चोरीका १४ बाइक र पेस्तोलसहित ११ जना पक्राउ

गोपाल काफ्ले, पथरी । इलाका प्रहरी कार्यालय उर्लाबारीले बिहिवार चोरी भएका १४ वटा मोटरसाईकल सहित मोटरसाईकल चोरी गर्ने ११ जनालाई सार्वजनिक गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीको उपस्थितीमा प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी  चोरी गर्ने गिरोह र मोटरसाईकल सार्वजनिक गरेको हो । बिगत केहि महिनादेखि उर्लाबारी र आसपासबाट मोटरसाईकल चोरी हुने क्रम बढेपछि स्थानीयले मोटरसाईकल चोर पक्राउ गर्न दवाब दिएका थिए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राई र प्रहरी सहायक निरीक्षक दुबर्गाबहादुर पोमु समेतको कमाण्डमा खटिएको टोलीले मोटरसाईकल चोरी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङ मधुमल्ला—२ का सुसन खड्का,इलाम चुलाचुली—८ का लक्ष्मण गजमेर,चुलाचुली—२ का विशाल शेर्मा,दमक—१३ का शुनिल श्रेष्ठ र बादल योङ्या, दमक—२ का रोशन पोद्दार ,आङ्ला—७ पाँचथरका पुर्ण सम्बाहाम्फे,लिम्बा—१ पाँचथरका रामप्रकाश राई,लिम्बा—३ कै रबिन चेम्जोङ र इलाम फुयतप्पा—९ का खेम भट्टराई रहेका छन् ।

यस्तै प्रहरीले गुल्मी बडागाउँका गणेश ठकुरीबाट १ थान कटुवा पेस्तोल बरामद गरेको छ । उनलाई उर्लाबरीको होटेल सिंहीमबाट प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ । उनीहरुले सिंहीम होटललाई अखडा बनाएर बसेको थिए । तर प्रहरीले भने उर्लाबारी—४ को पश्चिम बस स्टेण्डबाट पक्राउ गरेको दाबी गरेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको बाइकहरुमा १ सय ५० सिसिको पल्सर, २ सय सिसिको पल्सर, २ सय २० सिसिको पल्सर र यमाहा कम्पनिका १५० सिसिका मोटरसाईकल रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राईले पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए । (पुस ८ गते )

Leave a Reply

Your email address will not be published. Required fields are marked *