। जीवनमा कतै जागिर पायौ र श्रीमती पाल्ने आँट आयो भने अर्काे बिहे गर्नू। नत्र सुखमा रमेकी अर्काकी छोरीलाई ल्याएर रुवाउने काम नगर्नू।

उही शर्मिला

पत्र पढ्दापढ्दै मेरा त गहभरि आँसु भरिएछन्। अनि, द्रवीभूत नेत्रले उसलाई यसो हेरेको मात्र थिएँ, ऊ बरर्र आँसु झार्दै रहेछ। एकैछिनको सन्नाटापछि रोकिई रोकिई उसले भन्यो, “काका हजुर साहित्यमा कलम चलाउनुहुन्छ, यदि मेरो जीवनको यो सत्य व्यथा साँच्चै कथा बन्छ भने छपाइदिनु होला।”

अनि, ऊ बाटो लाग्यो। म बोल्नै सकिनँ। अलि पर पुगेपछि के सोचेछ कुन्नि ? अलि चर्काे स्वरमा भन्यो, “काका ! कथा छपाउँदा रामप्रसाद बाउन, लाखुभीर, तनहुँ लेख्नचाहिँ नभुल्नुहोला है !”

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad