तौल ठगेर चामल बेच्ने गिरोह सक्रिय

लोकनाथ रिजाल, दमक /ब्यस्त जिवनशैली र कार्यब्यस्तताका कारण आफ्नो उपभोग्य वस्तुहरु खरीद गर्न बजार सम्म जान नसक्ने झापा दमकका उपभोक्ताहरु चामल खरीद गर्दा ठगिने गरेको खुल्न आएको छ ।

त्यस्ता उपभोक्ताहरुलाई केहि ठगहरुको सक्रिय समुहले घरमै पुगेर ठग्ने गरेका हुन् । सस्तो दाममा त्यहि पनि घरमै चामल ल्याईदिएपछि उपभोक्ताहरुले खरीद गर्ने नै भए । तर त्यस्ता ठगहरुले चामल बिक्रि गर्ने बहानामा काँटा कोल्टे बनाउने तथा हातले काँटालाई प्रभाव पारेर जोखाइमा ठग्ने गरेको प्रमाण फेला परेपछि यसको रहस्य उद्घाटन भएको हो ।

दमक उद्योग बाणिज्य संघका कार्यालय सचिब निरज बिष्ट आफैले ठग पक्राउ गरेपछि यो ठगिको रहस्य उद्घाटन भएको हो ।
यो घटना पछि दमक उद्योग बाणिज्य संघले आफै यस्ता ठगहरु खोज्न शुरु गरेको छ । बिष्टका अनुसार ३० केजि चामल भनेर उनीहरुको ढक काँटाबाट जोख्दा २४ केजिमात्र भेटिएको थियो । बिष्टले भने– चामलको वास्तविक मुल्य भन्दा ५ रुपैया घटी गरेर दिने बताएपछि शंका लाग्यो । भरे जोखेर हेर्दा त ३० केजी तौलिने क्रममा ६ केजी सम्म काटा मार्दा रहेछन् ।

बजारका घरघरमा गएर उनिहरुले हातको सफाई प्रयोग गर्दै काटा मार्ने गरेका छन् । १० केजी जोख्दा २ केजि सम्म ठग्ने गरेको पाइएपछि उक्त समुहलाई पक्राउ गरी जरिवाना तिराएर छाडिएको बाणिज्य संघका तृतिय उपाध्यक्ष ताराप्रसाद उप्रेतीले जानकारी दिए । प्रति केजी ५ रुपैँया सम्म सस्तो र घरमा नै चामल आइपुग्ने भएपछि धेरै उपभोक्ता ठगिदै आएका थिए । दमकमा आधा दर्जन जति समुह यस्तो ठगिको कार्यमा सक्रिय रहेको संघले जनाएको छ ।

अन्य समुहहरुको खोजि गर्ने काम भइरहेको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए । सस्तोको लोभ र पसल जानका लागि अल्छि मान्ने प्रवृतीका कारण उनिहरु ठग्न सफल भएको ढकालले बताए । दमकबासीहरुलाई यस्ता समुहबाट चामल लगायतका सामाग्रि नकिन्न सचेत गराइएको पनि बाणिज्य संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *