अम्बिका भण्डारी

भोगटेनी, मोरङको बिकट मध्येको एउटा गाउँ, जहाँ तीनजनालाइ बोक्सा बोक्सीको आरोपमा जिउंदै जलाएर एकै चिहान पारिएको थियो दुइ चार साल पहिले तर अपराधी कानुनी फन्दामा परेनन् । त्यहि गाउँ , जहाँ बोक्साबोक्सीकै आरोपमा गाउँबाट मान्छे लखेटिएर बर्षौंसम्म बिस्थापित भएका दृष्टान्त छन् । लेखपढ नगरेका त कति छन् कति ,जीवनमा गाडी नै नचढेका मानिस पनि धेरै छन् गाउँमा । भोगटेनीको गाउँका मान्छेहरुले स्थानीय निकायको अड्डा पुग्न एक दिनमा पुग्न नै नसकिने दुरी सताइस-अठाइस किलोमिटरसम्म पैदल हिड्नुपर्छ । अहिले त्यही भोगटेनीलाइ पनि बनाइएको छ नगरपालिका ।

हुन त तराइसंग सिमाना जोडिएको गाउँ हो भोगटेनी । तर त्यहाँको भौगोलिक विकटता लगायत अवस्था हेर्दा र जनताको चेतना स्तर देख्दा धेरैलाई प्रधानमन्त्री र मन्त्रीहरु बनाइसकेको मोरङ , अझ त्यसमा पनि राजधानीपछिको अर्को किल्ला मानिने बिराटनगर सदरमुकाम भएको जिल्ला हो जस्तो लाग्दै लाग्दैन । भोगटेनीतिर जाँदा दुर्गम पहाडी जिल्लाका गाउँतिर पुगेको भन्दा फरक अनुभूति हुँदैन । हुन त भोगटेनीभन्दा नि पिछडिएका अरु गाउँ नभएका होइनन् मोरङमा तर लेटाङसंग मिलाएर लेटाङ भोगटेनी नगरपालिका बनाईदा शायद भोगटेनीले आफैंलाई गिज्याइरहे झैँ लाग्छ ।

भोगटेनीलाइ खासमा त्यहाँका जनताको माग अनुसार अहिलेको नगरपालिकामा पारिएको होइन । लेटाङलाइ नगरपालिका बनाउन अर्को गाबिस चाहिएको र अरु छिमेकी गाबिससंग कुरो नमिलेको अबस्थामा भोगटेनीलाइ लेटाङमा गाभेर नगरपालिका बनाउन केहि टाठाबाठा र गाउँका नेताले सहमति जनाएर गरिएको सिफारिस सदर भएपछि बन्यो लेटाङ भोगटेनी नगरपालिका ।

भोगटेनीका धेरै जनता भोगटेनीलाइ नगरपालिका बनाउने नै हो भने लेटाङसंग होइन , पायक पर्ने केराबारीसंग मिल्नुपर्छ भन्ने पक्षमा थिए । भोगटेनीलाइ लेटाङ हैन, केराबारीसंग मिसाएर नगरपालिका बनाइयोस् भनेर भोगटेनीको १,२,३ र ४ वडाका जनताले त जिल्ला बिकाश समिति मोरङदेखि स्थानीय बिकाश मन्त्रालयसम्म डेलिगेशन दिए ।  किनकि लेटाङ भोगटेनीसंग मिलाउंदा त्यहाँका धेरैजसो जनतालाई सहज हुन्नथ्यो तर दलीय सिण्डिकेटको आधारमा चलेको देशमा उनीहरुको के नै जोर चल्थ्यो र ?  त्यसैले अन्ततः बन्यो लेटाङ-भोगटेनी नगरपालिका नै ।

भोगटेनीमा तारवाला टेलिफोन त पुगेको छैन नै , कतिपय ठाउँमा मोबाइलको टावर समेत टिप्दैन । पहिलेको गाबिस अर्थात् हालको वडा कार्यालयबाट विबाह दर्ता ,जन्म दर्ताजस्ता सानातिना काम त होला  तर नाता प्रमाणित,नक्सांकन-सिमांकन, चार किल्ला प्रमाणित,जस्ता कतिपय काम गर्न भोगटेनीबासीले अब लेटाङ पुग्नैपर्छ । मोरङ र धनकुटाको चौबिसे जोड्नेगरी केराबारी र लेटाङबाट कच्ची सडकले भोगटेनी पार गरेका भएपनि नियमित सवारी चल्दैनन् । भोगटेनी क्षेत्रका जनतालाई नगरपालिकाको नीति नियम पालना गराउन मुश्किल रहेको स्वीकार्छन् लेटाङ-भोगटेनी नगरपालिकाका निमित्त प्रमुख जीवन भण्डारी पनि । त्यस्तै नगरपालिका हुँदा भोगटेनीबासीलाइ राहत भन्दा बढी आहत भएको बताउँछन् भोगटेनीका होम बहादुर मगर ।

पत्रकारका रुपमा भोगटेनीमा केहि वर्षअघि मैले देखेका केहि दृष्टान्त छन् जुन मोरङ जस्तो जिल्लामा भएको भन्दा धेरैलाई अपत्यारिलो लाग्छ ।

२०६२ सालमा भोगटेनीमा तिन जनाको हत्या भो, त्यो पनि बोक्साबोक्सीको आरोपमा भग्नावशेष बिहिन हुनेगरी घरमा आगो लगाई तीनजनालाई नै जिउंदै जलाएर । ६५ बर्षिय बर्षिय लक्ष्मीध्वज मगर , उनकै भतिजी ५३ बर्षिया वीरमाया मगर र नाम नखुलेकी लक्ष्मीध्वजकी बहिनी पर्ने ५५ बर्षिया अर्की महिलालाइ जिउंदै जलाएर घर परिवारै सखाप पारियो । पहिलेदेखि नै बोक्साबोक्सी भनेर गाउँलेको हेपाइमा पर्दै आएका बिपन्न परिवारका मगर परिवारले एया नि भन्न नपाई मारिनुपर्ने कारण बोक्साबोक्सी बाहेक अरु थिएन । घटनाले महिनौसम्म त्रसित भएर बस्नुपर्यो भोगटेनीबासीले । दश बर्षसम्म त्यसका हत्यारा पत्ता नलगाई नगरपालिकाबासी भएको खबर सुनिरहेछन् भोगटेनीबासी ।

आगोले जलेका घरको भग्नावशेषभित्र जलेका गाईबस्तु र बाख्राका हड्डी अनि जलेर कालो भइ कठयाङग्रिएर ठडिएका मानिसको तीनवटा अस्थिपन्जरका तस्विरसहित समाचार लेख्दा पनि राज्यले कानमा तेल हालेर बसेको ठाउँ त्यहि भोगटेनी नै हो । बाइकमा केराबारी बजारबाट झन्डै ४५ मिनेटजति माथि गएर घटनास्थल पत्ता लगाउंदै घटनाको तिन दिनपछि पोलेर फालिएपछि स्यालले खाएको अबस्थाका लाश खोजेर भेट्ने र समाचार ब्रेक गर्ने पत्रकार मध्ये म पनि थिएँ । द्वन्द्वको बेला हुनाले प्रहरी घटनास्थल नपुगेको र अझैसम्म हत्यारा पत्ता लगाउने कसरत नभएको ठाउँ त्यहि भोगटेनी हो ।

२०६२ माघको पहिलो हप्ता माओबादीले मारेर याङशिलाको जंगलमा दुइजना मानिसलाई गाडेका छन् रे भन्ने सुचना पाएर त्यतिबेलै गाडेका दुइजना मानिस को थिए भनेर पत्ता लगाउन तम्सिंदा आफैं झन्डै अपहरणमा पर्नुपरेको थियो । जोखिम मोलेर हामीले समाचार ब्रेक गरेको पनि हो उबेला दुइ अज्ञात मानिस मारिएकोबारे । तर त्यो घटना पनि गुमराहमै बस्यो याङशिलामा ।

आठ दश बर्ष अगाडिको कुरा, साठी बर्षका एक बृद्द भोगटेनीको एक गाउँमा बोक्साको आरोपमा गाउँबाट लखेटिएर आफ्नो घरबास छोडी भोगटेनीकै अर्को गाउँमा बार्षिक ५ हजार पारिश्रमिक थापेर गोठालो बसेका थिए चार- पांच सालसम्म ।

कुरो के रहेछ भने स्थानीय एक महिला सुत्केरीको व्यथाले च्यापेर बिमारी भएपछि धामी मगर भनिने ती पुरुषले झारफुक गरेछन् । देउता रिसाएकोले जंगली कि केजाती लागेको भनेर उनले कुखुरा सुखुरा भाकल पनि गराएछन् । भाकल गरेपछि झारफुक गर्दा बिमार निको हुन्छ भनी धामीले भनेपछि हो न हो भनेर तिन चार दिनसम्म दिनहुँ गाउँलेले झारफुक गराए । तर सुत्केरी गराउन अस्पताल लाने कुरो भएन ।  तिन चार दिनमा बिरामी महिला त सुत्केरी भइन् तर उनको मृत्यु भयो । जिवितै बच्चा जन्माएकी सुत्केरीको ज्यान गएपछि धामीलाइ नै बोक्सा भएर सुत्केरी मरेको ठहर गाउँलेले गरे । अनि बोक्साको आरोपमा बेस्सरी कुटेर गाउलेले खेदाएका थिएछन्  ती पुरुषलाई । त्यो केराबारी बजारभन्दा उत्तरपट्टीको गाउँको कुरा हो । एक दुइ पटक मिडियामा खबर आएपछि केहि बर्ष पहिले ती व्यक्ति आफ्नै घरमा पुनस्थापित भए । अर्को गाउँबाट आएका युवाले ललाई फकाई बनाएर गर्भ बोकाएपछि अबिबाहित युवतीले जन्माएका बेवारिसे बच्चा बच्ची नि भेटिन्छन् बोगतेनीका गाउँमा ।

हत्तपत्त ठुल्ठुला मिडियाका संचारकर्मी ती गाउँमा पुग्दैनन् । पुगिहाले पनि टापटिपे रिपोर्टिङ मात्र हुन्छ । त्यसैले यताका समस्या र त्यहाँ भएका कैयौं समाचार बन्न लायक सन्दर्भ र बिषय गुपचुप अनि ओझेलमै छन् । २०६३ जेठमा भूमिगत रहेका प्रचण्ड बाबुरामहरूको टोली निकैदिनसम्म रमितेमा अड्डा जमाएर  बस्दा प्रशासन र मिडियाले थाहा नपाई र उनीहरु त्यहाँबाट सुईकुच्चा ठोकेपछि मात्र समाचार बाहिर आएको थियो । र त्यो समाचार ब्रेक गरेर रास्ट्रिय स्तरको एकमात्र पत्रिकामा मुख्य समाचार बनाउने एउटा रिपोर्टर पनि यो स्तम्भकार नै थियो । त्यस्ता ठुला मिडियामा मुख्य समाचार बन्नसक्ने खालका धेरै बिषय र सन्दर्भ भएपनि थुप्रै खबर छन् गुप्त र लुप्त । साना मिडिया मार्फत आएका गाउँतिरका समाचार ठुला मिडियाका रिपोर्टरहरुको लागि समाचार प्राप्त गर्ने भर्याङ बन्ने गरेको मोरङको ग्रामिण भेगमा रहेर पत्रकारिता गर्ने संचारकर्मीहरुको गुनासो छ ।

हुन त भोगटेनी मात्र त्यस्तो गाउँ हैन, मोरङका आधा दर्जन पहाडी गाउँको दशा भोगटेनीको भन्दा कम छैन बिकाशका हिसाबले । याङशिला, पाटी ,भोगटेनी,वाराङगी,रमितेखोला, सिंहदेवी आदि गाउँ र गाबिसलाइ मोरङको दार्चुला नै भन्दा पनि फरक पर्दैन । भोगटेनी लगायत उत्तरी मोरङका आधादर्जन गाविसमा कुनै ठुला व्यापारिक बजार छैनन् , न त प्रहरी प्रशासनका कुनै अड्डा नै छन् । स्थानीय निकाय बाहेक कुनै सरकारी कार्यालय छैनन् ती आधा दर्जन गाविसमा । जसोतसो  दैनिक उपभोग्य बस्तुहरु गाउँतिर उपलब्ध हुन थालेका भएपनि हाटबजार भर्न र बजार किनमेल गर्न घन्टौं धाएर केराबारी,लेटाङ जस्ता तराइका बजार नै झर्नुपर्छ अझै याङशिला,पाटी, भोगटेनी, सिंहदेवी,  वाराङगी र रमितेका जनताले । पहाडको सिरानतिरको सिंहदेवी र वाराङगीका केहि जनता धनकुटाका ग्रामीण बजारमा जान्छन् किनमेल गर्न । रमितेका जनताले पनि टांडी वा मधुमल्लातिर नै झर्नुपर्छ अझैपनि ।

भोगटेनी पिछडिएको छ भनेर ऊ नगरपालिका गुना नै अयोग्य छ भन्ने आशय होइन तर जनताको माग बिपरित पायक नै नपर्ने ठाउँसंग गाभेर नगरपालिका बनाइनु , नगरपालिका बनेपनि जनतालाई सुबिधा भन्दा बढी कष्ट थपिनु र मोरङजस्तो जिल्लाको एउटा गाउँको बिकाशमा ध्यान दिनुभन्दा पनि पूर्वाधार बिहिन गाउँलाई नगरपालिकाको नामाकरण गरिनुले भोगटेनीबासीलाई नगरपालिकाको पगरी ‘कागलाई बेल पाक्यो हर्ष न बिष्मात’ भनेजस्तै भएको छ ।

798 total views, 2 views today

तपाईको प्रतिक्रिया