Samyentra Dot Com

गृहपृष्ठ » फिचर स्टोरी, मुख्य खबरराजनीति पनि गर्दै, ब्यबशाय पनि सम्हाल्दै

राजनीति पनि गर्दै, ब्यबशाय पनि सम्हाल्दै

December 5, 2016३७५ पटक

  इश्वर भट्टराई,उर्लाबारी

sobhit maya

कपडा पसलमा सोभितमाया तामाङ

सामान्यतया राजनीतिमा लाग्ने धेरैजसो व्यवसाय वा अन्य कुनै कामधन्दा गर्न भ्याउँदैनन् भन्ने मान्यता छ । तर, उर्लाबारीमा राजनीतिसँगै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या उल्लेख्य छ ।

उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीका इन्चार्ज राजेन्द्र पौडेल, नेकपा एमाले अध्यक्ष मनोरथ भण्डारी, नेपाली कांग्रेस उर्लाबारी कोषाध्यक्ष शोभितमाया तामाङ लगायत राजनीतिसँगै व्यवसाय गरेर आफ्नो परिचयमा नयाँ आयाम थपिरहनुभएको छ ।
पौडेलको उर्लाबारी–४ पशुपति मार्गमा आरटी टेड्र्स छ भने भण्डारीको उर्लाबारी–२ मा पाथीभरा इलेक्ट्रोनिक्स । यस्तै, तामाङको उर्लाबारी–४ स्थित एनजी मार्केटमा फेन्सी पसल छ ।
उर्लाबारी–४ की तामाङ, महिला नेतृको रूपमा चिनिनुहुन्छ । नेपाली कांग्रेस उर्लाबारी कोषाध्यक्ष रहनुभएकी तामाङको परिचय भने त्यतिमा मात्र सीमित छैन । उहाँ नारी संकल्प साकोस, कृषि सुधार प्राविधिक मञ्च (फेद)को कोषाध्यक्ष तथा सामुदायिक सेवा केन्द्र उर्लाबारीको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । साथै, उहाँ एक व्यवसायी पनि हुनुहुन्छ ।

व्यवसायिक क्षेत्रमा उहाँको शुरूवात त्यति लामो नभएपनि विगत पाँच महिनादेखि उहाँले आफ्नै लगानीमा उर्लाबारी–४ एनजी मार्केटमा एस एण्ड एस फेन्सी पसल सञ्चालनमा ल्याउनुभएको हो । उहाँको पसलमा आधुनिक लेडिज कपडा, ब्यागहरू पाइन्छ । उहाँले करिब १० लाखको लगानीमा यो व्यवसाय शुरू गर्नुभएको हो ।
कांग्रेसको कोषाध्यक्षको जिम्मेवारीमा रहेर पनि उहाँले राजनीति र व्यवसायलाई सँगसँगै लिएर जान सक्नुलाई उहाँमा भएको कार्यकुशलता मान्छन्, उहाँलाई नजिकबाट चिन्नेहरू ।

rajendra

टायल पसला राजेन्द्र

कुनै महिलामाथि हिंसा हुँदा वा कुनै महिलालाई अप्ठ्यारो पर्दा उनीहरूलाई न्याय दिलाउने अभियानको नेतृत्व गर्ने तामाङ सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ । व्यवसायसँगै उहाँको राजनीति तथा सामाजिक क्षेत्रमा सक्रियता यथावत नै छ । कारण उहाँलाई व्यवसायमा छोराले साथ दिइरनुभएको छ ।
राजनीति गर्ने मानिसको आफ्नो छुट्टै पेशा–व्यवसाय भएमा राजनीतिमा शुद्धता ल्याउन सहज हुने उहाँको भनाइ छ । ‘राजनीति गर्ने भनेको कमाउन होइन । तर, राजनीतिलाई कमाई गर्ने माध्यम बनाउँदा मुलुकमा भ्रष्टाचार मौलाएको’ उहाँको तर्क छ ।
उहाँले राजनीति गर्नेहरू आर्थिक रूपमा परनिर्भर बन्नु नहुने धारणा राख्नुहुन्छ । ‘राजनीतिमा लागेका नेता कार्यकर्ता उत्पादनको काममा जोडिएर आफ्नो र घर परिवारको आवश्यकता पूरा गर्ने हो भने मुलुक समृद्धिको बाटोतर्फ लम्कने र भ्रष्टाचार पनि घट्ने थियो,’ उहाँले भन्नुभयो ।
कम्यूनिष्ट राजनीतिमा होमिएका राजेन्द्र पौडेल पनि यतिबेला आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ ।
२०५३ सालमा तत्कालीन नेकपा माओवादीबाट राजनीतिक यात्रा आरम्भ गरेका पौडेल करिब २५ लाख रूपैयाँको लगानीमा टेड्र्स सञ्चालनमा ल्याउनुभएको छ । टेड्र्समा सेनेटरी तथा प्लम्बिङ आइटम, रेडिमेड ढोकाहरू पाइन्छ ।
यसअघि सेनेटरी आइटमहरूको खरिदका लागि इटहरी तथा विर्तामोड धाउनुपर्ने बाध्यतालाई पन्छाउँदै उर्लाबारीमै सुपथ मूल्यमा आधुनिक खालका कमोड, मोटर तथा गिजर पाउने उहाँको दाबी छ ।
राजनीतिसँगै आम्दानीको स्रोतलाई बढाउन व्यवसायलाई प्राथमिकता दिएको नेता पौडेल बताउनुहुन्छ । आर्थिक हिसाबले समृद्ध बन्न तथा समाजमा नयाँ परिचय स्थापित गर्न व्यवसाय शुरू गरेको उहाँको भनाइ छ । पुख्र्यौली सम्पत्ति पनि प्रशस्त छ, उहाँको । ‘सम्पत्ति मात्र भएर हुँदैन, केही गर्नुपर्छ भनेर घरपरिवारको सल्लाहअनुसार नै यो व्यवसायलाई जोड दिएका हौं,’ नेता पौडेल बताउनुहुन्छ । साथै उहाँ अन्य युवालाई पनि आफूले जस्तै व्यवसायमा लाग्न सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विदेशभन्दा स्वदेशमै कुनै एउटा व्यवसाय गरेमा सन्तुष्ट र सफल भइन्छ ।’ नेता पौडेललाई व्यवसायका लागि सहयोग श्रीमती विन्दा सिटौला पौडेलले गर्दै आउनुभएको छ ।

manorath

टिभी पसलमा मनोरथ भण्डारी

यस्तै, एमाले अध्यक्ष भण्डारीले २०५९ सालदेखि पाथीभरा इलेक्ट्रोनिक्स सञ्चालनमा ल्याउनुभएको हो । २०४४ सालमा भद्रकाली मावि कोहबरामा कक्षा ७ मा पढ्दादेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका भण्डारीले २०५२ सालमा गौरादहमा कपडा पसल सञ्चालनमा ल्याउनुभएको थियो ।
उहाँको बुझाइमा राजनीतिसँगै व्यवसाय गरेमा राजनीति मर्यादित तथा व्यावहारिक बन्नेछ । समाजले पनि राजनीतिलाई सधैँ नकारात्मक आँखाले मात्र हेरिरहेकोले व्यवसायसँगै अघि बढेमा आम कार्यकर्तामा व्यवसायतर्फ प्रेरणा मिल्ने उहाँको भनाइ छ । ‘गाउँ, जिल्ला र केन्द्रीय तहमा रहेका नेताले पैसाका लागि लाचार बन्नु पर्ने दिन आउन दिनुहुँदैन’, उहाँ भन्नुहुन्छ ।

तल्लो तहमा होस् वा माथिल्लो अथवा निर्णायक तहमा, जसले राजनीतिलाई मर्यादित बनाउँछु भन्ने सोच्छ, उसले राजनीतिसँगै केही न केही व्यवसाय वा कुनै पेशा पनि गर्नु जरूरी रहेको भण्डारीको भनाइ छ । सबैभन्दा बढी आर्थिक मामिलामा कमजोर भइदिनाले राजनीति विकृत भइरहेको अवस्थामा राजनीतिज्ञले परिवार चलाउन र आफ्नै पनि दैनिक खर्च चलाउन कुनै छुट्टै पेशा अपनाउनु पर्ने विचार राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आमजनताले चाहेको समृद्ध तथा समुन्नत नेपाल पनि यहीँबाट निर्माण हुन्छ ।’ भण्डारीलाई व्यवसायमा श्रीमती युगमाया गुरागाई भण्डारीले सहयोग गर्दै आउनुभएको छ ।

उर्लाबारीमा पौडेल, भण्डारी र तामाङ प्रतिनिधिपात्र मात्र हुन् । उहाँहरू जस्तै उर्लाबारीका अन्य राजनीतिकर्मी राजनीतिसँगै व्यवसायलाई पनि एकसाथ अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिइरहेका छन् ।
तस्वीर :  इश्वर

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad