चीनमा आयो आकाशमा कुद्ने रेल

लक्ष्मी लम्साल, बेइजिङ

 माथि आकाशमा देखिएको कुनै चरा होइन, हवाईजहाज पनि होइन, चीनको पहिचान पाण्डा पनि होइन। त्यो त चीनको पहिलो आकाशे रेल हो। यो आकाशमा ड्रागन उडे जसरी गुड्छ।

१८ मिटर लम्बाई र २ दशमलव ३ मिटर चौडाई रहेको यो रेल ६० किलोमिटर प्रतिघण्टाको गतिले कुद्नेछ। एकपछि अर्को गर्दै आश्चर्यजनक कुराहरु निर्माण गर्दै आएको चीनले अर्को वर्षबाट सञ्चालनमा ल्याउने गरी तीन साताअघि झुण्डिने आकाशे रेलको परीक्षण गरिभ्याएको छ। प्रतिघण्टा ४५० किलोमिटर दौडने बुलेट रेलदेखि तिब्बतमा विश्वकै उच्च भूभागमा दौडने रेल प्रविधि समेत विकास गरेको चीनले हालैमात्र झुण्डिने रेलको सफल परिक्षण गरेको हो।

सन् १९०३ मा जर्मनी र त्यसपछि जापानले प्रयोग गरिसकेको यस्तो रेल निर्माण गर्ने चीन तेश्रो मुलुक बन्दैछ। सिचुवान प्रान्तको छेङ्दुमा आकाशे रेलमार्ग निर्माण गरेको चीनले त्यहीँ छोटो दुरीको रेल परीक्षण गरेको हो।

आकाशे रेल
यो रेल एक लिगे रेल हो, भूमीमा गुड्नेजस्तो दुई वटा लिग यसमा हुँदैन। यस प्रकारको रेल जनघनत्व धेरै भएको क्षेत्रमा यात्रुलाई ओसारपसार गर्नका लागि निकै सहज मानिन्छ। यो रेलबारे दुई प्रकारले बुझाउन सकिन्छ— एक, झुण्डिने एकलिगे रेल जुन एउटा ट्रयाकमा झुण्डिएर गुड्छ, यसलाई हवाई रेल पनि भन्न सकिन्छ। दुई, यो आफ्नै बडीले लिगलाई पुरै छोपेर गुड्ने रेल हो।

विशेषता
भूमिगत रेलभन्दा सुरक्षित लिकबाट उछिट्टिने, संभावना न्यून, आवाज नआउने, प्रदूषण रहित
सानो क्षेत्र ओगट्ने, घना शहरमा प्रयोग गर्नु उपयुक्त ।

सिचुवानमा गरिएको प्रारम्भिक परीक्षणमा सफल भएको यो रेल करीब २०० जना यात्रु क्षमताको रहेको छ। डिजाइनका लागि झण्डै ४ महिना समय खर्चिएर यो रेलको संरचना नानचिङ्ग प्रान्तमा तयार पारिएको हो। झट्ट हेर्दा यो पाण्डाजस्तो देखिने भएकाले निकै रोचक पनि हुनेछ।

यो लिथियम ब्याट्रीद्वारा चार घण्टासम्म कुद्न सक्छ जसले विश्वमै पहिलो ब्याट्रीद्वारा सञ्चालित आकाशे रेलको रेकर्ड पनि राख्नेछ। यो रेलको दुर्गुण भनेको विमानजस्तै कुनै आपतकालीन स्थिति आइपरे हामफाल्न नमिल्नु हो।

इतिहास
सन् १८९३ मा जर्मनी नागरिक एउगेन लान्गेनले यस्तो रेलको अवधारणा विकास गरे। १८९८–१९०१ को बीचमा जर्मनीको लुअर जिल्लाको वुपेर्टलमा १३ दशमलव ३ किलोमिटरको आकाशे रेल संरचना गरियो। यो नै संसारको सबैभन्दा पुरानो र पहिलो आकाशे रेल हो।

सन् १९५१ फ्रान्सेली फिल्म निर्देशक ४५१ डिग्री फरेन्हाइट तापक्रममा आकाशे रेल सञ्चालकको रुपमा छायाँकन गरेका थिए। अहिले जापानमा छ वटा सहरमा यस्ता आकाशे रेल चल्छन्। राजधानी टोकियोमा रहेको आकाशे रेलले वार्षिक १०० मिलियन यात्रु ओसारपसार गर्ने गर्दछ।

जर्मनी, जापान हुँदै नेपालकै छिमेकी चीन आइपुगेको यो रेल प्रविधि काठमाडौँ जस्ता शहरका लागि पनि उपयोगी हुनसक्छ। नेपाल–चीन रेलमार्गको धेरै चर्चा भइरहेको बेला यस्तो सिटि रेलको सम्भावनाबारे पनि छलफल थाल्ने कि?

नेपाल खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *