Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, सम्बादसडकपेटिमा रात बिताएँ – गायक डम्बर नेपाली

सडकपेटिमा रात बिताएँ – गायक डम्बर नेपाली

August 24, 2015३४४ पटक

सानैदेखि गीत damber-nepaliगुनगुनाउँथेँ । अरुण थापाका गीत सुन्दा मोहित हुन्थेँ । शब्द कण्ठस्थ नआए पनि लय मिलाउने कोसिस गर्थेँ । गाउँ र स्कुलमा हुने कार्यक्रममा गाउने र नाच्ने टोलीको नाइके बन्थेँ ।

अग्रजहरू भन्नुहुन्थ्यो, ‘नाच्नभन्दा गाउन सिपालु छ, डम्बरे ।’ मैले पनि गायनमै मिहिनेत गर्न थालेँ  । मानिसहरूले मेरा गीत सुनिदिऊन् र ताली बजाइदिऊन् भन्ने लाग्थ्यो । एक्लै बाँसको स्टेज बनाएर पनि गीत गाएँ । उमेर बढ्दै गयो, स्वर माझिँदै । दाजुहरूले भन्नुभयो, ‘जा, रेडियो नेपालमा गएर स्वरपरीक्षण गरा ।’

०५३/५४ सालतिरको कुरा हो यो । म १५/१६ वर्षको थिएँ । रेडियो नेपालमा स्वरपरीक्षण गराउन काठमाडौं आउने योजना बनाएँ । तर, पैसा थिएन । मेरो पेवा कुखुराको भाले बेचेँ । आमासँग पैसा मागेर दु:ख दिन मन लागेन । फेरि आमासँग पनि पैसा थिएन । बुबाको निधनपछि उहाँलाई ठूलो दु:ख थियो । त्यसमाथि पाठेघरको रोगी हुनुहुन्थ्यो ।

भाले बेच्दा तीन सय रुपैयाँ आयो । त्यही पैसा लिएर मोरङबाट काठमाडौंका लागि गाडी चढेँ । मोरङ–काठमाडौंको भाडा त्यतिवेला एक सय पचास रुपैयाँ थियो । भाडाका लागि मैले पैसा त जुटाएँ, तर काठमाडौंमा के खाने, कहाँ बस्ने कुनै ठेगान थिएन । बाटोमा अरूले केही खाएको देख्दा मुख रसाउँथ्यो । तर, आफ्नो गोजीमा एक सय पचास मात्र थियो । त्यो पनि फर्किन भाडा चाहिन्थ्यो ।

काठमाडौंमा उत्रिएँ । सोध्दै–सोध्दै सिंहदरबारभित्र रेडियो नेपालको कार्यालय पुगेँ । अनि बल्ल थाहा पाएँ– फर्म भरेर नाम सार्वजनिक भएपछि मात्रै स्वरपरीक्षा दिन पाइने रहेछ । म काठमाडौं आउनु व्यर्थ भयो । निराश भएँ । भोकले लखतरान थिएँ । त्यहाँबाट रत्नपार्क पुगेँ । २० रुपैयाँको पाउरोटी किनेँ । झमक्क साँझ परिसकेको थियो । बस्ने ठेगान भएन । वीर अस्पतालअगाडि धर्मशालाजस्तो भेटेँ । थाङ्नाको गुन्टो पनि रहेछ । त्यहीँ रात बिताउने निर्णय गरेँ । तर, दुर्भाग्य † राति दुई/चारजना आएर हाम्रो ठाउँ भन्दै लखेटे । आखिर भाग्नैपर्‍यो । त्यसपछि त्यहीँको सडकपेटीमा रात बिताएँ । निद्रा लागेन ।

भोलिपल्ट घर फर्किनुको विकल्प थिएन । गाडी चढ्न हिँड्दै–हिँड्दै कलंकी पुगेँ । आवश्यक भाडाभन्दा २० रुपैयाँ कम थियो । अनुनय गरेपछि गाडीमा चढ्न त पाइयो, तर थानकोट कटेपछि गाडीवालाले हुटमा राखिदियो । हुटमा एक्लै हुँदा निकै डर लाग्ने रहेछ ।
घर पुगेपछि साथीभाइलाई काठमाडौंयात्रा र रेडियो नेपालबारे सुनाएँ । कतिपयले ‘तँ असफल भइस्’ भन्दै खिसिटिउरी गरे । मैले मनमा लिएँ, एकदिन सफल भएरै छाड्छु ।

त्यसको केही समयपछि साथीहरूसँग मिलेर ‘द रेज’ ब्यान्ड बनायौँ । म ब्यान्डको ‘भोकलिस्ट’ भएँ । केही पछि हामीले एल्बमका लागि गीत रेकर्ड गर्‍यौँ । तर, एल्बम बजारमा पठाउनुपहिले नै ‘ब्यान्ड’ विभाजन भयो । माया गर्ने साथीहरूले हरेस नखान सुझाब दिइरहे । उनीहरूकै आर्थिक सहयोगमा ‘मेलोडी’ सोलो एल्बम निकालेँ । त्यसमा ‘आज आकाशमा यौटा तारा देखिनँ’ गीत श्रोताले मन पराउनुभयो । एल्बमले आर्थिक रूपमा त्यस्तो फाइदा त गरेन, तर ‘कन्फिडेन्स’ बढायो ।

दोस्रो एल्बम ‘मलाई’ले भने नाम र दाम दुवै दियो । ‘तर अन्तिमपल्ट भेट्न आऊ’लगायत गीत श्रोताले मन पराइदिनुभयो । राष्ट्रिय छिन्नलता पुरस्कार पनि पाएँ । स्टेज कार्यक्रमहरूको अफर आयो । गीतको कमाइले आमाको पाठेघरको अपरेसन गरेँ । आमाको मुहारमा खुसी देख्दा छोरो हुनुमा गर्व लाग्छ ।
– नयाँ पत्रीकाबाट

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad