सहकारी ऐन पारित हुन्छः मन्त्री थानी

भक्तपुर/सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले विगत चारवर्षदेखि थन्किएर रहेको सहकारी विधेयकलाई पारित गर्ने तयारी भइरहेको बताए ।download-2

भक्तपुरको बालकोटमा आयोजना भएको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभामा मन्त्री थानीले सहकारी ऐन अत्यावश्यक भएकाले ऐन ल्याउने तयारी भएको बताए । आउन लागेको सहकारी ऐन सहकारी सिद्धान्त, मूल्य र मान्यताविपरीत नआई सहकारीमैत्री रहने उनको भनाइ थियो ।

देशको कुनाकुनामा सहकारी संस्थाले गरिबीको रेखामुनि रहेको जनतालाई पुँजी सङ्कलन र आर्थिक उन्नतिमा टेवा पुर्याइरहेको चर्चा गर्दै मन्त्री थानीले भने ‘देशको कुनाकुनामा सरकार पुग्न सकेको छैन तर सहकारी पुगेको छ, गाउँका बासिन्दाको गर्जाे टार्ने, घर खर्च, छोराछारीको पढाइ खर्च, बिरामी खर्च टार्ने आमनागरिकको अभिन्न अङ्ग बनेको छ ।’ देशभर ३३ हजार सहकारी संस्था रहेको, त्यसमा ५३ लाख नागरिक सदस्य भएको, ६१ हजारलाई प्रत्यक्ष र १०औँ लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी दिइरहेको सहकारी संस्था अझ विश्वसनीय रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

सहकारीमा बचत तथा ऋणमा सबैभन्दा बढी विकृति रहेको औँल्याउँदै उनले यसका लागि समयमै सचेत हुनुपर्ने उनको भनाइ छ ।कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले विश्वका सहकारी संस्थाबाट नेपालले पनि पाठ सिक्नुपर्ने चर्चा गर्दै सहकारी संस्थालाई विश्वसनीय बनाउन सके देशको आर्थिक विकासमा ठूलो टेवा पुर्याउने बताए ।

संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले सहकारी संस्थाले संस्थाको सेयर पुँजी एक करोड २८ लाख ९९ हजार सात सय पुगेको बताउँदै सदस्यहरुको आर्थिक उन्नतिका लागि सहकारीले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिवाकर सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा निक्षेप बचत १२ करोड ८८ लाख नौ हजार ८३८ रहेको बताए ।

त्यसैगरी ऋण लगानी ११ करोड ४८ लाख ४९ हजार आठ सय ४२ रुपैयाँ रहेको र खुद नाफा २० लाख ५० हजार सात सय ९० रुपैयाँ रहेको बताएको कारोवार दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *